नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले) को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गरेका हुन् । कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाए । नवलपुरको निर्वाचन क्षेत्र नं २ बाट २०४८ को चुनावमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित भएका थिए ।
त्यसैगरी २०५१ को मध्यावधि चुनावमा एमालेका चन्द्रमणि खराल र २०५६ सालमा भएको आमचुनावमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित भए । पहिलो संविधानसभा सदस्यको चुनाव २०६४ मा एमाले तेस्रो शक्ति बन्दासमेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए ।
त्यसैगरी दोस्रो संविधानसभा सदस्यको चुनाव २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आम चुनाव २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री निर्वाचित भएका थिए । उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार कार्कीसँग दुई हजारभन्दा बढी मतान्तरले पराजित भए । एमालेको तीन दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसीले बताएका छन् ।
Facebook Comment
Comment