राजु गुरुङ उम्मेदवारी खारेजीको विरुद्धमा सर्वोच्च जाँदै

नेपालभ्युज

राजु गुरुङ उम्मेदवारी खारेजीको विरुद्धमा सर्वोच्च जाँदै

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको विरूद्धमा रुपन्देही क्षेत्र नं. २ का गठबन्धनतर्फका उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत जाने भएका छन्।

आयोगमा कसैले उजुरी नगरेको र अदालतमा विचारधीन मुद्दाको विषयलाई आधार बनाएर नियोजित रूपमा आयोगले उम्मेदवारी खारेज गरेको भन्दै गुरुङ सर्वोच्च जाने भएका हुन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनेका गुरुङको उम्मेदवारी आयोगले खारेज गरेको छ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विकले आयोगले विना उजुरी जाँचबुझको नाममा अदालतमा विचाराधीन रहेको मुद्दालाई निहुँ बनाएर उम्मेदवारी खारेज गरेकाले सर्वोच्च जान लागेको बताए। बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगको सूचनामा उल्लेख छ। आयोगले बैंकिङ कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर उनी शेयर सदस्य मात्र भएको विकले बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार फौजदारी अभियोगमा कसुर ठहर भएका उम्मेदवार हुन नपाउने उल्लेख छ। तर, गुरुङको मुद्दा भने देवानी अर्थात् व्यक्तिवादी मुद्दा भएको र उच्च अदालत पाटनमा विचाराधीन रहेकाले आकर्षित नहुने कानुनविद् बताउँछन्।

निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक अनादर भएपछि गुरुङसहित पाँच जना सञ्चालक रहेको कम्पनीलाई कालोसूचीमा राखेको थियो।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ। गुरुङसहित तीनैजना रुपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धामा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved