विराटनगर। मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाएको पुष्टि गरे । ‘मानबहादुर लिम्बूले टिकट पाउनु भएको छ,’ रायमाझीले भने, ‘मनोनयनको तयारी भइरहेको छ ।’ लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने भएका छन् ।
थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए ।
Facebook Comment
Comment