उपेन्द्रको योजना : रामसहायलाई उपराष्ट्रपति, आफूलाई बारा २ को उपनिर्वाचन

रामसहाय उपेन्द्रको सबैभन्दा प्रिय पात्र हुन् । त्यही भएर उपेन्द्रले उनलाई मौका दिइरहन्छन् । रामसहाय अहिले पार्टीको संसदीय दलका नेता हुन् । आफ्नो प्रिय भएकै कारण उपेन्द्रले पार्टीका वरिष्ठ नेता अशोक राईलाई ‘बाइपास’ गरेर उनलाई नै दलको नेता बनाएका थिए ।

नेपालभ्युज

उपेन्द्रको योजना : रामसहायलाई उपराष्ट्रपति, आफूलाई बारा २ को उपनिर्वाचन

काठमाडौं । आउँदो चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । फागुन १३ गते बनेको नेपाली कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनले उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) लाई दिने सम्भावना छ ।

जसपा नेताहरूकाअनुसार पार्टीभित्र कसलाई पठाउने भन्नेबारे निर्णय भइसकेको छैन । नेता राजेन्द्र श्रेष्ठले भने, ‘कसलाई पठाउने भन्नेबारे निर्णय भइसकेको छैन । पहिले राष्ट्रपतिको निर्वाचन सकाएर मात्रै हामी उपराष्ट्रपतिको कोर्समा प्रवेश गर्छौँ ।’

उनले उपराष्ट्रपति आफूहरुले नै पाउने दाबी पनि गरेका छन्, ‘उपराष्ट्रपतिमा अन्य कसैले दाबी गरेका छैनन्, पाउने हामीले नै हो । कसलाई पठाउने भन्नेबारे हामी चाँडै टुङ्ग्याउँछौँ ।’ उनले भने । कसलाई पठाउने सम्भावना छ भन्ने प्रश्नमा उनले बोल्न चाहेनन् ।

तर गठबन्धनमा जसपालाई उपसभापति दिने सामान्य सहमति भए पनि टुङ्गो लागिसकेको भने छैन । उक्त पदमा माओवादीले पनि दाबी गरिरहेको छ । यसबारे थप छलफल गर्ने सहमति भएको माओवादीका नेता बताउँछन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव भने बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू त्यहीँबाटै उपनिर्वाचन लड्न लड्न चाहन्छन् । उनले यही तयारीका साथ गठबन्धनमा उपराष्ट्रपतिको अडान राखेका छन् ।

जसपाका एक नेताकाअनुसार उपेन्द्रले रामसहायलाई मौखिकरूपमा प्रस्ताव गरिसकेका छन् । ‘उहाँ (उपेन्द्र यादव) ले रामसहायजीलाई मौखिकरूपमा भनिसक्नुभएको छ । सम्भवत: उहाँहरूबीच समझदारी पनि भइसक्यो । पार्टीले आधिकारिक निर्णय भने केही दिनभित्र गर्ला,’ ती नेता भन्छन् ।

उपेन्द्र मंसिर ४ मा भएको निर्वाचनमा पनि बारा २ बाटै निर्वाचन लड्न चाहन्थे । तर, नेकपा (एमाले) सँग समीकरण बनाउँदा उनी सप्तरी २ पुगे । जहाँ उनी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतसँग दोब्बरभन्दा बढी मतले हारे । यसपछि उनले बारा २ बाट उपनिर्वाचन लड्ने चाँजो मिलाउन खोजिरहेका छन् ।

रामसहाय भने पार्टीले गर्ने निर्णय मान्ने बताउँछन् । ‘म बन्ने वा नबन्ने कुरा होइन, पार्टीले जे निर्णय गर्छ त्यहीअनुसार हामी अगाडि बढ्छौँ,’ उनले भने । उनी उपेन्द्रको सबैभन्दा प्रिय पात्र हुन् । त्यही भएर उपेन्द्रले उनलाई मौका दिइरहन्छन् । रामसहाय अहिले पार्टीको संसदीय दलका नेता हुन् । आफ्नो प्रिय भएकै कारण उपेन्द्रले पार्टीका वरिष्ठ नेता अशोक राईलाई ‘बाइपास’ गरेर उनलाई नै दलको नेता बनाएका थिए ।

त्यसो त जसपाभित्र रामसहाय मात्रै त्यस्ता पात्र हुन्, जसले आजसम्म उपेन्द्र यादवको आलोचना गरेका छैनन् । उनी जस्तोसुकै राजनीतिक परिस्थिति आएपनि उपेन्द्रकै कित्तामा उभिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved