बेरुजुका बारेमा गलत समाचार सम्प्रेषण भएको भन्दै सुनकोशी गाउँपालिकाको आपत्ति

नेपालभ्युज

बेरुजुका बारेमा गलत समाचार सम्प्रेषण भएको भन्दै सुनकोशी गाउँपालिकाको आपत्ति

काठमाडौं। फर्छ्योट भइसकेको बेरुजुका बारेमा समाचार प्रकाशित गरिएको भन्दै ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आपत्ति जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले आज एक विज्ञप्ति जारी गर्दै बेरुजु रकम गत आर्थिक वर्षमा नै फर्छ्योट भइसकेको भन्दै समाचारको खण्डन गरेका हुन्।

भ्रमपूर्ण समाचार सम्प्रेषण गर्दा विद्युतीय अपराध ऐन÷प्रेस काउन्सिल ऐन बर्खिलाप हुने भन्दै यस्ता समाचार सम्प्रेषण नगर्नु नगराउनुहुन अपिल गरिएको छ।

‘‘महालेखा परीक्षकले लेखा परीक्षणका क्रममा देखिएका सुधार गर्नुपर्ने विषयमा सुझाव दिनु र सुझावका आधारमा कार्यालयले सम्परीक्षण गरेर काम गर्नु नियमित प्रक्रिया हो,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘यससँग सम्बन्धित कागजात गम्भीरतापूर्वक अध्ययन गरेर मात्र आफ्नो धारणा बनाउन साथै हल्का टिप्पणी गर्दै विद्युतीय अपराध ऐन÷प्रेस काउन्सिल ऐन बर्खिलाप हुने गरी भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्नु नगराउनुहुन अपिल गर्दै तथ्यहीन समाचारको विश्वास नगर्नुहुन समेत सबैमा अनुरोध छ।’’

बेरुजु रकम गत आर्थिक वर्षमा नै फर्छ्योट भइसकेको गाउँपालिकाले जनाएको छ। ‘‘महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुझाव र निर्देशनका आधारमा असुलउपर गर्नुपर्ने भनिएको रकम सरकारी राजस्व खातामा गत आर्थिक वर्षमा नै जम्मा गरी यस कार्यालयमा सक्कलै भौचर प्राप्त भएको र बेरुजु फर्छ्योट भई मलेपको पछिल्लो प्रतिवेदनमासमेत उक्त बेरुजु उल्लेख नभएको विषयलाई लिएर व्यक्तिको चरित्रहत्या गर्ने दुरासयले समाचार सम्प्रेषण भएको छ,’’ गाउँपालिकाले विज्ञप्तिमा भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved