छैटौंपटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेयलाई ठाकुर गैरेको चुनौती !

पाल्पा क्षेत्र नम्बर २ मा चुनावी प्रतिष्पर्धा निकै रोचक देखिएको छ । सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन् । यस्तै, पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

नेपालभ्युज

छैटौंपटक उम्मेदवार बनेका सोमप्रसाद पाण्डेयलाई ठाकुर गैरेको चुनौती !

पाल्पा। पाल्पा क्षेत्र नम्बर २ मा चुनावी प्रतिष्पर्धा निकै रोचक देखिएको छ । सोमप्रसाद पाण्डेय छैटौंपटक चुनावी मैदानमा छन् । उनि २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् ।

“सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ”, पाल्पा क्षेत्र नं २ मा पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहेका पाण्डेयले भने, “यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।” विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरे ।

क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डेय विजयी भएका थिए । उनि त्यतिबेला एमालेमै थिए । विसं २०६४ मा उनि नेकपा माओवादीकी लीला सोमैसँग उनि पराजित भएका थिए ।

यस्तै पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका गैरेले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन् ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डेय र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् । पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवैजनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डेय र गैरेकै बीच हुने देखिन्छ । सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन् ।

क्षेत्र नं १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैको चुनावी एजेण्डा ‘विद्युतीकरण’ रहेको छ । निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन । यहाँका नागरिक टुकीमाथि निर्भर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved