यायोक्खालाई राष्ट्रिय तथ्यांक कार्यालयले भन्यो- जाति, भाषा र धर्मबारे यकिन हुन बाँकी छ

यायोक्खालाई राष्ट्रिय तथ्यांक कार्यालयले भन्यो- जाति, भाषा र धर्मबारे यकिन हुन बाँकी छ
राष्ट्रिय तथ्यांक कार्यालयका महानिर्देशक नेबिनलाल श्रेष्ठ। तस्वीर : धनबल राई/नेपालभ्यूज ।

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले पुस १३ गते १२औं राष्ट्रिय जनगणनाको परिणाम सार्वजनिक गर्ने तयारी गरेका थियो । तर, नयाँ राजनीतिक ‘सिनारियो’ बनेपछि केही ढिलाइ हुने कार्यालयले जनाएको छ । कार्यालयका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘हामीले प्रधानमन्त्रीज्यूको समय मागिसकेका थियौँ । तर, नयाँ सरकार बनेपछि केही ढिला हुने भएको छ ।’

उनले जाति, भाषा र धर्मबारे यकिन हुन बाँकी नै रहेको पनि बताए । किरात राई यायोक्खा (किराया) का केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा सोमबार थापाथलीस्थित तथ्यांक कार्यालय पुगेको राई समुदायका सदस्यहरूसँग महानिर्देशक श्रेष्ठले भने, ‘१३ गते सार्वजनिक गर्ने भनिएको विवरण पनि जाति, भाषा र धर्मबाहेक विवरण थियो । यो अलिक पछि मात्रै सार्वजनिक गर्ने भनेका थियौँ । यसबारे अहिल्यै यकिन भइसकेको छैन ।’

कार्यालय (तत्कालीन केन्द्रीय तथ्यांक विभाग) ले २०६८ सालको जनगणनामा राई जातिलाई टुक्र्याएको प्रमाण पेश गर्दै यायोक्खाले त्यसलाई सच्याउन माग गरिरहेको छ । तर, कार्यालयले त्यसलाई गम्भीरतपूर्वक नलिएको भन्दै यायोक्खाको नेतृत्वमा २६ वटा भाषिक संस्थाहरू  ‘डेलिगेशन’ गएका थिए । त्यसक्रममा महानिर्देशक श्रेष्ठले राई समुदायलाई टुक्र्याउने कार्यालयको ध्येय नभएको दाबी गरे । ‘राई जातिको मात्रै होइन, अन्य समुदायबाट पनि यसखाले समस्याहरू आएका छन् । यसलाई सौहार्दपूर्ण वातावरणमा टुङ्ग्याउने हाम्रो प्रयास रहनेछ । कुनै पनि समुदायको एकतालाई भङ्ग गर्ने कार्यालयको नियत छैन ।’

यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले पटक-पटक कार्यालयको ध्यानाकर्षण गराउँदा पनि आफूहरूको मुद्दा सम्बोधनमा अटेर भएको बताए । महानिर्देशक श्रेष्ठको सम्बोधनभन्दा अगाडि बोलेका अध्यक्ष राईले भने, ‘केन्द्रीय तथ्यांक विभागले राईहरूको मुद्दालाई गम्भीरपूर्क लिएको देखिएन । यसो हुनु निकै दुखद् हो । सरकार पक्षले कुनै न कुनैरूपमा हेपेको आम राई समुदायको बुझाइ छ ।’

उनले विलम्ब नगरीकन आफूहरूको माग सम्बोधन हुनुपर्ने पनि बताए ।

यस्तै केन्द्रीय महासचिव भीमराज राईले कार्यालयले भाषिक समुदायलाई जातिको रूपमा सूचीकरण गरेको र त्यो अत्यन्तै आपत्तिजनक रहेको बताए । त्यो तत्काल सच्चिनुपर्ने उल्लेख गर्दै उनले प्रश्न गरे, ‘भाषिक समुदायलाई जातिको रूपमा मान्यता कुन आधारमा दिइयो ?’

महासचिव राईले केन्द्रीय तथ्यांक कार्यालयजस्तो जिम्मेवार सरकारको अङ्गले विभेदरहित काम गर्नुपर्ने र कुनै समुदायलाई चिढ्याउने काम गर्न नहुने स्मरण गराए ।

किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले केन्द्रीय तथ्यांक कार्यालयको काम जाति थप्नु वा सूचीकरण गर्नु नभएको स्पष्ट पारे । जाति हुन ६ वटा मान्यताहरू पुग्नुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘यहाँ त नयाँ जाति माग्नेबित्तिकै दिइहाल्ने काम भयाे । यो निकै आपत्तिजनक हो ।’

उदाहरण दिँदै उनले भने, ‘लामिछाने, रेग्मी, उपाध्याय जे लेखेपनि ब्राम्हण भएजस्तो थुलुङ, चाम्लिङ, वाम्बुले जे लेखेपनि त्यो राईभित्र सूचीकृत हुनुपर्छ । यसरी कुरा बुझे यो ठूलो कुरै हुँदैन ।’

राई समुदायको माग सम्बोधन नगरीकनै जनगणनाको परिणाम सार्वजनिक गर्न लागिएको भन्दै यायोक्खा कार्यालय पुगेको थियो ।

कार्यालयले गत माघमा सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार देशको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० रहेको छ । भौगोलिक जनसंख्याका आधारमा हिमाली भेगमा ६.०९ प्रतिशत बसोबास गर्छन् । पहाडमा ४०.२५ प्रतिशत र तराई भूभागमा ५३.६६ प्रतिशत बस्छन् ।

१० वर्षको अन्तरालमा तराईको जनसंख्या ३.३९ प्रतिशतले बढेको छ । त्यसैगरी पहाडको जनसंख्या ०.२४ प्रतिशतले मात्र बढेको देखिन्छ भने हिमालमा ०.६४ प्रतिशतले जनसंख्या घटेको छ । अन्तिम नतिजामा केही थपघट हुने जनाइएको छ ।

जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा १ सय २५ जातजाति, १ सय २३ भाषा, १० वटा धर्म मान्ने समुदाय रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved