प्रतिबन्धित एसिड पोखिएपछि जनकपुर–जयनगर रेलको एउटा बोगीमा आगलागी

नेपालभ्युज

प्रतिबन्धित एसिड पोखिएपछि जनकपुर–जयनगर रेलको एउटा बोगीमा आगलागी
फाइल तश्वीर

जनकपुरधाम । जनकपुर–जयनगर रेलको एउटा बोगीमा आज दिउँसो आगो लागेको छ।

भारतको बिहार स्थित जयनगर स्टेसनबाट नेपाल आउने क्रममा रेलको १९०१ नम्बर रेलको एउटा बोगीमा आगो लागेको हो। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार नेपालमा प्रतिबन्धित लगाइएको एसिड पोखिएपछि रेलको एउटा बोगीमा आगो लाग्न पुगेको थियो ।

आगो लागेपछि यात्रुबीच भागाभाग भएको थियो । यद्यपी आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।

रेलको बोगीमा माथि सामान राख्ने र्याकमा एसिड राखिएको थियो। एसिडको चुहिएर एक दुई थोपा एक महिला यात्रुको पिठ्युँमा खसेपछि उनी तर्सिएर त्यहाँबाट उठिन्। त्यसपछि एसिड सिटमा चुहिँदा तल एउटा सानो ग्यास सिलिन्डर पनि रहेकोले धुँवा भएर आगो सल्केपछि यात्रुहरू बीच भागाभाग भएको थियो ।

प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगर मै पक्राउ गरेर हिरासतमा लिएको छ। ती नेपाली महिलाहरूलाई अहिले नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन लागेको छ।

नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक झाले जयनगर स्टेसनमा लागेको आगो निभाएर अहिले रेल जनकपुर आइसकेको छ। रेलमा आगो लागेर सामान्य क्षति भएको झाले बताए । आगो लागेपछि त्यहाँबाट एक युवक र पुरुष फरार भएका छन्।

ती पुरुषका श्रीमती र छोरीलाई शंकास्पद देखेपछि प्रहरीले पक्राउ गरेको हो । उनिहरूलाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको महाप्रबन्धक झाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved