पार्टी निर्णयविपरीत बागी बनेका उम्मेदवारबारे कांग्रेसले पुनर्विचार गर्ने

नेपालभ्युज

पार्टी निर्णयविपरीत बागी बनेका उम्मेदवारबारे कांग्रेसले पुनर्विचार गर्ने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो।

पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो। उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएकारगरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ।

विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधिसमेत गुज्रिसकेको परिस्थितिमा त्यस्ता सदस्यको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा कांग्रेसले यो आग्रह गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved