स्याङ्जा-२ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष कांग्रेसको आग्रह

नेपालभ्युज

स्याङ्जा-२ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष कांग्रेसको आग्रह

काठमाडौं।  नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

मंगलबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्।

त्यस्तै, बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ। कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेट गरी मत गणना सुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।

प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य सुरु गर्न आग्रह गरिएको बताए। उनले स्याङ्जा २ मा विधिवत् रूपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए।

निर्वाचनको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए। ‘स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ। त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरूको भोट खसेको छ’ उनले भने, ‘अर्को कुरा त्यसलाई विधिवत रूपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरूले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन।’

स्याङ्जा २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय सल्लाह दिइसकेकाले निर्वाचन आयोगले मत गणना सुरु गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved