पछिल्लो समय कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सामाजिक सञ्जालमा खुब गाली खाइरहेका छन्। सामाजिक सञ्जालमा उनीहरूप्रति देखिएका स्ट्याटस र आइरहेका कमेन्ट हेर्दा लाग्छ, उनीहरू ठूलै अपराधी हुन्। उनीहरूलाई क्रूर यातनासहित जेल कोच्न ढिलो भइसकेको छ।
क्रुर शारीरिक यातना र जेलनेल त के हो र त्योभन्दा कठोर मानसिक पीडाले प्रताडित छन् यतिबेला उनीहरू। ‘सुन्तली’ले आफूहरूमाथि गालीको वर्षा भइरहेको सार्वजनिक रूपमा बताइसकेकी छिन्।
उनी विक्षिप्त बनेको विभिन्न गतिविधिले पनि देखिन्छ। धुर्मुस पत्नी सुन्तलीले आफूलाई इनबक्समा नग्न तस्वीरहरू पठाउन सुरुआत भएको फेसबुकमार्फत बताएकी छिन्। सोही स्ट्याटसमा न्यूनतम मानवीय संवेदनासमेत नराखी केहीले गालीसहितका कमेन्ट गरिरहेका देखिन्छन्।
सामाजिक सञ्जालमा ओकेलिएका यस्ता शब्दहरू पढेर हामीलाई समेत भाउन्न छुटेको छ। धन्न सुन्नै नसकिने शब्दहरूका गाली गलौच उनीहरूले कसरी सहन सकेका छन्।
फेसबुक, ट्विटर, टिकटकलगायत हेर्ने हो भने चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा धुर्मुस-सुन्तलीले तिखा लाञ्छनायुक्त वाणहरू खाइरहेका छन्। अति नै भएपछि केही दिनअघि भिडिओ सन्देश जारी गर्दै धुर्मुसले भनेका थिए, ‘मेरो परिवारलाई गाली नगरिदिनुहोला, जे गर्नु छ मलाई गर्नुहोला।’
धुर्मुस-सुन्तली र फाउन्डेसनको फेसबुक पेज हेर्ने हो भने पनि अहिले समर्थनभन्दा ज्यादा गाली देखिन्छन्। कतिपयले रङ्गशाला निर्माणमा आएको सहयोगको ठूलो रकम हिनामिनाको आरोप लगाइरहेका छन्। कतिपयले हिसाबकिताब पारदर्शी नगरेको ठोकुवा गरिरहेका छन्। कतिपयले उनीहरूको रङ्गशाला निर्माणको अभियानलाई नै ‘अपराधकर्म’ भन्दै दुत्कारिरहेका छन्।
उनीहरूमाथि प्रश्नका चाङ र आरोप लागिरहेका छन्,‘‘आफैँ जोखिम उठाउँदै ऋण लिईलिई किन काम गर्नुपरेको थियो?’, ‘‘उठेको पैसाले आफू र भाइ भतिजाको नाममा सम्पत्ति जोडे, पसल व्यवसाय गरे’।
जीवन तिलाञ्जलि दिएकाकाे उल्टै बदनामी ?
देशदेखि विदेशसम्मका सार्वजनिक मञ्चहरूमा हास्य प्रस्तुतिको लागि दिनरात व्यस्त उनीहरू दर्जन बढी कम्पनीका ‘ब्रान्ड एम्बेस्डर’ थिए। महिनामा लाखौँ आम्दानी थियो। व्यावसायिक कलाकारितामा लागिरहेका उनीहरूले आफ्नो पेसालाई थाती राख्दै रङ्गशाला निर्माणको अभियानमा होमिएका हुन्। तर, अहिले उनीहरू ‘पैसा कमाउनकै लागि रङ्गशाला निर्माणमा होमिएको’ भन्दै आरोपले डुबेका छन्।
धुर्मुस-सुन्तलीले आफ्नो व्यावसायिक कलाकारिताको जीवन तिलाञ्जलि दिएर सम्पूर्ण समय र श्रम देशका लागि खर्चिए। बदलामा बदनामी र लाञ्छना भोग्न बाध्य छन्। कोही मानिसको जीवनमा योभन्दा ठूलो यातना र पीडा के हुनसक्ला? कल्पना गरौँ त त्यो अवस्थामा हामी हुन्थ्यौं भने के गर्थ्यौँ होला ?
आरोपका विषयमा नबोल्दा पनि प्रश्नको सामना गर्न नसकेको भन्दै उनीहरूमाथि लुकेको आरोप लाग्थ्यो। लामो समयपछि धुर्मुसले एक साताअघि भिडिओ सन्देशमार्फत प्रतिक्रिया दिए। तैपनि के धर पाउँथे। ‘सेन्टिमेन्ट’ बेच्न खोजेको र ‘नौटंकी’ गरेका जस्ता आरोपको वर्षा सहनुपर्यो।
जनस्तरबाटै पैसा उठाएर ३ अर्ब रुपैयाँको परियोजना जनताकै पैसाबाट सम्पन्न गर्नु सामान्य काम होइन। फलस्वरूप रङ्गशाला निर्माणका पहलकर्ता धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ।
काम गर्दै जाँदा पैसा नपुगेपछि रकम अभाव पुगेन, उनले उधारोमा सामान झारेर काम गरेका थिए। जुन पैसा तिर्नको लागि पैसाको स्रोत नपुग्दा हास्य कलाकारिताले ख्याति कमाएका धुर्मुस र सुन्तलीको जोडीको वास्तविक जीवन ‘करुणरस’ले भरिएको छ।
‘राज्यले नसकेको काम किन गरेको?’, ‘घाँटी हेरी हाड किन ननिलेको?’, ‘आफैँले जोखिम उठाएर ऋण लिईलिई किन काम गर्नुपरेको?’ यावत् प्रश्नहरूको घोचाइले धुर्मुस सन्तली घायल छन्।
यसको यथार्थ भने अलि फरक छ। धुर्मुसले उधारोमा सामान झार्नुको कारण थियो, सरकारी र गैरसरकारीस्तरबाट कबुल भएको रकम। कम्तीमा सरकारी निकायले बोलेको रकम पक्कै आउला भन्ने आशामा धुर्मुसले उधारोमा सामान झारेर कामलाई निरन्तरता दिए।
रङ्गशाला निर्माणको लागि भन्दै एमाले नेता विजय सुवेदी नेतृत्वको महायज्ञ समिति बनाएर कार्यक्रम गरियो। महायज्ञमा ६९ करोड रुपैयाँको कबुल गरियो। तर, उठ्यो ९ करोड रुपैयाँ। ६० करोड रुपैयाँ आएन। धन्न धुर्मुसले १८ करोड रुपैयाँको मात्र उधारो रकम झारेछन्। कबुल भएको सबै रकम ६९ करोड उठ्ने स्टमेटले सामान झारेर काम गरेको भए के हविगत हुन्थ्यो होला?
कबुल भएको रकम उठाउने प्रमुख दायित्व महायज्ञ समितिको हो। संयोजक सुवेदी र उपसंयोजक थिइन्, भरतपुर महानगरकी प्रमुख रेणु दाहाल। तर, उनीहरूले लत्तो छाडे। सायद रङ्गशाला बनेमा ‘धुर्मुस सुन्तलीलाई नै क्रेडिट जान्छ’ भनेर हो कि के हो त्यो समितिले जिम्मेवारी निर्वाह गरेन।
अलपत्र पार्ने पात्रहरू
यो सत्य हो कि, रङ्गशाला अलपत्र पर्नुमा प्रमुख जिम्मेवार पात्र धुर्मुस-सुन्तलीभन्दा अरू नै हुन्। धुर्मुस सुन्तलीलाई त केबल अनुहार बिक्ने भएकाले नेतृत्वमा राखिएको थियो। उनीहरूले विगतमा भूकम्पपीडित, बाढीपीडित र विपन्न समुदायका मानिसहरूका लागि एकीकृत नमुना बस्ती बनाइसकेका भएर धुर्मुस र सुन्तलीको जोडीलाई अघि सारिएको थियो।
अहिले ‘सरकारले गर्न नसकेको काम गर्न किन हात हालेको त?’ भन्दै गाली गर्नेहरूलाई यो थाहा नहोला कि सुरुमा धुर्मुसले यो कामकाे जिम्मा लिन खोजेकै थिएनन्। सबैतर्फबाट प्रस्ताव आयो।
कतिपयले त धुर्मुस सुन्तलीलाई म्यासेज र फोन नै गर्न थाले। सबैको दबाबपछि अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको पहलकदमी लिन धुर्मुस–सुन्तली पछि हट्न नसकेका हुन्। क्रिकेट रङ्गशाला निर्माणका लागि देशवासीमा ठूलो आतुरता देखेपछि धुर्मुस सुन्तलीले नेतृत्व आफैँले लिने अदम्य साहस जुटाएका थिए।
अर्कोकुरा, त्यतिबेला रङ्गशाला निर्माण सरकारकै अग्रसरतामा हुनुपर्ने सर्त राखेका थिए। सरकारले आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराएमा पुराना अनुभवका आधारमा आफूहरूले निर्माणको संयोजन गर्ने उनले भनेका थिए।
अहिले रंगशालाा अलपत्र छ। अलपत्र पर्नुमा सरकारी निकाय पनि जिम्मेवार छ। कबुलेका रकम नदिने सरकारी निकाय तथा व्यक्तिहरू उत्तिकै जिम्मेवार छन्। किनकि, धुर्मुसले पहिल्यै कबोलेका थिए, ‘सरकारले आर्थिक पाटोको जिम्मेवारी लिएर स्रोत उपलब्ध गराएमा आफूले निर्माणको संयोजन गर्छु।’
सबै निकायले त्यसमा सहमति जनाएपछि मात्रै धुर्मुसले हात हालेका थिए। तर अहिले धुर्मुस एक्लै छन्। हौसला प्रेरणा दिनेदेखि उचाल्नेहरू उनलाई थचारेर फरार भइसकेका छन्। पहिला धुर्मुसको पछाडि सिङ्गो देश थियो। विडम्बना आज उनको पक्षमा बोलिदिने कोही छैन।
यी सबै कुरा थाहा पाएरै पनि कतिपयले धुर्मुस सुन्तलीको खेदो खनिरहेछन्। आधारभूत तथ्य र तर्क भुलेर कसैले सोसल मिडियामा जथाभाबी लेख्न थाल्छ भने न्यूनतम मानवीय संवेदनामाथि प्रश्न उठाउन सकिन्छ। यदि, कोही नागरिकले समाजमा भएको हरेक गतिविधिमा आलोचनात्मक चेत राखेर भने पनि उसको नागरिक दायित्वमाथि पनि स्वाभाविक प्रश्न उठाउन सकिन्छ।
यसैले, रंगशालको सपना देख्नु, देशका लागी केही गर्छु भन्नु आफैँमा गलत थिएन। त्यो सपना यथार्थता पुरा गर्न अघि बढ्नु पनि उनीहरूको अपराध थिएन। उनीहरूको नियतमा खोट थिएन होला, तर परिस्थितिले बनायो।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला स् परिबन्धको चक्रव्यूहमा धुर्मुस-सुन्तली
काभ्रे र सिन्धुपाल्चोकका भूकम्पपीडित, महोत्तरीमा मुसहर समुदायका लागि नमुना बस्ती बनाए। रौतहटको चन्द्रपुरमा नमुना बस्ती निर्माण गरेपछि अझ स्वदेश तथा विदेशका नेपालीमा थप विश्वास र भरोसा बढ्यो। देश बनाउँछु भनेर आएका सरकार र राजनीतिक दलका अगुवा प्रति निराश बनेका नेपाली सरकारी तबरबाट कुनै राम्रो योजना हुँदा निराश थिए।
सरकारको ढिलासुस्ती र अपारदर्शीर्ताले अवाक भएका सर्वसाधारण समाजका आइडल धुर्मुस-सुन्तली फाउन्डेसनले पारदर्शी काम गर्नेमा विश्वस्त थिए। तर, सोहीअनुसार काम नहुँदा गाँस काटेर सहयोग गरेकाहरूले आफूहरूको चाहनामाथि कुठाराघात महसुस गरेका छन्।
भगवानजस्तै दोषमुक्त छन् ?
फेरि धुर्मुस-सुन्तलीतिरै फर्कौँ। महाभूकम्पपछि समाजसेवामा धुर्मुस र सुन्तलीले जति काम गरेका छन्, त्यति काम सरकारले समेत गर्न सकेको छैन। उनीहरूले समाजलाई दिएको योगदानको जति प्रशंसा गरे पनि थोरै हुन्छ।
धुर्मुस सुन्तली विकासप्रेमी कलाकार हुन्।
उनको अभियानमा देश–विदेशका दानवीरहरूले खुल्ला दिलले लगातार सहयोग गरिरहेका थिए। उनले समाजमा निकै उदाहरणीय कामहरू गरेर आमजनताको विश्वास जितेका छन्। र, यही विश्वासका कारण सबैले अभियानलाई दिलैदेखि सहयोग र समर्थन जनाए।
यसो भन्दैमा फाउन्डेसनले हालसम्म कति रकम उठ्यो? क–कसले कति कति रकम दियो? खर्च कहाँ–कहाँ कति भयो ? के सामान खरिदमा कति गयो? ज्याला मजदुरलाई कति गयो? त्यसको हिसाब–किताबको अवस्था के छ भनेर प्रश्न सोध्न नमिल्ने भन्ने हुँदैन। त्यसको जवाफ पनि चित्त बुझ्ने गरी धुर्मुस–सुन्तलीले पनि पनि दिनुपर्छ। सायद, यो जवाफ दिएका हुन्थे भने अहिले धुर्मुस सुन्तलीले सामाजिक सञ्जालमा गालीको वर्षाले चुटिनुपर्ने थिएन।
कुरा यत्तिमै सकिएन। आम सर्वसाधारणले आइडल मानेको उनीहरू यस्तो कुरामा अझ सचेत हुनुपथ्र्याे। उनीहरू पनि मानिस नै भएकाले कामको सिलसिलामा कमजोरी हुनसक्छ। तर, आफूमाथि प्रश्न उठेपछि चुप बस्नुले नियत सफा नदेखिएको भन्दै आलोचना आइरहेको छ।
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि प्रश्न उठेको यो पहिलो घटना होइन। यसअघि, मुसहर बस्ती निर्माण सकेपछि धुर्मुस- सुन्तली फाउन्डेसनले ५ अर्बको नमुना नेपाल परियोजना सार्वजनिक गरेका थिए। आर्थिक संकलनसमेत सुरू गरेको थिए। त्यहाँ कति रकम उठेको थियो। कोकोबाट कहाँ–कहाँ कति उठेको थियो। कति रकम रङ्गशाला निर्माणमा खर्चिए। त्यसको जानकारीसमेत उनीहरूले गराएका छैनन्।
‘‘ममाथि कुनै प्रश्न नउठाओ तर, आँखा चिम्लेर सहयोग मात्रै गरिराख’ भन्ने सोचाइ धुर्मुस सुन्तली फाउन्डेसनले पनि राख्नुहुँदैन। बरु उठेका प्रश्नहरूको जवाफ दिँदैजाँदा सहयोगीहरूमा थप विश्वास र भरोसा बढ्छ। तसर्थ, कोही पनि धुर्मुस-सुन्तलीले जवाफ दिन झिँजो मान्नुहुँदैन।
यी अनुत्तरित प्रश्नहरूको जवाफ दिने कोसिस नगर्ने तर, आफूहरूमाथि गाली बेइज्जती भइरहेको भन्ने पीडा मात्र पोख्नु जायज नहोला। पङ्क्तिकारको भनाइको आशय उनीहरूले गाली सहिरहनुपर्छ भन्ने होइन। उनीहरू पनि आमसर्वसाधारणप्रति पारदर्शिताको हकमा जिम्मेवार बन्नुपर्छ भन्ने मात्र हो।
हरहिसाब बोलीमा कि व्यवहारमा ?
कुरा यत्तिमै सकिएन, धुर्मुस-सुन्तलीलाई सर्वसाधारणले प्रश्न उठाउन पाउने ठाउँ छ। उनीहरूको मन सफा हुन सक्ला, तर उनीहरूको नियत गलत थियो भन्ने आशंका गर्ने ठाउँ पनि प्रशस्त छ। किनकि अहिलेसम्म विस्तृत हिसाब किताब सार्वजनिक भएकै छैन।
३९ करोड ८० लाख संकलन, ५७ करोड ९२ लाख रुपैयाँ खर्च र १८ करोड ४३ करोड रुपैयाँ उधारो सामानको पैसा तिर्न बाँकी रहेको भन्दै ‘इन टोटल’ हिसाब मात्रै सार्वजनिक गरिएको छ। ३९ करोड ८० लाख रुपैयाँ सहयोग दिने सूचीमा को-को छन्। क-कसले कति-कति रुपैयाँ दिएका हुन् भन्ने सार्वजनिक भएको छैन। खर्च भएको भनिएको ५७ करोड ९२ लाख रुपैयाँमा कुन-कुन शीर्षकमा कति खर्च भयो भन्ने स्पष्ट आएको छैन। उधारो सामानको पैसा तिर्न बाँकी सूची समेत पारदर्शी छैन। के-के बापत कसलाई कसलाई तिर्नुपर्ने छ भन्ने सार्वजनिक छैन।
भरतपुर रङ्गशालाको हिसाब- ३९ करोड संकलन, ५७ करोड खर्च, १८ करोड उधारो
भन्न त धुर्मुसले ‘अडिट रिर्पाेट हेर्नुहोस्’ भनेका छन्। तर, सर्वसाधारणले कहाँ गएर हेर्ने? धुर्मुस सुन्तली फाउन्डेसनलेनै आफ्नो आधिकारिक वेबसाइट नै बन्द गराएर राखेका छन्। अफिसियल फेसबुक पेजमा सिलियर र गीतका सामग्री मात्र अपडेट भएका छन्।
सोही कारण पनि होला, ‘जबसम्म नमुना नेपालका लागि उठाइएको रकमदेखि क्रिकेट रङ्गशालाको नाममा सहयोग दिनेहरूको सूची र खर्चको एक–एक विवरण सार्वजनिक नभएसम्म हिसाब पारदर्शी हुँदैन’ भन्नेहरू बढिरहेका छन्।
अर्कोकुरा, ‘रङ्गशालाका दूबो मरे होलान् तर, आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमानदारितामा दाग लागेको छैन’ धुर्मुसले भनेका छन्। सायद, माथिका प्रश्नको जवाफ दिए मात्रै धुर्मुस-सुन्तलीले आफूमाथि लागेको दाग मेटाउन सक्नेछन्।
आशा गरौँ, उनले बोलीले होइन, व्यवहारले बताउनेछन्। धुर्मुसको इमानदारिताको परीक्षण तब हुनेछ, जब उनीहरूले २०७४ देखि हालसम्म प्रत्येक वर्षको ‘अडिट रिर्पाेट’ सार्वजनिक गर्नेछन्। यसलाई सधैँभरि सिरानमुनि नै राखेर बस्ने छुट उनलाई छैन। विल्कुल छँदैछैन।
सायद रङ्गशाला हस्तान्तरणको प्रक्रिया लम्बिनुले पनि यी विवरण सार्वजनिक गर्न नभ्याएका होलान्। हस्तान्तरण नहुँदा पछिल्लो वर्षदिनयता धुर्मुस सिंहदरबारका हरेक मन्त्रालयका चोटाकोठामा बिन्ती बिसाउन बाध्य छन्। थोरै झुक्दा सानो भइँदैन, उल्टै उचाइ बढ्ने बुझेकै छन् धुर्मुस सुन्तलीले। त्यसैले अहिलेसम्मको ढिलाइप्रति क्षमायाचना गर्ने सोचाई बनाएकै होलान्।
त्यति मात्र होइन हरदिन आरोप खेपिरहनुभन्दा उनले आफू र परिवारको सम्पूर्ण सम्पत्ति सार्वजनिक गर्लान् पनि। आयस्रोत खुलाउलान् पनि। राज्यलाई कर तिरेको प्रमाण देखाउलान् पनि। अनि सबैलाई भ्रममुक्त गराउलान् पनि। तर, सार्वजनिक रूपमै पाइरहेको अपमानको असह्य पीडामा विक्षिप्त धुर्मुस–सुन्तलीले अहिले नै के गर्न सक्लान् र ? केही समय त लाग्ला नै।
यी तमाम बाध्यता नबुझी उनीहरूमाथि आर्थिक अपराधका आरोप लगाउन थालिएको छ, कुनै आधारबिनै। जुन कुनै हालतमा न्यायिक हुनै सक्दैन। यसैले सञ्जालबाट होस् या कहीँ कतैबाट गालीगलौज गर्ने, अशिष्ट भाषा बोल्ने, धम्की दिनेलगायत गतिविधि नगरौँ। धुर्मुस-सुन्तलीलाई गाली गर्न बन्द गरौँ। बरु, हरहिसाबबारे बरु प्रश्न गरौँ। तथ्यमा टेकेर आलोचना गरौँ, बिन्ती गालीचाहिँ नगरौँ।
क्रिकेटका दर्शक रूखमा, खेलकुदको बजेट मुखमा
Facebook Comment
Comment