पेट्रोलियम पदार्थमा मूल्यवृद्धि :

सरकारले देश र जनतालाई हेपेको छ, एमालेले संसदमा सशक्त विरोध गर्छ : सुवास नेम्वाङ

“मूल्यवृद्धि साह्रै बढी भो। यो गलत छ, सरकारले हेल्चेक्र्याइँ गरेको छ। जनतालाई नै हेप्ने काम गरेको छ। अस्ति मात्र संसद्मा मूल्यवृद्धिविरुद्ध विशेष प्रस्ताव नै ल्याएर छलफल गरी सरकारलाई निर्देशन दिएको हो तर अहिले फेरि यत्रो भारी वृद्धि भएको छ।”

नेपालभ्युज

सरकारले देश र जनतालाई हेपेको छ, एमालेले संसदमा सशक्त विरोध गर्छ : सुवास नेम्वाङ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संसद्मा कडा विरोध गर्ने तयारी गरेको छ। केही बेरअघि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित संसदीय दलका पदाधिकारीले अनौपचारिक छलफल गरी कडा विरोधको तयारी गरेका हुन्।

एमाले संसदीय दलका उपनेता नेम्वाङले सरकारले जनतालाई हेप्ने काम गरेको बताए। उनले नेपालभ्यूज सँग भने, “मूल्यवृद्धि साह्रै बढी भो। यो गलत छ, सरकारले हेल्चेक्र्याइँ गरेको छ। जनतालाई नै हेप्ने काम गरेको छ । अस्ति मात्र संसद्मा मूल्यवृद्धिविरुद्ध विशेष प्रस्ताव नै ल्याएर छलफल गरी सरकारलाई निर्देशन दिएको हो तर अहिले फेरि यत्रो भारी वृद्धि भएको छ।”

“यो अचाक्ली भयो। यो हेपाइ हो। यसबारे सरकारले देश र जनतालाई जवाफ दिनै पर्छ”, नेम्वाङले भने, “जनतालाई आश्वस्त पार्नैपर्छ। यसको हामी सशक्त विरोध गर्छौं।” संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक सोमबार १ बजेका लागि डाकिएको छ । उक्त बैठकमा जानुअघि एमालेले आन्तरिक तयारी गरेको हो ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा एकैपटक २१ रूपैयाँले वृद्धि गरी लिटरको १९९ रुपैयाँ पुर्‍याएको छ। तीन दिनमै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ बाट एक सय ९९ पुर्‍याइएको हो।

२ असारमा प्रतिलिटर ६ रूपैयाँ ५२ रूपैयाँ मूल्यवृद्धि गरिएकोमा आज राती (५ असार) १२ बजेदेखि लागू हुनेगरी थप २१ रूपैयाँ बढाइएको हो। यसरी हप्ता दिनभित्रै पेट्रोलको मूल्य २८ रूपैयाँले बढेको छ।

त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रूपैयाँले बढाएर एक सय ९२ रूपैयाँ पुर्‍याइएको छ।

हवाई इन्धनमा आन्तरिक तर्फ १९ रूपैयाँले वृद्धि गरी एक सय ८५ रूपैयाँ प्रतिलिटर र बाह्य तर्फ अमेरिकी डलर एक सयले वृद्धि गरी एक हजार ६ सय ४५ रूपैयाँ पुर्‍याइएकोछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved