एमालेको बैठक स्थलमा टोपबहादुरकै चर्चा !

नेपालभ्युज

एमालेको बैठक स्थलमा टोपबहादुरकै चर्चा !
फाइल फोटो

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको काठमाडौंमा शुरु भएको केन्द्रीय कमीटी बैठकमा एक पदाधिकारी अनुपस्थित छन्। पार्टी सचिव तथा अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बैठकमा अनुपस्थित छन्। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहसँगको सम्बन्ध खुलेपछि रायमाझी ‘फरार’ छन्। उनको खोजीमा नेपाल प्रहरीले देशभर टोलि परिचालन गरिसकेको छ।

सो प्रकरणमा नाम जोडिएसँगै ‘बेपत्ता’ भएका रायमाझी केन्द्रीय कमिटी बैठकमा आउनसक्ने अनुमान केही सदस्यहरूको रहेको देखियो। ‘पार्टीको बैठकमा त आउनुपर्ने हो’ केन्द्रीय कार्यालय बाहिर एकजना सहभागीले भन्दै थिए,‘आएर आफ्ना कुरा खुलस्त भनेर जाँदा राम्रो हुन्थ्यो कि ?’

उनको खोजी गर्ने सदस्यहरूले यो प्रकरणलाई सामान्यरूपमा बुझेको देखिन्थ्यो । अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे नबोल्दासम्म धेरैले रायमाझीलाई पार्टीले संरक्षण गर्नुपर्ने र केही दिनमा घट्ना सामसुम हुनसक्ने समेत अड्कल काटेका थिए । ‘कुरा चर्को रहेछ’, पार्टी कार्यालय बाहिर उभिएका एमाले कार्यकर्ताले भने–‘पार्टीले सांसदबाटै हटायो रे अब त के आउँथे।’

ती कार्यकर्ताले भने जस्तै टोपबहादुर तत्काल पार्टी वा प्रहरी सम्पर्कमा आउने सम्भावना निकै कम छ। पार्टीका सचिव ८ दिनदेखि बेपत्ता भएको कुरालाई एमालेले खासै प्राथमिकतामा राखेको पनि देखिएको छैन । अझै बैठक शुरु हुनु अगाडि अध्यक्ष ओलीले भुटानी शरणार्थीको नाममा नक्कली शरणार्थी बनेर ३ सयभन्दा बढी अमेरिका गएको खुलासा गरे।

त्यसो त, पार्टी पदाधिकारी सम्पर्कमा नभएको कुरालाई एमालेले खोजीको विषय नै बनाएको छैन। एमालेको तर्फबाट खोजी गरिदिन भनेर कतै आग्रह गरिएको छैन भने स्वयं रायमाझीको परिवारले पनि खोजीको आग्रह गर्दै कतै निवेदन दिएको देखिँदैन । यद्यपि, रायमाझीका छोरा संदीप रायमाझी भने प्रहरी हिरासतमै छन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी परिवारको सम्पर्कमा पनि नरहेको भनिएको छ। उनको सातदोबाटोस्थित घरमा दुईपटक प्रहरी पुगे पनि उनी त्यहाँ पनि भेटिएनन्। अर्को रहस्यमयी कुरा पटक–पटक मन्त्री र सांसद भएका र १० वर्षे माओवादी जनयुद्धबाट उदायका रायमाझीलाई धेरैले चिन्छन्। त्यसैले, पनि पार्टी वा परिवारको संरक्षण विना उनी नेपालको कुनै ठाउँमा लुकेर बस्न सकिने देखिन्न ।

प्रहरीलाई झुक्याएर रायमाझी भारत पुगेको अनुमान गरिए पनि त्यसको ठोस प्रमाण प्रहरीसँग छैन । टोपबहादुर बुटवलबाटै ‘बेपत्ता’ हो भने उनी भारत पुग्नसक्ने आशंका चाहिँ धेरैको छ। उनका आफन्त र साथीभाइ भारतमा रहेका कारण मुद्दा अदालत नपुग्दासम्म उतै बसेर अन्तिममा अदालतमा उपस्थित हुने तयारीमा उनि रहेको निकट स्रोत बताउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved