जनार्दन र गोपालजी : विगतमा बोली बाराबार, अहिले चुनावी कमान्डर

दुवै नेताबीच खुलेर कुराकानी भएको र भेटमा हँसिलो अनुहार लगाएको दृष्य त निकै दुर्लभ थियो। एक-अर्काबीचको इगो हेर्दा लाग्थ्यो, शर्मा र शाहबीचको सम्बन्ध सुध्रनु असम्भव जस्तै हो । तर, तीन दशकदेखिका चुनावी प्रतिस्पर्धी शाह अहिले जनार्दन शर्माका चुनावी कमान्डर बनेका छन् ।

जनार्दन र गोपालजी : विगतमा बोली बाराबार, अहिले चुनावी कमान्डर

सुर्खेत। अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता गोपालजी जङ्ग शाहबीच केही समय अघिसम्म बोली बारबारको अवस्था थियो । दुवै नेताबीच खुलेर कुराकानी भएको र भेटमा हँसिलो अनुहार लगाएको दृष्य त निकै दुर्लभ थियो। एक-अर्काबीचको इगो हेर्दा लाग्थ्यो, शर्मा र शाहबीचको सम्बन्ध सुध्रनु असम्भव जस्तै हो ।

तर, तीन दशकदेखिका चुनावी प्रतिस्पर्धी शाह अहिले जनार्दन शर्माका चुनावी कमान्डर बनेका छन् । शर्मा र शाह चुनावी मैदानमा २०४८ सालमा पहिलोपटक भिडेका थिए । त्यो बेला राष्ट्रिय जनमोर्चाका उम्मेदवार रहेका शर्मालाई शाहले पराजित गरे ।

माओवादी युद्धमा सामेल भएर शान्तिकालमा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता शर्माले कांग्रेसका प्रेमप्रकाश ओलीलाई पराजय गरे । तर, २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा शर्माका मुख्य प्रतिस्पर्धी गोपालजीजंग शाह रहे । दुवैपटक शाहलाई  शर्माले पराजित गरे ।

२०७४ सालयता पछि पनि दुवै नेताको सम्बन्धमा सुधार आएन । झन् गठबन्धनले माओवादीका शर्मालाई नै उम्मेदवार बनाउने भएपछि त जिल्लामा भाँडभैलो नै भयो । तर, कात्तिक महिनाको पहिलो हप्तादेखि भने अवस्था फेरियो । दुवै नेता एक अर्कासँग नजिक हुन थाले।

अहिले त जनार्दन शर्माका चुनावी कमान्डर नै शाह बनेका छन् । विगतमा एक-अर्काका चर्को आलोचना गर्ने शर्मा र शाह अहिले एउटै मञ्चबाट चुनावी प्रचार गर्न थालेका छन् । शाहले शर्मालाई मत मागिरहेका छन् ।

मयुर नाच नाच्दै जनार्दन शर्मा र गोपालजंगजी शाह

विगत भुलेर अघि बढ्नुपर्छ

२०४८ सालदेखि प्रतिस्पर्धा गर्दै आएका शर्मा र शाहबीचको सम्बन्ध निर्वाचनमा मात्र होइन अन्य समयमा पनि खास राम्रो हुन सकेको थिएन । सार्वजनिक कार्यक्रममा एक-अर्काप्रति खरो प्रतिवाद गर्ने उनीहरू अहिले एक अर्काको प्रशंसा गरेर नथाक्ने अवस्था रहेका छन् । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने र हिजो एकअर्कालाई हराउन लागे पनि आज शर्मालाई जिताउन लागिपरेको शाहले बताए ।

‘प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिममा पहिलोपटक नेपाली कांग्रेस उम्मेदवारविहीन भएको छ’ उनले भने, ‘मैले शान्तिका लागि पनि माओवादीका उम्मेदवार शर्मालाई जिताउनका लागि चुनावी प्रचारको कमान्डर बनेको हुँ ।’ नेपाली कांग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको समझदारीले शान्तिवार्ता सम्पन्न भएको र अहिले रुकुममा पनि माओवादी र कांग्रेस मिलेर एकताको सन्देश दिन खोजेको शाहको भनाइ छ ।

शर्मा बलियो अवस्थामा

स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा माओवादीसँग ३६ हजार दुई सय ९० मत छ भने कांग्रेसको मत २६ हजार ६ सय १९ मत रहेको छ । एमालेले ६ हजार ९१ मत पाउँदा राप्रपाको मत एक सय आठ मत छ । एकीकृत समाजवादीको मत एक सय ३० मात्र छ । गठबन्धनको कुल मत ६३ हजार ३९ पुग्दा एमालेको मत ६ हजार ९१ मात्र छ । रुकुम (पश्चिम)मा एक लाख चार हजार २८० मतदाता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved