फिल्म सुटिङका नाममा भिसा माग्दा पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग, मानव तस्करीको आशंका

भारतस्थित नर्वेजियन दूतावासले नेपालको पर्यटन बोर्डसँग पत्राचार गर्दै निवेदनको तथ्यबारे सोध्यो। तर, यता बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको र सिफारिससमेत नगरेको भन्दै जवाफ पठायो। फिल्म सुटिङको लागि जान भन्दै बोर्डको नामको सिफारिससमेत नक्कली भएको खुल्यो। बोर्डको मास्टर हेड रहेको कागजपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको नक्कली हस्ताक्षर भेटियो।

नेपालभ्युज

फिल्म सुटिङका नाममा भिसा माग्दा पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग, मानव तस्करीको आशंका

काठमाडौं। भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको घटना नयाँ होइन, तर विदेशमा फिल्म सुटिङको लागि जाने भन्दै मानव तस्करी गर्ने गिरोह पनि सक्रिय रहेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पारेर सेटिङ मिलाई भिजिट भिसामा पठाउँदा कडाइ गरिएपछि कलाकारिताको आडमा तस्करीको नयाँ माध्यम अपनाउन थालिएको अनुमान गरिएको छ ।

कतिपय युवालाई जानाजान श्रम स्वीकृति नलिएर भिजिट भिसामा तस्करले विभिन्न देशमा पठाउँथे। तर, पछिल्लो समय भिजिट भिसामा पनि कडाइ गरिएपछि फिल्म सुटिङको लागि स्पट ब्वाई लगायतका विभिन्न काम गर्ने भन्दै नयाँ शैलीमा युरोपका विभिन्न ठाउँमा पठाइन थालेको पाइएको छ। चलेका केही कलाकारको नाम जोडेर बाँकीलाई भने फिल्मको प्राविधिक भन्दै नक्कली कागजातका आधारमा भिसा माग गरिएको खुलासा भएको छ।

एक दूतावासमा नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर भिजा निवेदन दिइएको पाइएपछि यस्तो रहस्य खुलेको हो। आफ्नो संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरेर नर्वेजियन दूतावासमा भिसाको लागि आवेदन दिएको पाइएपछि नेपाल पर्यटन बोर्डले प्रहरी गुहारेको छ।

यसरी खुल्यो रहस्य

भारतमा रहेको नर्वेजियन दूतावासमा नेपालको एक फिल्म युनिटले भिसा आवेदन दियो। ‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै निवेदन दिइएको पाइएको छ । फिल्म सुटिङका लागि नेपालको पर्यटन बोर्डले समेत जान सिफारिस गरेको भन्दै पर्यटन बोर्डको पत्र नम्बर ३०९–२०७८\७९ को कागजात पेस गरियो।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालय

फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ, जसमा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम छ। निर्माताले भिसाका लागि आवेदन गरेको भए पनि फिल्म निर्माणका लागि प्रयोग भएको कागजातका सम्बन्धमा कलाकार जानकार नहुन पनि सक्छन्।

भारतस्थित नर्वे दूतावासले नेपालको पर्यटन बोर्डसँग पत्राचार गर्दै निवेदनको तथ्यबारे सोध्यो। तर, फिल्म सुटिङको लागि जानका लागि भन्दै बोर्डको नामको सिफारिस नक्कली कागजपत्र भएको रहस्य खुल्यो। 

भिसा निवेदन आएपछि नर्वे दूतावासका अधिकारीलाई शंका भयो –के साँच्चिकै फिल्म सुटिङकै लागि भिसा माग गरिएको हो त ?
भारतस्थित नर्वेजियन दूतावासले नेपालको पर्यटन बोर्डसँग पत्राचार गर्दै निवेदनको तथ्य बारे सोध्यो। तर, यता बोर्डले कुनै पनि फिल्म सुटिङको लागि अनुमति नमागेको र सिफारिससमेत नगरेको भन्दै जवाफ पठायो। फिल्म सुटिङको लागि जान भन्दै बोर्डको नामको सिफारिससमेत नक्कली भएको खुल्यो। बोर्डको मास्टर हेड रहेको कागजपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको नक्कली हस्ताक्षर भेटियो।

बोर्डका अधिकारी नर्वेजियन दूतावासले आफूलाई पठाएको नक्कली सिफारिससमेत किर्ते गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गएका छन्।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी रेग्मीले नेपाल भ्युजसँग भने, ‘‘बोर्डको लेटर प्याड र मेरो हस्ताक्षर प्रयोग भएको रहेछ। तर, हामीले कुनै पनि फिल्मको लागि सिफारिस दिएका छैनौँ। यो किर्ते कसले गरिरहेको छ र यसलाई कारबाहीको माग गर्दै अनुसन्धानको लागि निवेदन दिएका छौँ।’’

नक्कली डकुमेन्ट भन्ने खुलेपछि भिसा क्यान्सिल

नर्वेजियन दूतावासमा दिइएको आवेदनमा फिल्म ब्लु बर्ड एचडी प्राइभेट लिमिटेडले बनाउन लागेको जनाइएको छ। फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ।

रोशन पराजुली नाम राखिएको फिल्म निर्माताले भिसाका लागि आवेदन दिएका हुन्। तर, कागजातका सम्बन्धमा कलाकार जानकार नहुन पनि सक्छन्। फिल्मको निर्देशकमा भने दीपकप्रसाद आचार्यको नाम छ। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको छ।

अनुसन्धान हुँदै

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले पर्यटन बोर्डको उजुरीमाथि अनुसन्धान भइरहेको बताएको छ। ब्युरोका प्रवक्ता समेत रहेका एसपी कमल थापाले भने, ‘‘पर्यटन बोर्डले दिएको पत्रमाथि अनुसन्धान गरिरहेका छौँ। सरकारी पत्र दुरुपयोग मात्र होइन, फिल्मका नाममा मानव तस्करीसमेत हुनसक्ने आश‌ंका छ। यसबारे गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved