धरानको मेयरमा निर्वाचित हर्कले अघिल्लो चुनावमा मात्र ४२२ मत पाएका थिए

नेपालभ्युज

धरानको मेयरमा निर्वाचित हर्कले अघिल्लो चुनावमा मात्र ४२२ मत पाएका थिए

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भए।

चार हजार ७ सय ६२ मतान्तरसहित उनी प्रमुखमा विजयी भएका हुन्। स्वतन्त्र उम्मेदवारी दिएर लौरो चुनाव चिह्नबाट चुनावमा उठेका उनले २० हजार ८ सय २१ मत पाए भने उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाए। नेकपा (एमाले) की मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत पाइन्।

मेयरमा निर्वाचित राईंले २०७५ सालमा भएको उपनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यतिबेला उनले जम्मा ४ सय २२ मत पाएका थिए। कुनै पनि संगठन नबनाएका उनले अन्य राजनीतिक दलहरूको जस्तो ठूलो चुनावी कार्यक्रम पनि गरेका थिएनन्। तर उनले सत्ता गठबन्धनलाई नै हराउन सफल भए।

यस्तै धरानको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भए। प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत पाए।

२० वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved