मुगु : गठबन्धनका शाही र एमालेका कार्कीबीच कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्की (राजु) र राजबहादुर मल्ल प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा रहेका छन् । एमालेबाट असन्तुष्टि जनाउँदै कृष्णबहादुर सेजुवाल र भीमचन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मुगु : गठबन्धनका शाही र एमालेका कार्कीबीच कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सुर्खेत। एउटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको मुगु जिल्लामा सत्ता गठबन्धन दल र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको मुगुमा मुख्यगरी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले र राप्रपाका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्की (राजु) र राजबहादुर मल्ल प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा रहेका छन् । एमालेबाट असन्तुष्टि जनाउँदै कृष्णबहादुर सेजुवाल र भीमचन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका शाही २०७० को संविधानसभा निर्वाचनमा एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । २०७४ सालको निर्वाचनमा हाल एकीकृत समाजवादीमा रहेका गोपालबहादुर बम १३ हजार ३४ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८६१ मत पाएका थिए ।

बम हाल एकीकृत समाजवादीबाट मुगु प्रदेशसभा ‘क’बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।

मुगुमा गठबन्धन दल र एमालेबीच मात्र प्रतिस्पर्धा हुने देखिएको छ । शाही कांग्रेसबाट दोस्रो पटक चुनाव लड्न लागेका हुन् । एमालेका उम्मेदवार रहेका कार्की पहिलोपटक चुनाव लड्दै छन् । यद्यपि, कार्कीको विगत भने अस्थिर छ । उनी सुरुमा कांग्रेस, त्यसपछि राजावादी, माओवादी हुँदै दुई वर्षअघि एमालेमा प्रवेश गरेका हुन् ।

पार्टीले कार्कीलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै एमालेका जिल्लास्तरका नेता सेजुवाल र हमालले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तहमा यस्तो छ अवस्था

चार वडा स्थानीय तह रहेको मुगुमा ४५ वडा रहेका छन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले १८ वडा, एमालेले १६, माओवादी केन्द्रले ७ र एकीकृत समाजवादीले १ वडामा जित निकालेका थिए ।

कांग्रेसले २ पालिका प्रमुख र ३ पालिका उपाध्यक्ष जितेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले एक-एक पालिका जितेका छन् । स्थानीय निर्वाचनको परिणामअनुसार एमालेको नौ हजार ८५१, एकीकृत समाजवादीsJ पाँच हजार ६०१, कांग्रेसको ६ हजार १८१ र माओवादी केन्द्रको चार हजार ७७० मत छ ।

त्यस आधारमा एमालेभन्दा गठबन्धनमा रहेका दलको मत झन्डै ८ हजार ५ सय मतले बढि देखिन्छ ।

यस्तो छ प्रदेशसभामा

२०७४ सालको निर्वाचनमा वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा एमाले विजयी भएको थियो ।

प्रदेशसभा ‘ख’ मा एमालेका दानसिंह परियार ५ हजार ६ सय ५३ मतले विजयी हुँदा कांग्रेसका तिलकबहादुर मल्ल ५ हजार २ सय ९९ मत ल्याएर पराजित भएका थिए । अहिले उक्त क्षेत्रमा गठबन्धन दलले एकीकृत समाजवादीका गोपाल बमलाई साझा उम्मेदवार बनाएको छ । एमालेले पार्टीका जिल्ला अध्यक्ष जितबहादुर मल्ललाई उतारेको छ ।

प्रदेशसभा ‘ख’ मा एमालेका चन्द्रबहादुर शाहीले ६ हजार ८ सय ४५ मत ल्याएर चुनाव जित्दा कांग्रेसका खड्गबहादुर शाहीले ४ हजार ६ सय १२ मत मात्र पाएका थिए । यसपटक गठबन्धनकातर्फबाट माओवादी जिल्ला संयोजक मंगलबहादुर शाही र एमालेका कर्णबहादुर मल्ल चुनावी प्रतिस्पर्धा छन् ।

एमालेबाट विजयी भएका शाही अहिले एकीकृत समाजवादीमा रहेका छन् । उनी कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् ।

के भन्छन् उम्मेदवार ?

गठबन्धनबाट प्रतिनिधिसभाा उम्मेदवार बनेका कांग्रेसका शाहीले आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘हामीलाई गठबन्धन दलको साथ रहेको छ । अर्कोतर्फ जिल्लामा कांग्रेसको बलियो संगठन पनि छ ।’ उनले भने, ‘यो पटक निर्वाचनमा मैले जित्नेमा कुनै शंका छैन ।

एमालेका उम्मेदवार कार्कीले एमालेको संगठन बलियो भएकाले आफूले जित्ने दाबी गरे । ‘मलाई मुगाली जनताको पूर्ण विश्वास छ ।’ उनले भने, ‘अर्कोतर्फ म यो जिल्लाको कुनै पनि दाग नलागेको व्यक्ति हुँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved