प्रधानमन्त्री र लोसपाका नेताबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

नेपालभ्युज

प्रधानमन्त्री र लोसपाका नेताबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटवार्तामा आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल  भएको थियो ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार  छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको थियो । महतोले भने, ‘नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ’ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराए ।  पाँचदलीय गठबन्धन तथा सरकारमा सहभागी  हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताइएको छ ।

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो ।

निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved