सेती प्रादेशिक अस्पताल : सेवामा सुधार तर भवन नबन्दा समस्या

नेपालभ्युज

सेती प्रादेशिक अस्पताल : सेवामा सुधार तर भवन नबन्दा समस्या

धनगढी। करिब २८ लाख जनसंख्याको स्वास्थ्य उपचारसँग जोडिएको सुदूरपश्चिमको प्रमुख रेफरल सेती प्रादेशिक अस्पताल पछिल्लो समय सेवा विस्तार थुप्रिँदै गइरहेको छ ।

केही वर्ष पहिले अस्पताल आफैँ बिरामीजस्तो अवस्थामा रहे पनि अहिले सेवा सुधारोन्मुख छ ।

उपचार नपाएर भारत तथा नेपालगञ्ज, काठमाडौं धाउनुपर्ने बाध्यतालाई सेती प्रादेशिक अस्पतालले अन्त्य गर्दै गइरहेको छ । विगतमा जटिल केश आउँदा बाहिर पठाउने गरेको सेती अस्पतालले अहिले आफैले उपचार गरिरहेको छ ।

तत्कालीन जिल्ला अस्पताल कैलालीबाट सुरु भएको यो अस्पताल अञ्चल हुँदै संघीयतामा गएपछि प्रादेशिक अस्पतालमा परिणत भयो । समस्या नै समस्याका बीच चलिरहेको अस्पतालले विस्तारै ठूला–ठूला उपकरणसहित सेवा सुविधा थप्दै गएको छ ।

सुदूरपश्चिमका नागरिकले सामान्य उपचारका लागी पनि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा हालै मात्र सिटि स्क्यान मेसिन पनि सञ्चालनमा आएको छ । सात करोड भन्दा बढी लागतमा अस्पतालले सिटी स्क्यान मेसिन खरिद गरेको हो ।

सुदूरपश्चिमका सरकारी अस्पतालमा पहिलोपटक सिटीस्क्यान सेवा सुरु गरिएको हो । यहाँका अन्य कुनै पनि सरकारी अस्पतालमा यो सुविधा छैन । निजी अस्पतालमा पनि निकै न्यून मात्र सेवा छ । सरकारी अस्पतालमा सुविधा नहुँदा यहाँका बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गराउनुपर्ने बाध्यता थियो ।

दक्ष जनशक्ति अभावका कारण खरिद भएको लामो समयसम्म सञ्चालन नभएको मेसिन मंगलबारबाट सञ्चालनमा आएको छ । यस मेसिनले बाहिरको भन्दा आधा मूल्यमा सिटी स्क्यान सेवा दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले बताए ।

यो बीचमा भएका केही विवादास्पद घटनाक्रमले थोरै निराश जस्तै देखिएका डाक्टर पाण्डेले आफूले मेसुको जिम्मेवारी सम्हालेयता भए गरेका सुधारका कामको बेली बिस्तार सुनाएका छन् ।

दैनिक तथा मासिक कार्ययोजना बनाएरै काममा खटिएका मेसु पाण्डेको टिमले सरसफाईलाई प्राथमिकता राखेको थियो । जथाभावी फालिएको फोहोरले दुर्गन्धित भएको अस्पताल, शौचालय र नालीमा अहिले फोहोर भेटिँँदैन ।

‘पुराना संरचनाको पुनर्निर्माण तथा मर्मत सम्भार गरी शय्या थपेका छौँ, वार्डमा २४सै घण्टा चिकित्सक बस्ने व्यवस्था मिलाएका छौँ । पहिले अस्पतालको परिसरका नाली निकै दुर्गन्धित भएको देखिन्थ्यो, तर अहिले भने फोहोर पास गर्ने नाली अस्पतालमा छन् कि छैनन् भन्ने कुरा छुट्टयाउनै मुस्किल पर्छ ।’

अस्पताल परिसरमा रहेको लास घर पनि व्यवस्थित बन्दै छ । फोहोरै फोहोर हुने अस्पताल अहिले सफा देखिन्छ ।

त्यस्तै, अस्पतालको अर्को ठूलो र महत्त्वपूर्ण काम अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नु पनि हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको झण्डै दुई करोडको लागतमा खरिद गरिएको अक्सिजन प्लान्ट जडान गरी उत्पादन गर्न सुरु गरिएको छ ।

अस्पताल परिसरमै निर्माण गरिएको प्लान्टबाट सबै वार्डमा पाइपमार्फत अक्सिजन पठाइएको छ भने नपुगेका वार्डका लागि सिलिन्डर भरिएको छ ।

अस्पतालले नवजात शिशुका लागि सम्पुर्ण उपचार सेवासहित एनआईसीयू वार्ड पनि सञ्चालनमा ल्याइसकेको छ । हाल नवजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालले १ सयदेखि १ सय ५० जना नवजात शिशुलाई मासिक सेवा दिइरहेको वार्ड इन्चार्ज पशुपति अधिकारीले जानकारी दिइन् ।

अस्पतालले हाल आफ्नै १२ बेडसहित डायलायसिस सेवा दिइरहेको छ । विगतमा निजी संस्थाबाट सेवा पाइरहेका यहाँका बिरामीले हाल सेती प्रादेशिक अस्पतालबाट निःशुल्क डायलायसिस सेवा पाइरहेको वार्ड इन्चार्ज सुनीता रानाले बताइन् ।

पाँच वर्षमा पनि बनेन भवन

सेती प्रादेशिक अस्पतालमा केही सुधार हुँदै गए पनि प्रसूति सेवा नवजात, मातृशिशु, प्रसूति तथा स्त्री रोगको उपचार एकीकृत रूपमा गर्ने योजना भने सफल हुन सकेको छैन । २०७४ कात्तिक २७ गते २१ करोडको लागतमा प्रादेशिक अस्पतालमा दुई तले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न ठेक्का सम्झौता गरे पनि अझै पूरा भएको छैन ।

सम्झौतामा ३० महिनामा निर्माण कम्पनीले सबै काम सम्पन्न गरेर भवन हस्तान्तरण गर्ने उल्लेख छ । तर, ठेक्का भएको ५ वर्षभन्दा बढी भइसक्दा पनि काठमाडौंको रवीना थेगिम जेभीले अस्पताल भवनमा ढलानको काम पूरा गरेको छैन ।

नयाँ भवन तोकिएको समयमा पूरा नगरिँदा अस्पताललाई सेवा विस्तार र विकासमा समस्या भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले बताए । निर्माणाधीन भवनमा ८ ब्लक रहेका छन् ।

भवन सम्पन्न भएपछि अस्पतालको पुरानो भवनमा रहेका प्रसूति, नवजात शिशु, शल्यक्रिया कक्ष लगायतका सबै सेवा त्यहीँबाट दिने योजना थियो ।

अस्पतालमा इमर्जेन्सी भवन निर्माण गर्न संघीय सरकारबाट १६ करोड बजेट आएको छ तर, निर्माणाधीन भवन पूरा नहुँदा अस्पताललाई त्यो बजेट कार्यान्वयन गर्न समस्या हुने भएको छ । त्यस्तै, धनगढीको मुख्य सडकमा परेको अस्पतालको ओपीडी भवन भत्काउनुपर्ने भएको छ ।

पुराना भवन भत्काउँदा अस्पताललाई ओपीडी सेवा सञ्चालनमा समस्या हुने देखिएको छ । नयाँ भवनबाट ओपीडी र प्रसूति सेवा सञ्चालन गर्ने योजना छ ।

अस्पतालमा भौतिक संरचनाको अभाव रहेको भन्दै प्रदेश सरकारले पनि नयाँ भवनका लागि प्रक्रिया थालेको छ। अस्पतालको प्रसूति रहेको क्षेत्रमा दुई अर्बको लगानीमा नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बेसमेन्टसहितको सुविधासम्पन्न भवन निर्माणको प्रक्रियामा प्रदेश सरकार रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved