चितवनमा पनि भेटिए अर्का हर्क साम्पाङ, मेयर लामाले बनाए १ वर्षमा एक सय ७५ घर (भिडिओ) 

धरानमा मेयर हर्क साम्पाङले स्थानीयलाई पानीको प्यास मेटाउन रातदिन लागेजस्तै मेयर लामा पनि जनतालाई छानोभित्र राख्न त्यसैगरी लागिरहेका छन्। उनी चितवनको राप्ती नगरपालिकाका मेयर हुन्। 

नेपालभ्युज

चितवनमा पनि भेटिए अर्का हर्क साम्पाङ, मेयर लामाले बनाए १ वर्षमा एक सय ७५ घर (भिडिओ) 

काठमाडौं। आमनागरिकले आफ्ना प्रतिनिधिहरू निर्वाचित गरेर पठाएका छन्। ती शासक होइनन्, उपल्लो दर्जाका नागरिक पनि होइनन्। बरु ती सेवक हुन्, सहयोगी हुन्। कतिपयले आफूलाई शासक सम्झन्छन्। शमशेर लामा, एक त्यस्ता जनप्रतिनिधि हुन् जो सधैं जनताका लागि सेवाको लागि जनतासँगै मैदानमा लागिरहे।

धरानमा मेयर हर्क साम्पाङले स्थानीयलाई पानीको प्यास मेटाउन रातदिन लागेजस्तै मेयर लामा पनि जनतालाई छानोभित्र राख्न त्यसैगरी लागिरहेका छन्। उनी चितवनको राप्ती नगरपालिकाका मेयर हुन्।

अघिल्लोपटक वडाध्यक्ष भएका उनी यसपटक नगरकै नेतृत्वमा छन्। उनी मेयरमा निर्वाचित भएको यो एक वर्षमा १ सय ७५ वटा विपन्नलाई घर बनाइदिएका छन्। पदवहालीको गरेको छोटो समयमै ठूलो संख्याका जनतालाई आवासको व्यवस्था गरिदिएपछि स्थानीय पनि प्रफुल्लित छन्।

उनले भने, ‘‘कोही गोठमा ओत लागेका थिए। कोही अरूको पिँढीमा सहयोग मागेर बसेका थिए। कसैको घर जीर्ण अवस्थामा रहेको थियो। त्यस्ता परिवारलाई आफैंले खोजी गरेर घर निर्माण गरिदिएका हौँ।’’

जनताको बास मात्र नभई भोका जनतालाई खाद्यान्नको व्यवस्था गरेको उनले बताए। मेयर लामाको पहलमा एक वर्षमा १४ हजार भन्दा बढी जनताले अस्पतालबाट निःशुल्क सेवा लिएका छन्।

उनी भन्छन्, ‘‘पहाडका जनता र नगरभित्रका दीर्घरोगी र क्यान्सरका बिमारीलाई निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई निःशुल्क भिडियो एक्सरे, अस्पतालमा सुत्केरी गराएमा पोषण भत्ता बराबर ३ हजार ८ सय रुपैयाँ नगदको व्यवस्था र भण्डारामा आँखा उपचार केन्द्रको सुरुआत यो पहिलो वर्षको उपलब्धि हो।’’

एक वर्षमा पालिकाभरिका ४९ वटा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अभियान सुरु भएको छ। २०८० वाट नगरले पढ्नलाई पैसा लाग्दैन भन्दै निःशुल्क शिक्षा अभियान सुरु गरेको हो। “निःशुल्क शिक्षा राप्ती नगरपालिकाको इच्छा” यही नारासहित राप्ती नगर प्रमुख लामाले पालिकाभरिका जनताका छोराछोरीलाई पढ्न आउँदा विद्यालयले पैसा नमाग्ने र मागेमा कारबाही गर्ने बताए।

युवा नेतृत्व रहेको राप्ती नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेर जग्गा दिने प्रक्रियासमेत बताएको छ।

मेयर लामाले भने, ‘‘यसको लागि निस्सा मात्र वितरण भएन, राप्ती वडा नं ११ को डुम्रीखाडीका ६८ भूमिहीन दलित घरपरिवारको रातो पुर्जाको लागि कार्यपालिकाले निर्णय गरेर जिल्ला सुकुम्वासी आयोगलाई बुझाएको छ। अहिले नगरका विभिन्न वडामा जग्गा नापको काम भइरहेको छ।  यो सँगै सरकारी जग्गा अतिक्रमण भएका ठाउँ खालि गराई फिर्ता लिने र भण्डारा, खुरखुरे, वीरेन्द्रनगर, गड्यौली र लोथरको बजार व्यवस्थापन गर्ने काम भएका छन्।’’

साथै, राप्तीको कर्णाली भनेर चिनिएको कान्दा अब सुन्दर बन्ने भएको छ। कान्देली धान मकै पिसानीको लागी ४ घण्टा हिँड्नुपर्ने थियो। अब कान्दालगायत राप्तीका विकट क्षेत्रमा डिजलबाट चल्ने मिल अनुदानमा उपलब्ध गराइएको छ। नगरको फोहर व्यवस्थापन गर्ने रिकिसि नामक संस्थासँगको सहकार्यमा राप्ती नगरपालिकाले आफैँ प्राङगारिक मल उत्पादन सुरु गरेको छ। मल उत्पादनसँगै बिक्री पनि सुरु भएको हो।

प्रतिकेजी ३५ रुपैयाँ पर्ने मललाई नगरले १५ रुपैयाँ अनुदान दिई २० रुपैयाँ प्रतिकेजीमा लगेको छ। राप्तीमा यो वर्ष मात्रै वडा नं १ र ११ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ।

नगरस्तरिय आयुर्वेद औषधालय र वडा नं ३ र ८ को आफ्नै स्वास्थ्य केन्द्र वाट सेवा सुरु भएको छ। वडा नं १२ आउँदो वर्षबाट आफ्नो भवनमा सर्ने र वडा नं ६ को स्वास्थ्य केन्द्रको उद्घाटन तयारी छ।

भिडिओ कुराकानी-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved