सुन तस्करी प्रकरण : विमानस्थलको भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी छानबिनको दायरामा

नेपालभ्युज

सुन तस्करी प्रकरण : विमानस्थलको भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी छानबिनको दायरामा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले सबै कर्मचारीलाई छानबिन गर्ने भएको छ।

सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करी गर्नेबाट प्रेरित भएर भन्सार पास गराइएको हुनसक्ने भन्दै छानबिन गरिन लागिएको हो।

प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । महानिर्देशक पौडेलले भने, ‘‘यसबारे तत्कालै निर्णय गछौँ र छानबिन थाल्छौँ। जाँच पासमा संलग्न सबै निलम्बन हुन्छन्।’’

बरामद भएको सुनको परिमाण एक सयभन्दा बढी किलो भनिए पनि एकिन भइसकेको छैन। विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो। यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो। विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरूको मिलेमतोका कारण सुन, विदेशी मुद्रा तस्करी लगायतका अपराध मौलाउँदै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved