फेरि बौरिएला त विवेकशील साझा ?

२०७४ को चुनावमा पाँचौ भएको दल एक चुनावकै अन्तरालमा ३८ औं स्थानमा पुगेको छ । पार्टीका लागि चरम राजनीतिक असहजता उत्पन्न हुँदा र लगभग विघटनको अवस्थामा पुग्दा पनि उनीहरुले प्रथम महाधिवेशन आयोजना गर्ने साहस भने गरेका छन् ।

फेरि बौरिएला त विवेकशील साझा ?

काठमाडौं । विवेकशील–साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा शुक्रबार सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

२०६४ सालमा निर्वाचित पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि उज्ज्वल थापाको नेतृत्वमा सुरुवात भएको ‘ज्याला पूरा लियौं, अब संविधान देउ’ अभियान विस्तारित हुँदै गएपछि विवेकशील नेपाली दलको जन्म भएको थियो ।

यो अभियानलाई थापाले दोस्रो संविधानसभा निर्वाचन–२०७० मा राजनीतिक रुप दिएका थिए । दोस्रो संविधानसभामा कुकुर चिन्ह लिएर उक्त पार्टीका ४ जना उम्मेदवार खडा भएका थिए । तर, यी उम्मेद्वारले खासै राजनीतिक सफलता पाएनन् ।

२०७४ को स्थानीय निर्वाचनको पूर्वसंन्ध्यामा संचारकर्मी रवीन्द्र मिश्रको नेतृत्वमा साझा पार्टी खुलेको थियो । यी दुवै दलले स्थानीय निर्वाचनमा भिन्नाभिन्नै चुनाव लडे । काठमाण्डौं महानगरपालिकाका उम्मेद्वारहरु रन्जु दर्शना र किशोर थापाले उल्लेखनीय मत पाएपछि यी दलको चर्चा चुलिएको थियो ।

त्यसपछि यी दल एकिकृत भइ विवेकशील साझा पार्टी बन्यो । २०७४ को आम निर्वाचनमा २ लाख भन्दा धेरै मत प्राप्त गरी पाँचौ ठूलो दल भएको थियो । संघीय थ्रेसहोल्ड भेट्न सकेन भने बागमतीको प्रादेशिक थ्रेसहोल्ड काटेर ३ जना प्रदेशसभा सदस्य जिताउन सफल भयो ।

त्यसपछि भने यो पार्टीको अधोगति सुरुवात भएको थियो । त्यसको मुख्य कारण ‘विवेकशील पक्ष’ र ‘साझा पक्ष’ मा वैचारिक एकरुपता र कार्यशैलीगत अन्तर्घुलन हुन नसक्नु थियो । रवीन्द्र मिश्र अध्यक्ष र उज्ज्वल थापा संयोजक रहेर भएको पार्टी एकता लामो समय जान सकेन । अन्ततः उज्ज्वल थापा त्यहाँबाट बाहिरिए ।

४२ बर्षीय थापा कोरानाकालमा बितेर गए । उनको निधन हुँदा नेपालको राजनीतिक क्षेत्रमा गहिरो स्तब्धता छाएको थियो । थापाको निधनपछि पार्टीमा आधिकारिकता विवाद सुरु भयो । मिश्र पक्षले पार्टीको बहुमात हासिल गर्यो । तर, हिन्दू राज्य र संघीयता खारेजीका बिषयमा जनमत संग्रह हुनु पर्ने नीति लुम्बिनी बैठकबाट पारित गर्यो । यो निर्णयपछि साझा पक्षका केही महत्वपूर्ण नेता मुमाराम खनाल, सूर्यराज आचार्य, ओमप्रकाश अर्याल लगायतले पार्टी परित्याग गरे ।

त्यहीबीच थापा पक्षको नेतृत्वमा मिलन पाण्डेको उदय भयो । पाण्डेले पुनश्च मिश्रसँग पार्टी एकता गरेका थिए । तर, दोस्रो एकता पनि दीगो हुन सकेन । रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज ल्याउँदै पार्टीलाई ‘मोडरेट कन्जर्भेटिभ’ बनाउने प्रयत्न गर्यो । अध्यक्ष मिश्रको राजनीतिक लाइनलाई चुनौती दिँदै मिलन पाण्डे, केशव दाहाल, रन्जु दर्शना लगायतले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ भन्ने भिन्नै दस्तावेज ल्याए ।

तर, पार्टीभित्र मिश्र पक्षकै बहुमत पुग्यो । पाण्डे पक्ष पार्टीबाट बाहिरन बाध्य भएको थियो । त्यही बीचमा पाण्डे पक्षले पाइला चुनावचिन्ह राखी डमी साझा पार्टी दर्ता गराएको थियो । पार्टीभित्रको बहुमत हासिल गरे पनि गत स्थानीय चुनावको नतिजापछि मिश्र झनै निराश भए । पार्टीले देशभरिबाट जम्मा १ पालिका अध्यक्ष र ३ वडाअध्यक्ष मात्र जित्न सक्यो, त्यो पनि बारा जिल्लामा । अघिल्लो निर्वाचनमा राम्रो मत पाएको काठमाण्डौं उपत्यकामा पार्टीको लज्जाजनक हार भयो । त्यसबाट निरास भएको मिश्र पक्षले राप्रपा प्रवेश गर्ने निर्णय गर्‍यो ।

मिश्रको बहिर्गमनपछि पार्टीको नेतृत्व समीक्षा बाँस्कोटाले लिइन । अर्कोतिर पाण्डे समूह तितरवितर जस्तै भइसकेको थियो । रन्जु दर्शनाले काठमाण्डौं– ५ स्वतन्त्र उम्मेद्वारी दिए पनि जमानत जोगाउन सकिनन् । अन्ततः राप्रपा प्रवेश गरेको मिश्र पक्षलाई छोडेर विकेकशील साझाका बाँस्कोटा र पाण्डे पक्ष फेरि एक ठाउँमा आएका छन् ।

यस बीच धेरै नेता कार्यकर्ताले यो पार्टी छोडिसकेका छन् । पार्टीको सदस्यता संख्या कति छ भन्ने समेत यकिन छैन । निर्देश सिलवाल, संजिव भट्टराईलगायतको एक समूह समेत पार्टीबाट अलग भइसकेको छ । कुनै वेला विवेकशील आन्दोलनका वैचारिक नेता मानिएका गोविन्द नारायण तिम्सिना सक्रिय छैनन् ।

हालै सम्पन्न आम निर्वाचनमा पार्टीले देशभरिबाट जम्मा ४ हजार ४९ मत मात्रै पाएको थियो । कुनै पनि प्रदेशमा थ्रेसहोल्ड काट्न सकेन । २०७४ को चुनावमा पाँचौ भएको दल एक चुनावकै अन्तरालमा ३८ औं स्थानमा पुगेको छ । पार्टीका लागि चरम राजनीतिक असहजता उत्पन्न हुँदा र लगभग विघटनको अवस्थामा पुग्दा पनि उनीहरुले प्रथम महाधिवेशन आयोजना गर्ने साहस भने गरेका छन् ।

तर, पार्टी पूर्वरुपमा पुनश्च बौरिन सक्दछ भन्ने विश्वास भने खासै देखिन्न । एक नेता भन्छन–‘कानुनी प्रक्रिया पूरा गर्न, पार्टीको वैधानिकता जोगाइ राख्न मात्रै यो महाधिवेशन आयोजना गरिएको हो । पार्टीको भबिष्यबारे यसै भन्न सकिन्न ।’ देशको संविधान र राजनीतिक दल सम्बन्धि ऐन अनुृहार प्रत्येक ५ बर्षभित्र महाधिवेशन आयोजना गर्नु अनिवार्य हुन्छ ।

कपितयले पार्टीलाइ विघटन गरी वैकल्पिक राजनीतिको ध्रुविकरण र एकतामा जोड दिन सल्लाह दिएका छन् । महाधिवेशनमा यस पाटोमा समेत छलफल हुने बताइएको छ । पार्टीको नयाँ अध्यक्षका लागि समीक्षा बाँस्कोटा, मिलन पाण्डे र प्रकाशचन्द्र परियारले आकांक्षा राखेका छन् । सर्वसम्मत रुपमा पदाधिकारी चयन हुने सम्भावना पनि छ ।

यसलाई त्यसै समाप्त हुन दिनु भन्दा इतिहासमा आफ्नो भिन्नै छाप बनाएको आन्दोलनको विरासतलाई संगठित गरि वैकल्पिक राजनीतिको बृहत ध्रुविकरणमा योगदान गर्नु उचित हुने अधिकांश नेताहरुको निष्कर्ष छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved