‘‘नेताहरूका कुराभन्दा गाउँका जनताका कुराहरू खोज्नु। त्यति धेरै नेता भए पनि जिल्लामा किन विकास भएन, ती कुराहरूको रिर्पाेट बनाएर पठाउनु’’ दीपेन्द्र सर अर्थात् दीपेन्द्र दोङ तामाङले १२ वर्षअघि फोनमा भनेको कुरा अहिलेसम्म ताजै छ। तत्कालीन सिटिजन एफएम ९४ (हाल रेडियो अन्नपूर्ण) का समाचार संयोजक दीपेन्द्र सरले फोनबाटै काम लगाउँदथे।
नुवाकोटको एक गाउँमा कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, बहादुरसिंह लामा तामाङलगायतले विद्यार्थीको लागि शैक्षिक सामग्री वितरण गरेका थिए। ‘कांग्रेसका नेताहरूले बाँडे विद्यार्थीलाई शैक्षिक सामग्री’ शीर्षकको समाचार रेडियोको लागि मेल गरेपछि कन्फर्मको लागि दीपेन्द्र दाजुलाई फोन गरेको थिएँ।
उहाँले समाचार हेरिसकेको बताउनुभयो। मेरो समाचारमा पटक्कै चित्त नबुझेको भन्नुभयो। ‘‘दर्जनौँ केन्द्रीयस्तरको नेता भएको जिल्ला र हरेक मन्त्रिमण्डलमा कोही न कोही नुवाकोटबाटै मन्त्री बनेका हुन्छन्। तर, त्यही ठाउँमा स्कुल जान राम्रो बाटो छैन। स्कुल नजिक छैन, अभिभावक किताब कापी किन्न नसक्ने अवस्थाका छन्। नेताहरू भए पनि किन आफ्नो जिल्ला बनाउन सकेनन्। नेताहरूले किताब कापी किन्न नसक्ने अवस्थाबाट जनतालाई माथि उठाउन किन सकेनन्, यो बारेमा रिर्पाेट पठाउनुस्’’ दीपेन्द्र सरले निर्देशन दिनुभयो।
त्यो दिन रेडियोमा उही फर्मल न्युज बज्यो। दीपेन्द्र सरले भनेजस्तो अर्को रिर्पाेट बनाउन जुटेँ। सर्वसाधारण, जानकार तथा केही नेताको बाइट समेटेर रिर्पाेट बनाएँ। भोलिपल्ट रेडियोमा प्राथमिकतामा साथ बज्यो।
नेताहरूको काममा प्रश्न उठाएकाले स्वाभाविक रूपमा उनीहरूलाई चित्त बुझ्ने कुरै थिएन। कांग्रेसका जिल्लास्तरका केही नेताहरूले फोन गरे। मलाई थर्काए। त्यो कुरा मैले न्युजचिफ कुमार श्रेष्ठ सर र समाचार संयोजक दीपेन्द्र सरलाई फोनमा सुनाएँ। उहाँहरूले दुवैले भन्नुभयो, ‘‘लु गज्जब, थर्काउनु त राम्रो हो नि, तर नडराउनु। यही त हो समाचारको प्रभाव।’’
त्यसपछि मलाई थप ऊर्जा मिल्यो। परम्परागतभन्दा फरक शैलीका समाचारमा म केन्द्रित हुन थालेँ। विकास निर्माणमा भएका अनियमिततादेखि बाटो र पुल नबनेका कुराको समाचार बनाउन थालेँ। बन्दाबन्दै भत्किएका सडकका कुरादेखि किसानले मन नपाएकादेखि उत्पादन विक्री नभएका र मूल्य नपाएका गुनासाहरूको रिर्पाेट बनाउन थालेँ।
यी कुरा २०६७ सालको हुन्, काठमाडौंमा भर्खरै सिटिजन एफएम खुलेको थियो। अहिलेजस्तो भिडिओ र मल्टिमिडियाको प्रचलन आइसकेको थिएन। थोरै टेलिभिजन थिए। रेडियो धेरै सुनिन्थ्यो र उस्तै प्रभाव पनि। म नुवाकोटमा बसेर रिर्पाेटिङ गर्ने गर्थे।
रेडियो कर्ममा लाग्नुमा मेरो कुनै बाध्यताको कहानी थिएन। रहरै रहरले रेडियोसँग जोडिएको थिए। जिल्लाकै अर्को रेडियो र पत्रिकामा काम गर्थेँ। प्रसारण क्षमता बृहत् भएकाले र धेरै जिल्लासम्म सुनिने भएकाले सिटिजन एफएममा पनि रिर्पोटरको काम गरेको थिएँ।
रेडियोसँग हुर्किएको म, रेडियोमा काम गर्ने इच्छा सानैदेखि थियो। मेरो लागि पैसाको लागिभन्दा पनि रुचिको विषय थियो रेडियो। ‘मेरो बोली सबैतिर गुन्जिन्छ, मलाई सबैले चिन्छन्’ भन्ने लोभ मलाई थियो। त्योभन्दा बढीचाहिँ आफ्नै गाउँठाउँका, समुदायका अझ आवाजविहीनहरूका आवाज सबैसमक्ष पुर्याउनुपर्छ भन्दै मलाई दीपेन्द्र सरले सधैँ सिकाउनुहुन्थ्यो। म त्यसमा बढी केन्द्रित हुन्थेँ। केही समय मैले नुवाकोटबाटै रिर्पाेटिङ गरेँ। त्यसपछि म काठमाडौं आएर कामलाई निरन्तरता दिए। त्यसपछि थप नजिकबाट दीपेन्द्र सरसँग सहकार्य भयो।
उहाँको राम्रो लेखन क्षमता थियो। जादुमय आवाजले समाचार वा रिर्पाेटलाई जीवन्त तुल्याइदिन्थ्यो। उहाँले सम्पादन गरेपछि अरू सहकर्मीका समाचार र रिर्पाेटको स्वरूप नै फेरिन्थ्यो। कतिपय सामान्य लेखन पनि विशिष्ट जस्ता बन्थे।
उहाँको मिजासिलो स्वभावको कारण सबैको प्यारो हुनुहुन्थ्यो। जिल्लामा रहँदा म उहाँलाई ‘दीपेन्द्र सर’ भन्थेँ। काठमाडौंमा आएपछि थप निकटता बढ्यो, ‘दाइ’ नाताले सम्बोधन गर्न थालेँ। उहाँको मिठासपूर्ण व्यवहारले धेरै साथीहरू दाइ नै भन्थे।
एक सफल प्रस्तोताका रूपमा उहाँले आफ्ना स्रोतालाई मात्र सन्तुष्ट तुल्याउनुभएन। कुशल व्यवस्थापकीय क्षमता प्रदर्शनपछि सञ्चालक पनि खुशी थिए। त्यसैले समाचार प्रमुखहुँदै स्टेसन म्यानेजरसम्म बन्न सफल हुनुभयो। समयक्रमसँगै केही साथीहरू रेडियोबाट टाढा भए। बिस्तारै दीपेन्द्र दाजु र म पनि सहकर्मीबाट पूर्वसहकर्मीमा परिणत भयौँ।
समयक्रमसँगै दीपेन्द्र दाजु जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेसन मेनेजर हुनुभयो। म पनि प्राइम टाइम्स टेलिभिजनहुँदै नेपालभ्युज डटकममा आवद्ध भएँ। पछिल्लो केही महिनायता मात्रै उहाँ मध्याह्न दैनिकमा सम्पादक हुनुभयो। त्यो बेलामा फोन र म्यासेन्जरबाटै बधाई दिएका थिएँ।
त्यो नमिठो खबर
दुई सातायता एकाबिहानै मित्र लक्ष्मण शर्माले फोनमा नमिठो खबर सुनाए, ‘‘दीपेन्द्र दोङ दाजुको ब्रेन ह्यामेज भएछ। अस्पतालमा छु।’’ उहाँ ‘ब्रेन ह्यामरेज’ भएर बाथरुममा ढल्नुभएछ। बिहानै मात्रै परिवारले थाहा पाएछन्। अनि अस्पताल ल्याइएको खबर सुनाए।
‘‘अहो होर, म आइहाले बस्दै गर्नु त,’ मैले आफ्नो कुरा सक्न नपाउँदै उनले भने, ‘‘अवस्था जटिल छ, यहाँ आए पनि भेट्न मिल्दैन, आईसीयूमा हुनुहुन्छ।’’ त्यसपछि म रोकिएर शीघ्र स्वास्थ्य लाभको कामना गरेँ।
दीपेन्द्र दाजु बिरामी भए देखिनै स्वास्थ्य अपडेट लक्ष्मणजीबाटै लिँदै आएको थियौ हामीले। उहाँको अवस्था सिरियस भएकाले आइसियु र भेन्टिलेटमा जो कोही जान नमिल्ने थियो। ‘कहिले उहाँको अवस्थामा सुधार आउला र भेट्न जाउँला’ भन्ने हामीलाई थियो।
दीपेन्द्र दाजुको उपचारको सिलसिलामा दीर्घायु अस्पतालदेखि शिक्षण अस्पतालसम्म कुदाइएको रहेछ। पछि मेडसिटीमा राखिएछ। तर, दुई साताभन्दा उहाँको अवस्थामा कुनै सुधार भएन। दुर्भाग्य दीपेन्द्र दाजुको हकमा चिकित्सा विज्ञान निरीह बन्यो। उपचारमा संलग्न डाक्टरहरू मृत्युको साक्षी बन्न बाध्य भए।
यो नसुन्नुपर्ने खबर शनिबार मध्यान्न नवराज कुँवरले सुनाए। त्यतिबेला म भक्तपुरको दिव्यश्वरी पार्टी प्यालेसमा एक कार्यक्रममा थिएँ। ४३ वर्षकै अल्पायुमै दीपेन्द्र दाजुको निधनको खबर पत्याउन सजिलो थिएन। उहाँ संसारमै नभएको खबर सुनेपछि म कार्यक्रम छाडेर मेडिसिटीतिर हानिएँ।
कोटेश्वर पुगेको थिएँ, नवराज जीले पार्थिव शरीरलाई जोरपाटी सानो गुम्बा लगिन लागेको फोनमा जानकारी गराए। नवराजजी, जनक कार्की, सागर खड्का र म फेरि उतै लाग्यौँ।
जोरपाटीको गुम्बामा पुग्दा चन्द्रमणि गौतम, दिनेश गौतम, कृष्ण कट्टेललगायतका साथीहरू भेला भइसकेका थिए। दीपेन्द्र दाइ कार्यरत संस्था र पहिला काम गरेका जनता टेलिभिजन र रेडियाका साथीहरू आउने जाने क्रम चलिरहेको थियो। आफन्तको भीड थियो।
गुम्बाको भूइँतलाको भित्र कोठामा लामाहरू मन्त्र पढिरहेका थिए। अगाडी कफनमाथि ढलेको दीपेन्द्र दाजुको शव देखेर मन थाम्न सकिएन। सग्लो ज्यान र अनुहारमा चमक गएको थिए। उठेर बोल्दिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। तर अकाट्य यो थियो कि, दैवले खोसिसकेको उहाँको फिर्ती सम्भव थिएन।
बालापनको खुल्दुली : यति सानो रेडियोभित्र कसरी अटाए त्यत्रा मान्छे ?
अन्तिम अवसर गुमाउँदा…
पछिल्ला केही वर्षयता हामीहरूबीचको भेट अलि पातलिएको थियो। हाम्रो भेट केही औपचारिक कार्यक्रम र अनौपचारिक जमघटमा हुन्थ्यो। कहिलेकाहीँ फोन र म्यासेन्जर पनि। पिकनिक हरेकसँगै वर्ष गइन्थ्यो। यही सालको १६ पुसमा शंखरापुरको कात्तिकेमा भएको पिकनिकमा मज्जाले जम्यौँ।
पछिल्लो पटक उहाँसँग एउटा भेटको अवसर गुमाएँ। अहिले धेरै पछुतो लागिरहेको छ। उहाँ ‘ब्रेन ह्यामरेज’ भएर बाथरुममा ढल्नुभन्दा तीन साताअघिको कुरा हो। एक साँझ सँगै बसेर खाना खाने अवसर जुरेको थियो। मित्र दयाराम घिमिरेले कमलपोखरीमा जुराउनुभएको भेट थियो। अफिसबाट घर फर्किदा कमलपोखरीकै बाटो जाँदै थिए।
हामीले भेट्ने भनेको ठाउँ हुँदै म चाबहिल जाँदै थिए। कम्पाउन भित्र दीपेन्द्र दाजुलगायतका केही साथीहरूलाई देखेँ। म बाहिर सडकमै थिएँ। मलाई हतार थियो। त्यो कार्यक्रममा सरिक हुन सक्ने अवस्था थिएन।
एकैछिन मोटरसाइकल सडक छेउमा अड्याएर हात हल्लाउँदै अभिवादन गरेँ। उहाँले पनि हात हल्लाएर जवाफ फर्काउनुभयो। अर्को दिन भेट्ने सर्तमा म बाटो लागेँ। अहिले मलाई आफैँप्रति पछुतो छ, किनकि अब मैले चाहेर पनि, जति नै प्रयास गरे पनि उहाँसँगको भेट सम्भव छैन।
पछिल्ला दिनहरूमा तत्कालीन सहकर्मी भेट हुँदा उहाँको पनि कुरा निस्कन्थ्यो। उहाँको क्षमताको अरू साथीहरूले पनि प्रशंसा गर्थे। ‘‘उति बेलै उहाँ बबाल रेडियो म्यागेजिन बनाउनुहुन्थ्यो। क्रियसनचाहिँ फरक खालको छ दीपेन्द्र दाइसँग। उहाँसँग सिक्न सकिने धेरै कुरा छन्’’ नवराजजी सुनाउँथे।
ढल्यो तामाङ कला साहित्यका धरोहर
उहाँ पत्रकारितामा मात्र नभएर तामाङ कला संस्कृतिको क्षेत्रमा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो। तामाङ गीत सङ्गीत, तामाङ चलचित्र, तामाङ साहित्यमा समेत सक्रिय हुनुहुन्थ्यो। नेपाल तामाङ कलाकार संघको संस्थापक सचिवहुँदै सल्लाहकार हुनुहुन्थ्यो। तामाङ चलचित्र जगतकै दोस्रो चलचित्र उहाँ लेनै बनाउनुभएको हो। ‘मयुङ बुरिङ’ फिल्म (२०५८) मा लेखन तथा निर्देशन उहाँकै हो।
उहाँले ‘आपा आमासे याङदा तिङिला ल्होछार…, ङादा ख्लासी निवा…, खारङ्बा बेला…, ल्हासाको सुन… तोर तोर ल्हाला… यदा माया…, चु ग्यालाम…, डाला चु मिला.. जस्ता धेरै तामाङ भासाका गीत लेख्नुभएको छ। यी मध्ये केही गीतहरू तामाङ समुदायमा चर्चित छन्।
तामाङ भासाका गीत संगीतले आज यो उचाइसम्म पुग्नुमा दीपेन्द्र दाजुको सिर्जनाहरू महत्त्वपूर्ण रहेको नेपाल टेलिभिजनको महाप्रबन्धक तथा वरिष्ठ सञ्चारकर्मी फूलमान बल समेत सहमत हुनुहुन्छ।
साहित्यमा उहाँको ‘नाम्सारी’ तामाङ उपन्यास २०५९, ‘हिमपुत्री’ उपन्यास २०५४, ‘मध्यरातको घाम’ नेपाली गीति संग्रह २०५४, ‘बेदनाका लहरहरू’ नेपाली गीति संग्रह २०५२, ‘शंका’ नेपाली एकांकी नाटक २०५१, ‘जेसुम’ तामाङ गीति नाटक २०६९ प्रकाशित छन्।
उहाँको निधनले पत्रकारितासँगै तामाङ कला साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको सोमबार बिहान श्रद्धाञ्जली सभामा वरिष्ठ रेडियोकर्मी अमरध्वज लामाले बताउनुभयो। साँच्चिकै तामाङ कला र गीत सङ्गीत क्षेत्रका स्रष्टा दीपेन्द्र दाजुका सिर्जनाहरू भावी पुस्ताका लागि प्रेरणादायी र अनुकरणीय रहनेछन्। उहाँले तामाङ कला साहित्य र पत्रकारिता क्षेत्रलाई छाडेर गए पनि हाम्रो मनमा सदैव बास बस्न सफल छन्।
देहान्तलगतै शनिबार लामा पढाउन जोरपाटीको सानो गुम्बामा पार्थिव शरीर लगिँदा होस् या अन्तिम श्रद्धाञ्जलीको लागि सोमबार सांस्कृतिक संस्थान जमलमा राखिँदा होस्, त्यहाँ देखिएका शुभचिन्तक हेर्दा लाग्दथ्यो उहाँको परिवार विशाल छ। तर, उहाँले आफ्नो परिवारलाई अपूरो छोडेर जानुभयो।
दीपेन्द दाजुको पार्थिव शरीर बोकेको गाडीको दाहसंस्कारका लागि जमलबाट निस्कँदै गर्दा चन्द्रमणि गौतम दाजु भन्दै थिए, ‘‘सबैका मृत्यु पीडादायी हुन्छ। संसार छोडेर जानेले कसै न कसैलाई अपूरो बनाएरै जान्छन्।’’ साँच्चै दीपेन्द्र दाजुको निधनले एउटा खालीपन महसुस भएको छ, अझ भनौँ तामाङ कला क्षेत्रमा।
श्रद्धाञ्जली सभा सकेर भारी मन बोकेर मित्र नवराज कुँवर र म अफिस फर्कियौँ। फर्कँदा चन्द्रमणि दाजुकै अभिव्यक्तिकै चर्चा गर्यौँ, ‘‘दीपेन्द्र दाजुको महाप्रस्थान तामाङ कला संस्कृति क्षेत्रमा अपूरणीय क्षति हो। यो सत्यसँग सायद कोही असहमत नहोला कि, अब अर्को ‘दीपेन्द्र’ सायद सायद जन्मनेछैनन्।’’ दाजु दीपेन्द्रप्रति हार्दिक श्रद्धासुमन।
मान्छेका दुस्ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने
Facebook Comment
Comment