काठमाडौं । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी मगाएको छ ।
सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । सो जाहेरी प्रमाणित प्रतिलिपि पेस गर्न आइतबार आदेश दिएको छ । रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी छ ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त पूरक जाहेरीको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको हो ।
यो रिटलाई सर्वोच्चले अग्राधिकार दिएको छ । इजलासबाटै सुनुवाइको मिति समेत तोकेको छ ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछाने विरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै जेठ २८ गतेका लागि अर्को सुनुवाइको पेसी पनि तोकेको छ ।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको हो ।
सर्वोच्चले लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलपलका लागि पनि बोलाएको छ ।
सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवैजनालाई कारबाहीका लागि रिट दायर भएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले जारी गरेको पत्र खारेज गर्नुपर्ने अनि सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीलाई पदबाट निलम्बन गर्नुपर्ने माग राखी दायर रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले दुवै कागजात झिकाउन आदेश दिएको हो ।
Facebook Comment
Comment