छोरीको पहिलो महिनावारीमा उत्सव

नेपालभ्युज

छोरीको पहिलो महिनावारीमा उत्सव

काठमाडौं। महिनावारी मानव निर्मित नभएर प्रकृतिक प्रक्रिया हो । चिकित्सकका अनुसार महिलाको गर्भाशयमा भएको रगत योनीबाट निष्कासन हुने प्रक्रियानै महिनावारी हो। किशोर अवस्थाको सुरुवातसँगै किशोरीहरू महिनावारी हुन थाल्छन् ।

ठाउँ अनुसार कतै छाउपडी, महिनावारी, रजस्वला नाम दिएर महिनावारी बार्न लगाउने प्रचलन नेपाली समाजमा छ । महिनावारीका बेला छोरी–बुहारीलाई भान्छामा प्रवेश निषेध गर्ने, पूजाआजामा रोक लगाउने,पातलो ओढ्ने–ओछ्याउनेसहित भुइँमा सुत्न, अलग्गै बसेर खान र छुट्टै भाँडा माझ्न लगाइन्छ ।

नेपालका ग्रामीण बस्तीहरूमा महिनावारीका समयमा घरभन्दा टाढा रहेका छाउगोठमा पठाउने चलन पनि छ । अझ पहिलो महिनावारी हुँदा त सूर्यको प्रकाश देख्न नहुने, पुरुषको अनुहार हेर्न नहुने, पानी छुन नहुने लगायतका परम्परा पनि छ ।

नयाँ पुस्ताका आमाहरू छोरीहरूलाई सुत्ने कोठा र बिछ्यौना प्रयोग गर्न ‘दिए’ पनि महिनाका चार दिन छोरीले भान्सामा छिर्न नपाउनु, आफ्ना दाजुभाइ र बाबुसँग छुइन नहुने सुनाउँछन् ।

तर, शनिबार एउटा फरक दृश्य देखियो । एक पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा खुसीयाली साटासाट गरेका छन् । राष्ट्रिय समाचार समितिमा कार्यरत प्रकाश सिलवाल र रेडियो नेपालमा कार्यरत यशोदा अधिकारी शिलवालले आफ्नी ११ वर्षीया छोरी प्रयत्नाको पहिलो महिनावारीलाई उत्सवका रूपमा मनाएका छन् ।

केही अभियन्ता र पत्रकारको बीचमा छोरीलाई फूलमाला र टिका लगाएर आर्शिवाद दिएका थिए । २०६३ मा प्रगतिशील विवाह गरेको यो जोडीले समाजमा नयाँ सन्देश दिएको छ ।

प्रकाश सिलवाल भन्छन् ‘ कतिपय ठाउँमा छाउपडी को नाममा छोरीचेलीहरूले यातना खेप्नुपरेको छ, त्यस्ता रुढिवादी परम्परा र विभेदविरुद्ध आवाज उठाउन सकून् भनेर छोरीलाई हौसला मात्र दिएका हौँ । पुरानो पुस्ताको सोच परिवर्तन गर्न कठिन नै हुन्छ, तर पनि हामी प्रयासरत छौँ । महिनावारी पाप होइन उत्सव भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरेको यशोदाको भनाइ छ ।

महिनावारी बार्नु, बार्न लगाइनु मर्यादामाथिको प्रहार र दण्डनीय अपराध नै हो भन्ने कतिपय महिलालाई थाहै नभएको उनले सुनाइन् । कार्यक्रममा सहभागी मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले महिनावारी हुँदैमा पूजाआजामा सहभागी हुन नपाउनु ऊमाथिको अमर्यादित व्यवहार भएको बताइन् ।

अन्य समयसरह सबै काममा सहभागी हुन पाउनु महिलाको अधिकार भएको बताइन् । महिनावारीलाई मर्यादित बनाउन सबैले पहल गर्नुपर्नेमा उनले जोड दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved