उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज, फरक लिंग र समूदायबारे अन्योल

निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

नेपालभ्युज

उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज, फरक लिंग र समूदायबारे अन्योल

काठमाडौं। सङ्घीय गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ ।

फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योलका बीच उपराष्ट्रपति पदको मनोनयन दर्ता हुँदै छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको तालिकाबमोजिम शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १३ मा राष्ट्रपति वा उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता भएको तर निर्वाचन परिणाम घोषणा नभएको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतमार्फत आयोगसमक्ष उजुरी दिन सकिने उल्लेख छ ।

आयोगले त्यसबारे निर्णय गर्ने समयसीमा सात दिन तोकिएको छ । तर उक्त विधि पछ्याउँदा निर्वाचन प्रक्रिया लम्बिनेछ ।

उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।

साथै उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।  मतदाता भने सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मात्रै छन् ।

निर्वाचन कार्यक्रमअनुसार शनिबार नै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारको सूची दिउँसो २ देखि ३ बजेभित्र प्रकाशन हुनेछ । शनिबार नै ३ बजेपछि उम्मेदवारविरुद्ध उजुरी दिन पाउने समयसीमा तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले मनोनयनपत्र र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम फागुन २८ गते आइतबार नै हुने जानकारी दिए। उपराष्ट्रपति निर्वाचनको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपति पदमा परेको उम्मेदवारीबारे संविधान र कानुनबमोजिम निर्णय गर्ने बताउनुभयो ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई उपराष्ट्रपति पदको मनोनयन गर्दा निर्वाचित राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनमा भनिएको छ, “फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयन गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा

फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्नुपर्नेछ ।”उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुनेछ । मतदानमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ । 

झा र चौधरी उम्मेदवार 

यसैबीच जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका नेता बीपी साहले जानकारी दिए । नेतृ झा सो पार्टीको सप्तरी जिल्ला इन्चार्ज हुन् । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवारमा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीले उपराष्ट्रपतिको उम्मेदवार घोषाणा गरेका पार्टी अध्यक्ष श्रेष्ठ उमेर हदका कारण भने अयोग्य देखिएकी छिन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार ४५ वर्ष उमेर पूरा नगरेको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि अयोग्य ठहरिने भएपछि उहाँ अयोग्य देखिएक हुन् ।

निर्वाचन आयोगका अनुसार पार्टी अध्यक्ष श्रेष्ठ ३९ वर्ष पुगेकी छिन् । यसै वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने क्रममा पेस भएको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा उहाँको उमेर ३९ वर्ष मात्रै रहेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १५ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनका लागि उम्मेदवारको उमेरको गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved