माओवादी र समाजवादीको गठबन्धनलाई भारी बने लालबन्दीमा अधिकारी

नेपालभ्युज

माओवादी र समाजवादीको गठबन्धनलाई भारी बने लालबन्दीमा अधिकारी

लालबन्दी। लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वासुदेव अधिकारीले अग्रता कायमै राखेका छन्।

दिउँसो ४ बजेसम्मको मतपरिणामअनुसार अधिकारीले ४ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द महतले ३ हजार २ सय २८ मत पाएका छन्। लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन बनेको छ। गठबन्धनका माओवादी उम्मेदवार यहाँ तेस्रो स्थानमा खुम्चिएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका प्रह्लाद बुढाथोकीले भने २ हजार ५ सय ८७ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसको अग्रता कायमै छ। कांग्रेसकी कल्पना पाख्रिनले ४ हजार ४ सय ८ मत ल्याउँदा नेकपा एमालेकी सन्सरी माया थिङले ३ हजार ४ सय ९ मत ल्याएकी छन्। यहाँ गठबन्धनबाट समाजवादीका उम्मेदवार गोविन्द अधिकारीले मात्र ८ सय ८७ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता गराउन दबाब दिएका थिए। उम्मेदवारी दर्ताको अन्तिममा समयपछि आएको देउवाको पत्रले उनको उम्मेदवारी रद्द हुन पाएको थिएन।

निर्वाचन अधिकृत कार्यालयलाई सभापति देउवाको हस्ताक्षर भएको पत्रमा अधिकारीको उम्मेदवारी रद्द गर्न भनिएको थियो। तर उक्त पत्रलाई लिएर कांग्रेसका कार्यकर्ताहरूले विरोध जनाएपछि लालबन्दीमा तनावको स्थितिसमेत सिर्जना भएको थियो।

निर्वाचन अधिकृतको कार्यालय लालबन्दीका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन भइसकेपछि उम्मेद्वारी फिर्ताको पत्र प्राप्त भएकाले कसैको पनि उम्मेदवारी फिर्ता नहुने जानकारी दिएका थिए।

कांग्रेसबाट मेयरमा अधिकारीले उम्मेदवारी फिर्ता नलिएपछि लालबन्दीमा कांग्रेसबाहेकको गठबन्धन बनेको थियो।

लालबन्दीमा ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको थियो। पाँच वर्ष कार्यकाल चलाएका मानबहादुर खड्का फेरि पनि उम्मेदवार हुने चर्चाबीच महतले टिकट पाउन सफल भएका थिए।

एमालेबाट मेयरको टिकट पाएका महत यसअघि नेपाल मजदुर किसान पार्टीका स्थानीय नेता थिए। राजनीतिमा खासै सक्रिय नभएका उनी पछि नेकपा माओवादी केन्द्रसमेत प्रवेश गरेका थिए। स्थानीयस्तरमा जग्गा व्यवसायीसमेत रहेका महतलाई एमालेले मेयरको टिकट थमाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved