काठमाडौं। नेकपा एमालेबाट काठमाडौं–५ (ख) का उम्मेदवार दीपक निरौलाले आफूलाई पैसा दिएको भन्दै आएका समाचारको खण्डन गर्दै बूढानीलकण्ठ– ६ का तोकमान लामा मिडियामा आएका छन्।
एक भिडियोमा उनले बताएअनुसार, आफ्नै निम्तोमा उम्मेदवार निरौला लामाको घरमा पुगेका थिए । तर केही मान्छे आएर हल्ला गरी पैसा बाँडेको आरोप लगाएको लामाको दाबी छ ।
उनले आफू क्यान्सरपीडित भए पनि आर्थिक रूपमा कमजोर नभएको बताए । ‘मसँग सुतीसुती खान पुग्ने सम्पत्ति छ, म पैसामा भोट बेच्ने मान्छे होइन’, उनले भने ।
नेकपा एमाले काठमाडौं ५ को निर्वाचन परिचालन कमिटीले पनि सुनियोजित तरिकाले उम्मेदवारलाई बदनाम गराउन खोजिएको भन्दै विज्ञप्ति निकालेको थियो ।
हिजो राति बूढानीलकण्ठ नगरपालिका–६ स्थित लामाको घरबाहिरबाट उम्मेदवार निरौलासहित बूढानीलकण्ठ– ६ का वडाध्यक्ष रवि खड्का र नगर कमिटी अध्यक्ष प्रदीप डंगोललाई केही घण्टा नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा हाल्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।
Facebook Comment
Comment