ब्लग : सन्दर्भ - रेडियो दिवस

बालापनको खुल्दुली : यति सानो रेडियोभित्र कसरी अटाए त्यत्रा मान्छे ?

कहिल्यै पनि थकानको महसुस नगराउने रेडियो प्रेम साँच्चै मेरो लागि अविस्मरणीय छ। टेलिभिजनमा पनि बोल्ने काम गरेँ तर रेडियो जति मज्जा आएन। अझै पनि म भित्र बर्षौसम्म बाँचिरहनेछ रेडियो रहर।

बालापनको खुल्दुली : यति सानो रेडियोभित्र कसरी अटाए त्यत्रा मान्छे ?

‘टुँट् टुँट् टुँट् टू… टूँटूँटूँ… ६० मिटर ब्यान्ड र मिडियम वेभ ६८४, ११४३, ७९६ र ९४५ किलोहर्जमा हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् केही विज्ञापन र सन्देशहरू। ‘उकालो ओरालो मोटर हरर, गोरखकाली टायर बलियो गुड्छ सरर… आयो गोरखकाली…।

घर-घरको भित्तामा झुन्डिएका रेडियोमा यस्तै गीत र विज्ञापन घन्किन्थ्यो। अझ दशैँको बेला लाहुरेहरू काँधमा रेडियो बोकेर मालश्री घन्काउँदै हिँड्दा बल्ल दशैं आएझैँ हुन्थ्यो। निकै ठूलो चारपाटे आकारको ‘मर्फी’ ब्यान्डको रेडियो बोकेर उनीहरू हिँडिरहेका देखिन्थे। लाहुरेको त्यस्तो रवाफ देख्दा मलाई पनि त्यसैगरी हिँड्न रहर लाग्थ्यो। ‘संसारमा सबैभन्दा ठूला, सफल र भाग्यमानी मान्छे यिनै हुन्’ जस्तो लाग्थ्यो। मलाई लाग्थ्यो, मान्छे भएपछि त लाहुरे पो हुनु। कसैले मलाई ‘ठूलो भएपछि के बन्छस् ?’ भनेर सोधे भने म भन्ने गर्थे ‘लाहुरे’।

साँच्चै भन्नुपर्दा लाहुरेको रेडियो बजाए हिँड्ने रवाफिलो शैलीले मलाई पनि त्यतातिर लोभ्याएको थियो। हुन त, हाम्रो घरमा पनि रेडियो थियो। त्यतिबेला घरमा बिजुलीको भने आइसकेको थिएन। त्यसैले, हामी ब्याट्रीवाला रेडियो सुन्थ्यौं।

स्कुल बिदामा वनमा बाख्रा चराउन जाँदा होस् या खेतमा हलोको अनौठा अड्याएर समेत रेडियो सुन्थ्यौं। सबै मिलेर, लाहुरेकाभन्दा फरक रेडियो। गाउँ या सहरमा सधैँ रेडियो नै ‘हटकेक’ हुन्थ्यो। प्रेमराजा महत र कोमल वलीको ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ ती समयमा निकै सुनिन्थ्यो। ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’, सालैको पातैले, दिए खान्थेँ मायाको दाहिने हातैले…। भन्ने लोकगीतदेखि ‘कट्टर कटरमा तिम्रो सुहाउँदो ज्वाइँ आयो मटरमा’, ‘मैले के गरूँ तिमी आउछौं की अर्को बे गरूँ,’ भन्ने जस्ता ठट्यौली गीत खुबै चर्चित थिए।

अहिले नयाँ शैलीमा आस्था राउतले गाएकी ‘माया पानी खाने कलधारा कल्को, रात दिन तिम्रै छ झझल्को’ भन्ने गीत उनका बाबु हरिबहादुर राउतले पहिल्यै गाएका रहेछन्। त्यो र त्यस्ता काठे भाकाका गीत त्यति बेला सुपर हिट थिए, हाम्रा रेडियोमा। दायाँ-बायाँ दुई प्वाल भएका रिलवाला क्यासेट चक्का पनि तिनै गीतका धेरै बिक्थे। रेडियो नेपालमा पनि तिनै गीतहरूको रजाइँ थियो।

त्यतिबेला गीत मात्र होइन, विज्ञापन सुनेर पनि आनन्द लिन्थ्यौं। केही विज्ञापन खुब मन पर्थ्यो। ‘‘हुलास, हुलास, हुलास, हुलास…  हुलासको उल्लास छ, रंगीचंगी जस्तापाता…। गैंडा हो, गैंडा चुरोट हो यो गैंडा, गाउँ शहरमा सबले खाने गैंडा…। मुना… मुना मुना मुना चिया…।,  चिसो भनेकै कोकाकोला… । उपहार चियाको उपहारै उपहार‍‍‍‍‍…।  हामी सबैको वाइवाई…।’’ त्यतिबेला यिनै विज्ञापनहरू लगातार बजिरहन्थे।

रेडियोभित्र कसरी मान्छे अटाए ?

‘यति सानो रेडियोभित्र थरि-थरिका गीत गाउने र बोल्ने मान्छेहरू कसरी अटाएका होलान् ? यिनीहरू कत्रा हुन्छन् होला ?’ आश्चर्य मिश्रित कौतुहलताले सधैँ मनमा खुल्दुली भइरहन्थ्यो।

रेडियोभित्र बसेर बोलिरहेका मान्छेहरू कतिखेर बाहिर निस्कन्छन् भनेर म कुरेर बस्नेसमेत गर्दथेँ। तर, कहिल्यै निस्किएनन्। मेरो बालापनको रेडियो प्रेम अहिले सम्झँदा एउटा फिल्मको कथाझैँ लाग्छ। कहिलेकाहीँ रेडियो बजाएर गाउँ डुल्दै गर्दा अरूले बजाएका रेडियोबाट पनि उस्तै गीत बजिरहेका हुन्थे।

सबै रेडियोमा उस्तै गीत र एकै आवाजका कार्यक्रम बजिरहेको सुन्दा अचम्म लाग्थ्यो। गाउँका राम लक्ष्मणको अनुहार मिलेजस्तै आवाज मिल्ने मान्छे पनि हुँदा रहेछन् भन्ने सोच्थे। कसरी एउटै स्वर हुने मान्छे धेरै भए होलान्, मेरो स्वरसँग स्वर मिल्ने मान्छे पनि कोही होलान् कि नहोलान् भन्ने कुरा मनमा आउँथ्यो।

यस विषयमा मैले धेरैजनासँग सोधे। तर, चित्तबुझ्दो जवाफ कहिल्यै पाइनँ। रेडियोमा बज्ने गीतहरू नै मेरो आकर्षण थिए। त्यतिबेलामा चलचित्रहरू लाहुरे, दाइजो, सिमाना, प्रतीक्षा, अल्लारे, देउता, पृथ्वीजस्ता चलचित्रका गीतले मलाई मोहनी नै लगाएका थिए। अहिले साह्रै मन पर्ने गीतहरू भने त्यतिबेला मलाई मनपरेका थिएनन्।

नारायण गोपाल, फत्तेमान, गोपाल योञ्जन, अरुणा लामा, तारादेवीलगायतका गीतहरू बज्न थाले कि मलाई दिक्दार लाग्थ्यो। सायद त्यो बेला मेरो मस्तिष्कका नशाहरू ती गीतका भाव बुझ्ने हैसियत राख्दैनन् थिए कि ? उनीहरूको नामै सुन्नै मन नलाग्ने।

मनोरञ्जनको निर्विकल्प माध्यम रेडियो

हुन त, हाम्रा गाउँतिर त्यतिबेला मनोरञ्जनका अरू साधन थिएनन् पनि। टेलिभिजन कस्तो हुन्छ भन्ने मात्रै थाहा थियो। चारपाटे बाकसजस्तो आकार किताबका पानामा मात्र हेर्न पाइएको थियो। घरबाट ७ किलोमिटर टाढा एउटा फिल्म हल पनि छ भन्ने सुनेको थिएँ। दाजुहरू कहिलेकाहीँ फिल्म हेर्न जान्थे। आफूले न फिल्म हल देखेको थिए न हेर्न जान पैसा नै हुन्थ्यो।

दाजुहरू कहिलेकाहीँ फिल्म हेरेर आएपछि फिल्मका कथा कहानी सुनाउँथे। अग्नि परीक्षा, वर–पिपल, झझल्को, जमिन, रणसंग्राम, सिमाना चाँदनी, माटो बोल्छ, साथी, मितज्यू, चिनो, ठूल्दाई, ट्रक ड्राइभर, धर्मसंकट, देउता, आवारा, एक नम्बरको पाखे, अप्सरा, १६ वर्षे जोवन, आगो, आफन्तलगायतका फिल्म हेरेर आएको उनीहरू सुनाउँथे। हरेक शनिबारजसो उनीहरू फिल्म हेर्न जान्थे। घर आएर फिल्मका कहानी सुनाउँथे। आफू भने त्यही कथा नै चाखसँग सुनिन्थ्यो, र त्यसमै मज्जा लिनुको विकल्प पनि थिएन नै।

गोठालो जाँदादेखि पाइखाना जाँदासम्म हरेक काम रेडियो धुनसँगै गर्थे। अचेलका बच्चा र बुढा मोबाइलसहित ट्वाइलेट गएझैँ। हुन त अहिलेका केटाकेटीले के त्यति मोबाइल खेलाउलान्, जति मैले त्यो समयमा रेडियो खेलाउँथे।

मनोरञ्जनका लागि चाडबाडका अवसरमा घर नजिकैको देवीघाट बजारमा लाग्ने मेला हेरिन्थ्यो। नत्र भने त्यही रेडियो नै सुनेर मनोरञ्जन लिइन्थ्यो। रेडियोमा बाल कथा, चुट्किला सुनाउने कार्यक्रम र लोक तथा आधुनिक गीत बज्ने कार्यक्रमहरू सुनिन्थ्यो नै। तर, कसले देओस्, समाचार तथा सूचनामूलक कार्यक्रममा ध्यान।

त्यतिबेला रेडियो नेपाल अहिलेजस्तो २४सै घण्टा प्रसारण हुन्थेन । राति ११ बजे रेडियो नेपालको प्रसारण सकिन्थ्यो। रेडियो सुन्दै सुत्ने गरिन्थ्यो। रेडियो सुन्दा सुन्दै निदाउँथे म। सपना देख्थे ‘लाहुर पसेको अनि लामो समयपछि घर फर्कँदा मर्फी रेडियो काँधमा झुन्डाएर गीत बजाउँदै घर फर्किरहेको।

म रेडियो यतिबिघ्न सुन्थे नि, यति सुन्थेँ नि, बिहान उठेदेखि राति नसुत्दासम्म रेडियो सुन्ने नशा नै लागेको थियो। बिहान स्कुल जानुअघि होस् वा स्कुलबाट फर्कनेवित्तिकै रेडियोमै झुन्डिएको हुन्थे।

गोठालो जाँदादेखि पाइखाना जाँदासम्म हरेक काम रेडियो धुनसँगै गर्थे। अचेलका बच्चा र बुढा मोबाइलसहित ट्वाइलेट गएझैँ। हुन त अहिलेका केटाकेटीले के त्यति मोबाइल खेलाउलान्, जति मैले त्यो समयमा रेडियो खेलाउँथे।

त्यति बेलाका लोकप्रिय कार्यक्रमहरू निद्रा लाग्छ कि भन्दै चिया खाएर रेडियो कार्यक्रम सुन्ने त्यो समय साँच्चैको लोभलाग्दो थियो। रेडियो नेपालबाट हरेक शनिबार कार्यक्रम आउँथ्यो, ‘परदेशीको सन्देश’। टेलिफोनको सुविधा नभएको समयमा घर गाउँसम्म सन्देश पठाउन त्यो कार्यक्रम निकै लोकप्रिय थियो। म पनि पछि लाहुर गएर यसैगरी रेडियोमा सन्देश पठाउँछु भन्ने लाग्दथ्यो।

पाण्डव सुनुवारको ‘फोनइन’ कार्यक्रम नछुटाई सुनिन्थ्यो। बिहीबार राति पाण्डव सुनुवारकै ‘चौतारी’ कार्यक्रममा बज्ने लोक दोहोरी भाका सुन्न पाउँदा पनि निकै रमाइलो लाग्थ्यो। हरेक बिहीबार राति पौने ९ बजे दमन रुपाखेती तथा जितु नेपालको व्यङ्ग्यात्मक हास्य कार्यक्रम नबिराई सुनिन्थ्यो। दीपकराज गिरी र दीपा श्री निरौलाको रामविलास र धनियाँ जस्ता कार्यक्रम निक्कै रमाइला लाग्थ्यो। शुक्रवार बिहान १० बजेपछि आउने नवराज लम्सालको मधुवन अति कर्णप्रिय लाग्थ्यो। यस्तै गीति कथा कार्यक्रम सुनेर त म धेरैपटक रोएको थिए।

साँझ आउने कृषि कार्यक्रम सबैले सुन्थे। ‘हरि शरणम्’ भन्ने ‘बुढी आमै र जेटिए’ को गन्थनमन्थन खुब चाख दिएर सुन्थ्यौ। साँझ ५ बजेको समाचारपछि वासुदेव मुनालको बाल कार्यक्रम त नछुटाई सुन्ने गर्थे। हिउँदमा स्कुलबाट फर्कँदा साँझ झमक्क हुन्थ्यो। वर्षाका साँझ बारीमा झ्याउँ झ्याउँ झ्याउँकिरी कराउन थाल्थे हामी त्यति बेला सबै साथीहरू मिलेर रेडियोमा बाल कार्यक्रम र कृषि कार्यक्रम सुन्ने गरिन्थ्यो।

टिङटिङटुङटुङ, टिङटिङटुङटुङ, टुङ टुङटुङटुङ ,,, गरेर पार्श्वधुन बज्थ्यो। कोरसमा एकैपटक आवाज आउँथ्यो–जय नेपाल ! त्यो प्रसारित मोहनीमय आवाजले लट्ठ्याउँथ्यो हामीलाई। अनि सम्बोधन गर्थे वासुदेव मुनाल– ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ! लौ त ! अब सुरु गरौँ, आजको बाल कार्यक्रम।’ त्यो भनाइको त पटक-पटक हामी नक्कल गरिरहेका हुन्थ्यौँ। तर मैले भने नबुझेर ‘भाईबैनी हो, रेडियो नझिकाओ’ भन्ने नक्कल गर्ने गर्ने। पछि मात्रै शुद्ध त ‘भाइबहिनी हो, रेडियो नजिक आओ’ पो भनेको रहेछ भन्ने थाहा पाएँ।

मलाई रेडियोमा समाचार बज्दा सबैभन्दा दिक्दार लाग्थ्यो। समाचार आएपछि म रेडियो बन्द गर्थे‌। मेरो कलिलो मस्तिष्कले समाचारको विषयवस्तु बुझ्ने क्षमता नभएकोले होला समाचार नआइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। मलाई जतिबेला पनि गीत, नाटक, कथा मात्रै रेडियोबाट बजोस् भन्ने लाग्दथ्यो।

रेडियोसँगको सामिप्यता

घरमा रेडियो सुन्नकै लागि धेरै ठाउँ घुम्न गइनँ । त्यो समयमा मलाई कतै पाहुना जान मन लाग्दैनथ्यो। किनकि, पाहुना लाग्न गएको ठाउँमा रेडियो सुन्न पाइँदैन कि भन्ने चिन्ता लाग्थ्यो। रेडियोबाट अलग हुन मन नलागेरै मैले धेरै ठाउँमा जाने अवसर गुमाए। यसैगरी, रेडियोसँग मेरो सामीप्य झनै निकट हुँदै थियो। म रेडियो बटार्दै थिएँ। रेडियो नै बज्न छाड्यो।

मलाई लाग्यो रेडियो बिग्रियो। बा र म घर तलको देवीघाट बजारमा बनाउन गयौँ। रेडियो बनाउने तीर्थे दाइले ‘रेडियोको आईसी जलेको छ बन्दैन’ भने। रेडियो बनाउनुभन्दा अर्को रेडियो किन्नु फाइदा हुनेसमेत सुझाए। म छाँगाबाट खसेजस्तो भए। ‘बरु म आफैँ बिरामी भएको भए हुन्थ्यो नि तर यो रेडियो नबिग्रिएको भए हुन्थ्यो’ जस्तो लाग्यो।

नयाँ रेडियो किन्न बासँग पैसा थिएन। पसलेले ५ सय रुपैयाँमा १० ब्यान्डको रेडियो आउँछ’ भने। त्यति पैसा नभएकोले हामीले नयाँ रेडियो किन्न सकेनौँ। हामी बाउ छोरा मन खिन्न बनाएर घर फर्केर आयौँ। नबज्ने र नबन्ने रेडियो भए पनि मैले बोकेरै घरमा ल्याएर भित्तामा किलामा झुण्याएर राखेँ। घरमा रेडियो बिग्रिए पनि रेडियो सुन्ने मेरो मनको चाहनालाई कसैले रोक्न सकेन।

रेडियो सुन्नकै लागि पल्लो घरमा गोपी काका कहाँ जान थालेँ। गोपी काकाको घरमा बिहान बेलुका मात्र रेडियो बज्थ्यो। गाउँमा बिजुली थिएन। ब्याट्रिबाट बजाउनु पर्थ्यो। मसला (ब्याट्री) सकिन्छ भनेर लोभ गरेर कहिलेकाहीँ मात्र रेडियो बजाउँथे। म मेरै घरबाट ब्याट्री लगेरै सुन्थे। कहिलेकाहीँ ब्याट्री सकिए पनि कुनै चिन्ता हुँदैनथ्यो। पुराना ब्याट्री घाममा सुकाउने आइडिया थियाे। अनि त नबजेको रेडियो पनि मज्जैले बज्थ्यो।

पाँच सयको रेडियोले दिएको पाँच करोडको खुसी केही समय यसरी नै अरूकै घरमा गएर रेडियो सुने। एक पटक दसैँ आउनै लागेको थियो। म स्कुलबाट घर फर्किएको थिए। आँगनमा आइपुग्दा घरमा मालश्री धुन बजिरहेको थियो। पिँढीको किलामा रेडियो झुन्डाइएको थियो। त्यही रेडियोमा पो मालश्री धुन बजिरहेको रहेछ। म रेडियोको किरोलाई आफ्नै घरमा रेडियो पाएपछि के चाहियो र। हत्तपत्त किलाबाट झिकेर छातीमा टाँसे। सम्हाल्नै नसक्ने गरी खुसी भए।

लामो बिछोडपछि भेटिएकी प्रेमिकालाई अँगालोमा बाँध्न पाएझैँ। आँखाबाट खुसीका आँसु झरे। पाँच सयको चाइनिज रेडियोले मेरो जीवनमा पाँच करोडको खुसी ल्यायो। त्यो नै जीवनको सबैभन्दा खुसीको क्षण थियो। स्कुलको ड्रेस नै नखोली, खाजासमेत नखाई म ‘मेरो घरमा पनि रेडियो आयो है’ भनेर गाउँभरि सुनाउन गएँ। त्यतिबेला रेडियो सुन्न पाउँदा जीवन नै पवित्र भएझैँ लाग्थ्यो।

सुन्दादेखि बोल्दासम्म

कहिल्यै नमेटिने रेडियो रहर रेडियोसँग मेरो सम्बन्ध कहिलेदेखि गाँसियो मलाई नै याद छैन। सानैदेखि सुन्न रुचि लाग्थ्यो। रेडियोसँगको सहकार्य मेरो बालापनदेखिको नै हो। रेडियो मेरा लागि र म रेडियोका लागि भन्ने सोच मनमा गडेको थियो। यसैगरी, आफू रेडियोमा बोल्न खुब रुचि लाग्थ्यो। ठूलो भएपछि हिजो बलापनमा रेडियोमा सुनिँदै आएको माइक्रोफोनमा गएर सबैले सुन्ने गरी बोल्ने काम गरेँ। रेडियोमा बोल्दै जाँदा पत्रकार बन्ने रहर झन् बढेर गयो।

समयक्रमले कहिलेकाहीँ सानो बेलाका सोच, चाहाना, सपना यतिकै पूरा हुँदा रहेछन् भन्ने लाग्छ अहिले। रेडियो सुन्न थालेदेखिकै आफू पनि बोल्ने रहरले नै मलाई रेडियोमा बोल्ने ठाउँसम्म ल्यायो। रहरै रहरले रेडियोमा बोल्न थाले पनि थुप्रै आरोह–अवरोह पार गरेँ। त्यही रहरले आज मलाई पत्रकारितामा सिक्न, टिक्न र बिक्न सिकाएको छ।

यसो सोच्छु, बिजुली नपुगेको ठाउँमा ब्याट्री हालेर रेडियो सुन्नेहरू होलान् कि नहोला। वा हिजो बिजुली नपुगेको ठाउँमा आज बिजुली पुगेको धेरै ठाउँ छन्। त्यो ठाउँमा हिजोआज टिभी, युट्युब, फेसबुक र टिकटकमा आफ्ना रुचिका भिडियो हेर्लान् कि मोबाइलमा रेडियो नै सुन्न रुचाउँछन् होला? मलाई बेला-बेलामा जिज्ञासा पलाउँछ।

रेडियो सुन्न थालेदेखिकै आफू पनि बोल्ने रहरले नै मलाई रेडियोमा बोल्ने ठाउँसम्म ल्यायो। रहरै रहरले रेडियोमा बोल्न थाले पनि थुप्रै आरोह–अवरोह पार गरेँ। त्यही रहरले आज मलाई पत्रकारितामा सिक्न, टिक्न र बिक्न सिकाएको छ।

शहर बजारमा अहिले रेडियो सुन्नेभन्दा टीभी हेर्ने र सामाजिक सञ्जालमा भिडिओ हेर्ने ट्रेन्ड बढेको देखिन्छ। तर, अझै पनि गाउँ समाज, दूरदराजमा एकै पटक सञ्चार गर्ने काम रेडियो नै निर्विकल्प माध्यम छ।

कहिल्यै पनि थकानको महसुस नगराउने रेडियो प्रेम साँच्चै मेरो लागि अविस्मरणीय छ। टेलिभिजनमा पनि बोल्ने काम गरेँ तर रेडियो जति मज्जा आएन। तर. पछिल्ला पुस्ताहरू रेडियोप्रति त्यति आकर्षण पाइँदैन। यसको कारण हो रेडियोले जमाना अनुसार आफूलाई कार्यक्रम निर्माण तथा प्रसारणमा नढाल्नु। यसको लागि रेडियो सञ्चालक तथा रेडियोकर्मीहरूले ध्यान दिन ढिला भइसकेको छ। किनकि, रेडियो बाँच्यो, टिक्यो समाजमा बिक्यो भने रेडियो पत्रकारिता पनि बाँच्छ। अनि हामी खबर सुन्दै–सुनाउँदै बाँच्न सक्छौँ।

अझै पनि मभित्र वर्षौंसम्म बाँचिरहनेछ रेडियो रहर। भोगेदेखि सुनेअनुसार रेडियोले सबैलाई मौका दिँदोरहेछ। फरक त्यति मात्र हो कि कोही मौकामा हीरा फोर्छन्। कसैले मौका गुमाउँछन्। रेडियो दिवसको सबैमा शुभकामना।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved