कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपालभ्युज

कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
काठमाडौँ, ५ साउन। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।
गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो आह्वान गरेका हुन्। उनले कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्राउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए।
उनले भने, “मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईँलाई यो उपयुक्त अवसर हो । प्रत्येक मुलुकको वा सहरको समूहहरू बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरूमा लगानी विस्तार गर्नुहोस् । तपाईँले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ।”
उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए।
 “नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईँहरूको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईँहरूसँगै हुनेछौ । यहाँहरूलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरूलाई प्रतिविद्धतासमेत जनाउन चाहन्छु,” उनले भने।
उनले नेपालको अर्थतन्त्रका केही सूचकहरू नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए। “नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलङ्का ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौ । अर्को कुरा उनीहरूको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिटेन्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलङ्का हुँदैनौ र त्यो बाटोमा पनि छैनौ,” उनले भने ।
आईपीओमा गैर आवासीय नेपालीहरूलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताउँदै उनले नेपालमा गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरे ।
उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैर आवासीय नेपालीहरूलाई आग्रह समेत गरे।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved