काठमाडौं। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ।
निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन भइरहेको हो। योमध्ये केही जनशक्ति परिचालन भइसकेको छ।
समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषद्को सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ।
२५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १-१ जनासहित ९ जना, २५१ देखि ५०० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १-१ जनासहित ११ जना कर्मचारी रहनेछन्।
५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप १ जना स्वयंसेवक रहनेछन्। कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था रहेको छ।
मतदान केन्द्र सम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा ५ दिनको लागि मतदान केन्द्रको आधारमा लेखापाल वा सह लेखापाललाई काजमा ल्याउन सक्नेछ।
मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनको लागि मतदाता संख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्नेछ।
सोका लागि १५ हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रको लागि एक जना, १५ हजार एकदेखि ३० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि २ जना, ३० हजार १ देखि ४५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि ३ जना, ४५ हजार १ देखि ६० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि ४ जना, ६० हजार १ देखि ७५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि ५ जना, ७५ हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रको लागि ६ जना कर्मचारी काजमा ल्याउन सकिनेछ।
Facebook Comment
Comment