तस्वीरमा उहिलेको पोखरा

तस्वीरमा उहिलेको पोखरा

गण्डकी। कुनै तस्वीर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्वीरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्वीरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ । शुक्रबार प्रदर्शनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्वीरमा टक्क अडिए । किशोरावस्थाकी उनी केहीबेर त्यसमै रोकिइन् । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्वीरले गुरुङको ध्यान तान्यो ।

उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्वीरले मन छोएको उनले सुनाइन् । तस्वीर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिचेका थिए। प्रदर्शनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्वीर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो ? संस्कृति, रहनसहन के थिए ? मानिसहरु के गर्थे ? समाज कस्तो थियो ? तस्वीर आफैँ बोल्छन् ।

तस्वीरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ । तस्वीरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पुर्‍याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्वीरलाई प्रदर्शनीमा राखिएको महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार विदेशी र नेपालीले खिचेका तस्वीर प्रदर्शनीमा छन् ।

“महोत्सवमा आउने दर्शकले तस्वीर प्रदर्शनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्वीर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उनले भने । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्वीरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् । तस्वीर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्वीर प्रदर्शनीमा राखिएको बताए । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ । सन् १९६५ मा पहिलोपटक नेपाल आएका अमेरिकी नागरिक डग हलबाट उनले तस्वीर खिच्न सिकेका थिए ।

‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आएका थिए । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उनले तस्वीर खिचेका थिए । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्वीर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत । “आजभन्दा ६०/७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्वीरहरूमा छ”, उलकले भने, “यी तस्वीर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।”

प्रदर्शनीमा विख्यात भूगर्भविद् टोनी हेगनले खिचेको तस्वीरसमेत राखिएको छ । “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्वीर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्वीर मेरो बुबाका पनि छन्”, उलकले भने । उलकसँग पोखरासँग सम्बन्धित १० हजार तस्वीर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्वीर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्वीर राखिएको उनको भनाइ छ ।

गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ ।

महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । १३ दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आँकलन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved