एसईई नतिजा साउन १० गते सार्वजनिक गर्ने तयारी

नेपालभ्युज

एसईई नतिजा साउन १० गते सार्वजनिक गर्ने तयारी
सांकेतिक तस्वीर

काठमाडौं। ५ साउन। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको जानकारी दिए।
उनले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कामलाई कडाइका साथ निगरानी गरिरहेको बताए।
अध्यक्ष शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भिड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरि धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने काम भइरहेको छ ।’

शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक–शिक्षिका चुनावमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उनको भनाइ छ ।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्ने बताए ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved