अचम्मका देउता: दुध बेच्दा रिसाउने, घ्यू बेच्दा नरिसाउने!

अचम्मका देउता: दुध बेच्दा रिसाउने, घ्यू बेच्दा नरिसाउने!

सुर्खेत। कालीकोट नरहरिनाथ गाउँपालिकामा एक घर एक भैंसी अनिवार्य रुपमा पाल्ने गरिएको छ। पराम्परादेखि नै अनिवार्य रुपमा एउटा घर परिवार एउटा भैंसी हुनु अनिवार्य जस्तै छ।

कृषिमा आधारित गाउँपालिका भएकाले लालु, माल्कोट, कोटवाडा, कुमालगाउँ र रुप्सा गाउँमा मल बनाउन र दुध, दही खानका लागि एउटा घरमा एउटा भैंसी अनिवार्य पाल्ने गरिन्छ। यी गाउँहरू पुरै कृषिमा आधारित भएकाले गाउँमा अनिवार्य एउटा घरमा एउटा भैंसी एक हल गोरु अनिवार्य पाल्ने गरेको नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालु गाउँका पाका बयोबृद्ध भैरबहादुर शाहीले बताए।

अनौठो चलन के रहेको छ भने गाउँमा दुध भने एक थोपा पनि बेच्ने गरिएको छैन्। धार्मिक मान्यता अनुसार भैंसीको दुध बेच्दा देउता रिसाउने मान्यता भएकाले बेच्ने चलन नभएको हो। देवता रिसाउने भनेर गाउँमा दुध, दही बेच्ने चलन नभएको नरहरिनाथ गाउँपालिका-९ लालु गाउँमा मुखिया देवेन्द्रबहादुर शाहीले बताए।

‘धार्मिक मान्यता अनुसार दुध, दही बेच्दा देउता रिसाएर भैंसीले दुध दिन्न भन्ने मान्यता छ’, उनले भने,‘त्यो चलन हटाउन लामो समय लाग्छ।’ किसानले दुध नबेच्दा चिया पसलहरूमा दुध चिया पाउन मुस्किल हुने गरेको नरहरिनाथ-१ का स्थानीय तथा पूर्व जिल्ला विकास समिति कालीकोटका सदस्य कटकबहादुर बिष्टले बताए।

‘घरमा पाहुँना आए त सबैले दुध दही तथा चिया पाउँछन्।’ उनले भने,‘गाउँमा रहेका चिया पसलमा दुध दही तथा दुध चिया पाउन मुस्किल छ।’ नरहरिनाथमा धेरै दुध, दही तथा उत्पादन हुने गरेको भएपनि धार्मिक मान्यताका आधारमा बिक्रि वितरणमा समस्या रहेको नरहरिनाथ-१ का शिक्षक शेरबहादुर बिष्टले बताए।

‘दुध बेच्दा देवता रिसाउँछन् भन्ने धार्मिक मान्यता रहेको छ। त्यो भएर भैंसीको दुध र दही बेचिदैन्।’ उनले भने,‘घरमा पाहुँना आए दुध, दही दिन कुनै अप्ठयारो छैन्। तर, बेच्ने चलन छैन्। घ्यू मात्र बेच्ने चलन रहेको छ।’ उनका अनुसार दुध बेच्दा रिसाउने देउता घ्यू बेच्दा भने रिसाउँदैनन्।

दुध बेच्ने चलन नभएका कारणले गाउँपालिकामा कति दुध दही उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क नभएको गाउँपालिकाले जनाएको छ। पहिले पहिले यहाँका किसान घ्यू बेच्न बर्दियाको राजापुर र कैलालीको चिसापानी जाने चलन थियो।

अहिले नजिकै सडक बनेकाले घ्यू बेच्न टाढा जानु पर्दैन। विगतमा घ्यू बेचेर नै लुगाफाटो, नुन, तेल र साबुन किन्ने चलन रहेकोमा अहिले त्यो चलन हराएको छ।

पहिले यी गाउँहरूमा जसले धेरै भैंसी पाल्यो उसलाई धनी ब्यक्तिको रुपमा चिन्ने गरिन्थ्यो। धेरै भैंसी पाल्ने प्रचलन हराउँदै गएको नरहरिनाथ-५ रुप्साका स्थानीय तथा नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारीले बताए।

‘पहिले पहिले धेरै पशुपालन गर्नेलाई गाउँकै धनीका रुपमा हेरिन्थ्यो,’ उनले भने, ‘त्यो चलन करिब करिब हरायो। अहिले प्राय सबै घरमा एउटा मात्रै भैंसी छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved