उम्मेदवारसँग लिखित करार गराउँदै विवेकशील साझाको ‘पाण्डे समूह’

राजनीतिक विश्लेषक केशव दाहाल भन्छन्, “यसले मतदाता राजनीतिक दल वा जनप्रनिधिभन्दा माथि हुन्छन्। त्यसकारण यो जरूरी छ।”

नेपालभ्युज

उम्मेदवारसँग लिखित करार गराउँदै विवेकशील साझाको ‘पाण्डे समूह’

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भोट माग्ने नेताहरूको आफ्नै शैली छ। सँगसँगै उम्मेदवारलाई वचनबद्ध बनाउने नयाँ तरिका पनि शुरु भएको छ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रइतर पक्षमा रहेका नेता–कार्यकर्ताले आफूकहाँ भोट माग्न आउने उम्मेदवारलाई वचनबद्ध बनाउने नयाँ अभ्यास शुरु गरेका हुन्। उनीहरूले उम्मेदवारलाई नागरिकसँग ‘लिखित करारनामा’मा हस्ताक्षर गर्न लगाउन थालेका छन्।

निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्नका लागि आवश्यक भएको भन्दै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले उक्त करारनामा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। अध्यक्ष रविन्द्र मिश्र समूहले कारवाही गरेपछि अदालतमा मुद्दा लडिरहेको पाण्डे समूह अहिले पार्टीमा भूमिकाविहीन छ।

उनले बुढानीलकण्ठ नगरपालिका लगायतका स्थानमा स्थानीयले आफ्नो घरमा भोट माग्न आउने उम्मेदवारहरूलाई करारनामा गराउन थालेको पनि उल्लेख गरेका छन्।

“निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान हो। यसले नागरिकलाई विवेकपूर्ण तरीकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्न सक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरूको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर दिन्छ। त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरूले गर्ने बाचाहरूलाई लिखितम् गरी राखौँ” पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यसै लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गरौँ। यसले जनप्रतिनिधिलाई जबाफदेही र नागरिकलाई कर्तव्यनिष्ठ बनाइ लोकतन्त्रलाई बलियो, नतिजामुखी र दिगो बनाउँछ।”

संविधानमै लेखिएका बुँदासमेत जनप्रतिनिधिले पालना नगरिरहेका बेला मतदातासँग गरिएको करारनामाले के काम गर्ला र? राजनीतिक विश्लेषक केशव दाहाल भन्छन्, “यसले मतदाता राजनीतिक दल वा जनप्रनिधिभन्दा माथि हुन्छन्। त्यसकारण यो जरूरी छ।”

उनले उम्मेरवारहरूमा इमान्दारिता भएमा यस्तो करानामा जरुरी नभएको बताउँदै मतदाताहरूको सम्मान नगरे पनि प्रश्न गर्नका लागि प्रमाण हुने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved