सिक्किमको राजनीतिमा ‘गोले युग’

सिक्किम राजनीतिमा लेन्डुप दोर्जे, नरबहादुर भण्डारी र पवनकुमार चाम्लिङले आ-आफ्नो युग बनाए । दोस्रो शानदार जितपछि लाग्छ, सिक्किममा अब ‘गोले युग’ सुरु मात्रै भएको छैन बलियो पनि बन्दै गएको छ ।

नेपालभ्युज

सिक्किमको राजनीतिमा ‘गोले युग’

काठमाडौं । सिक्किम नेपालसँग सीमा जोडिएको भारतको एक पूर्वोत्तर राज्य । सिक्किमको सीमा नेपालसँग जोडिएको मात्र छैन, भाषा, संस्कृति र जनजीवन पनि नेपालको जस्तै छ । सिक्किमलाई नेपाली मूलका भारतीयको बाहुल्यता भएको राज्यभन्दा फरक पर्दैन ।

सन् १९७५ सम्म सिक्किम एक भिन्नै राज्य थियो । सिक्किम भारतमा विलय भएको ५० वर्ष पुग्न लाग्यो । यसबीच त्यहाँ ६ जना मात्र मुख्यमन्त्री भएका छन् ।

काजी लेन्डुप दोर्जी सिक्किमका पहिलो मुख्यमन्त्री थिए । उनी सन् १९७९ सम्म करिब ४ वर्ष मुख्यमन्त्री रहे । लेन्डुप दोर्जीको आफ्नै पार्टी थियो— सिक्किम नेसनल कांग्रेस ।

दोस्रो मुख्यमन्त्री नरबहादुर भण्डारीको कार्यकाल भने करिब १५ वर्षको थियो । भण्डारीले पनि आफ्नै नेतृत्वको पार्टी बनाए— सिक्किम संग्राम परिषद् ।

सन् १९८४ मा भारतीय राष्ट्रिय कांग्रेसका भीमबहादुर गुरुङ १४ दिन मुख्यमन्त्री भएका थिए । सिक्किमको राजनीति र इतिहासमा उनको गहिरो छाप परेन ।

पार्टीभित्रको सङ्घर्ष र समस्याले भण्डारीपछि सिक्किम संग्राम परिषद्कै सन् १९९४ मा सञ्चपाल लिम्बू करिब ७ महिना मुख्यमन्त्री भएका थिए ।

त्यसपछि पवनकुमार चाम्लिङको युग सुरु भयो । चाम्लिङ सन् १९९४ देखि सन् २०१९ सम्म पाँचपटक र २५ वर्ष मुख्यमन्त्री रहे । चाम्लिङको नामका भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री हुने रेकर्ड बन्यो ।

चाम्लिङअघि यो रेकर्ड पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुको नाममा थियो ।

सन् २०१९ मा छैटौँ मुख्यमन्त्री आए, प्रेमसिंह गोले तामाङ अर्थात् पीएस गोले । पहिलो पाँचवर्षे कार्यकाल पूरा गरेका गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले दोस्रो कार्यकालका लागि शानदार विजय हासिल गरेको छ ।

गोलेको दलले सिक्किम विधानसभाका ३२ मध्ये ३१ सिट जितेको छ ।

सिक्किममा पीएस गोलेको पार्टी एसकेएमको विशाल जित, पवन चाम्लिङ बढारिए

सिक्किमको सत्ता हस्न्तान्तरण प्रक्रियामा एक मिल्दोजुल्दो निरन्तरता देखिन्छ । पहिला मुख्यमन्त्री काजी लेन्डुप दोर्जीको पार्टी सिक्किम नेसनल कांग्रेस भारतीय राष्ट्रिय कांग्रेसभित्रको एक हाँगो थियो । पछि त्यो भारतीय राष्ट्रिय कांग्रेसमा नै मिसियो ।

दोस्रो मुख्यमन्त्री नरबहादुर भण्डारी सिक्किम संग्राम परिषद् गठन गर्नुअघि कांग्रेस समर्थक थिए । सन् १९७९ मा उनले परिषद् गठन गरे । सन् १९९३ मा सिक्किम लोकतान्त्रिक मोर्चा गठन गर्नुअघि चम्लिङ संग्राम परिषद्‌का सदस्य तथा भण्डारी मन्त्रिपरिषद्‌का सूचना तथा उद्योगमन्त्री थिए ।

अहिलेका पीएस गोले पनि चम्लिङको पार्टीका सदस्य तथा चम्लिङ सरकारका मन्त्री थिए । सन् १९९४ देखि सन् २००९ सम्म गोलेले चाम्लिङ सरकारमा विभिन्न मन्त्रालय सम्हालेका थिए ।

सन् २००९ पछि चाम्लिङसँग उनको कुरा मिल्न छोड्यो । सन् २०१४ मा उनले भिन्नै पार्टी सिक्किम क्रान्तिकारी मोर्चा बनाए । २०१४ को पहिलो चुनावमै क्रान्तिकारी मोर्चाले सिक्किम विधानसभाका ३२ मध्ये १० सिट जित्यो र प्रमुख विपक्षी दल बन्यो ।

सन् २०१९ को चुनावमा भने सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिटसहित एकल बहुमत हासिल गरेको थियो ।

सिक्किम राजनीतिमा लेन्डुप दोर्जे, नरबहादुर भण्डारी र पवनकुमार चाम्लिङले आ-आफ्नो युग बनाए । दोस्रो शानदार जितपछि लाग्छ, सिक्किममा अब ‘गोले युग’ सुरु मात्रै भएको छैन बलियो पनि बन्दै गएको छ ।

सिक्किमे जनताले छिटोछिटो नेता र पार्टी परिवर्तन गर्नुभन्दा दीगो र स्थिर शासकको चाहना राखेको देखिन्छ । सम्भवत: यो सिक्किमेली प्रगतिको आधार पनि हो ।

सिक्किम ७ हजार ९६ वर्ग किमि भएको एक सानो हिमाली राज्य हो । यसको जनसंख्या करिब ६ लाख १० हजार मात्र छ । तर, प्रतिव्यक्ति आयमा भने भारतीय राज्यमध्ये १ नम्बरमा पर्दछ । सिक्किमको प्रतिव्यक्ति आय वार्षिक करिब ७ हजार डलर छ ।

भारतमा सिक्किमको विलय ठीक थियो कि थिएन भन्ने बहस भइरहेका हुन्छन् । तर, सिक्किमेली जनताले पृथकताको आकाङ्क्षा राखेको देखिन्न । भारतसँगको विलय र विशाल अर्थतन्त्रसँग एकाकार हुने अवसरलाई आर्थिक विकास र समृद्धिको अवसरका रूपमा उपयोग गरिएको छ ।

५७ वर्षीय गोले सन् १९६८ मा सिक्किमको सोरेङमा जन्मिएका हुन् । सन् १९९१ मा सिक्किम क्रान्तिकारी मोर्चाबाट उनले राजनीतिक जीवन सुरुवात गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved