गौरा पर्वको महत्वपूर्ण दिन ‘अठेवाली’ मनाइयो

गौरा पर्वको महत्वपूर्ण दिन ‘अठेवाली’ मनाइयो

कञ्चनपुर । गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइएको छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुबो धागो’ लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीले आजकै दिन धारण गर्दछन् । दुबो धागो ग्रहण गरेका महिलालाई पवित्र मानिन्छ ।

‘दुबो धागो धारण गरेका महिलालाई भात भान्सा गर्ने पहिलो अधिकार रहन्छ’, पार्वती साहुले भने, ‘यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । दुबो धागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहन्छ ।’ बिहानै खोला तलाउनमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याइ शृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर परम्परागत नृत्य गरिएको उनले बताए ।

आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार धर्मानन्द जोशीले बताए । उनका अनुसार अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।

यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । ‘पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिकरुपमा बिरुडा भिजाउने चलन थियो’, जोशीले भने, ‘अहिले बासिन्दाले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घर घरमा भिजाउने गरेका छन् ।’

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाए झैँ अविवाहित युवती शिव झैँ पति पाउन भनी व्रत बसेको अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।

धुमारी र ढुस्को र ठाडोमा खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथाहरु भन्ने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने गौराको बिसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् । भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुनः भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीहरूले खेतबारीबाट धान, साहुलगायत बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।

गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक महेश्वर मानेर राख्ने गरिन्छ । ‘यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन्’, हेमराज पाण्डेयले भने, ‘कसैले फलाहार गर्छन्, महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् ।’ अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ ।

अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को र देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषले विशेष गरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् । महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

अठेवालीका दिन पुरुषले आफ्नो जनैसमेत फेर्ने गर्छन् भने व्रत बसेका महिलाले नयाँ दुबोधागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुर्सदिला हुँदा दिउँसो खाना खाएर सबै जना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । गौरामा धनी गरिब भनिँदैन, सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम दिन बाजागाजासहित जलशय वा नदी किनारमा गौरा विर्सजन गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved