अनिवार्य शैक्षिक प्रमाणपत्रको निर्णयबाट पछि हट्यो साउदी अरब

नेपालभ्युज

अनिवार्य शैक्षिक प्रमाणपत्रको निर्णयबाट पछि हट्यो साउदी अरब

काठमाडौं। नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले आजदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो । तर, अन्तिममा आएर शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । आज दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको बताए ।  ‘आज भिसाका लागि पठाइएका कागजातमा शैक्षिक प्रमाणपत्र मागेको छैन । १२ जुनदेखि लागू गर्ने भनेको सूचना निकालेको थियो । तर, आज विना शैक्षिक प्रमाणपत्र पनि भिसा जारी गरेको छ’ अध्यक्ष भण्डारीले भने ।

दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको सूचना जारी गरेपछि चौतर्फी विरोध सुरु भएको थियो । चौतर्फी दबाब तथा सरकारको समेत चासो देखिएपछि दूतावास पछि हटेको हो ।

दूतावासले मागेको शैक्षिक प्रमाणपत्र एसएलसी-एसईई वा सो सरहको हो । त्यो पनि परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले प्रमाणीकरण गरेको हुनुपर्ने भनिएको थियो । कन्सुलर विभागबाट प्रमाणीकरण भएपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने भन्ने थियो । दूतावासले उक्त निर्णयपछि भिसा प्राप्त गर्न थप झन्टिलो प्रक्रिया अपनाउनुपर्ने बाध्यता थियो ।

साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको थियो । गत आर्थिक वर्षमा १ लाख २५ हजार २३७ जनाले साउदी अरब जानका लागि श्रम स्वीकृति लिएका थिए ।

यो विषयमा व्यवसायीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सरकारले यस विषयमा चासो देखाएपछि साउदी दूतावास शैक्षिक प्रमाणपत्र अनिवार्यबाट पछि हटेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved