सञ्चालनमा आयो बुटवल–लुम्बिनी प्रसारण लाइन

नेपालभ्युज

सञ्चालनमा आयो बुटवल–लुम्बिनी प्रसारण लाइन

काठमाडौं। रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।

नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ।

प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ।

मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ। सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईओटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन्।

प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजनाका प्रमुख हरीप्रसाद पाण्डेले बताए। स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० ओटा फिडर निकालिने छ। त्यसमध्ये ४ ओटा फिडरको लाइन तानिएको पाण्डेले बताए।

१८ किलोमिटर प्रसारण लाइनमा ५७ ओटा टावरको निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ। प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा शुरु भएको थियो। रुट परिवर्तन, कोभिड–१९ को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ। अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved