दोस्रो टी-२० मा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो, बन्यो विश्व रेकर्ड

नेपालभ्युज

दोस्रो टी-२० मा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो, बन्यो विश्व रेकर्ड

काठमाण्डौं – वेस्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ ।

गएराती सेन्चुरियनमा भएको खेलमा  रेकर्ड बनाउँदै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हराएको हो । जितको लागि २ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

यो सँगै दक्षिण अफ्रिकाले टी–२० खेल इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ ।

यो टी–२० खेलमा उच्च स्कोर हो । यसअघि टी–२० मा सर्वाधिक ठूलो लक्ष्य अस्ट्रेलियाले पूरा गरेको थियो । अस्ट्रेलियाले सन् २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले यो विश्व कीर्तिमान तोडेको हो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतकीय पारी खेले । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । यो वेस्ट इन्डिजको टी–२० इतिहासकै उच्च योगफल थियो ।

वेस्ट इन्डिजका जोनसन चार्ल्सले १ सय १८ रन बनाए । चार्ल्सले ३९ बलमा शतक प्रहार गरी वेस्ट इन्डिजबाट टी–२० मा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । वेस्ट इन्डिजबाट यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक पूरा गरेका थिए ।

पहिलो खेलमा वेस्ट इन्डिज तीन विकेटले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक खेल मंगलबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved