व्यक्तिवृत्त

अर्धशतकदेखि चम्किरहेकी तारा

अर्धशतकदेखि चम्किरहेकी तारा

पूरै अर्धशतक। गायिका तारा थापा नेपाली गीत–संगीतको रम्य मझेरीमा रमाउन थालेकै बितिसक्यो, अर्धशतक। नेपाली लोक र आधुनिक संगीतलाई समृद्ध एवं शिखर–उन्मुख तुल्याउन उनको सुपरिचित स्वरले बितेको अवधिमा आफ्नै तह र स्थानबाट खेलेको भूमिका निःसन्देह कम छैनन्।

२०२८ साल चैत २८ गते। सम्झिन्छन् उनी त्यो दिनलाई। अर्थात् पचास वर्षअघिको त्यो घडी र पलालाई। जुन दिन उनले जीवनमै पहिलो पटक गीत रेकर्ड गरेकी थिइन्। गीत थियो– ‘माझी दाइ डुंगा तारिदेऊ तालको पानीमा सलल…।’ सदाबहार बन्यो यो गीत।

छैनन् अहिले पूर्णसिंह नेपाली। केही वर्षपूर्व पञ्चत्वमा विलीन भए उनी। त्यो दिन भने पूर्ण र उनले यो युगल गीतमा स्वर अर्पेका थिए।

सरोजगोपालका सुललित शब्द र सीके रसाइलीको संगीत-रचनामा सुसज्जित यो गीतसँगै थापाले सांगीतिक यात्रामा दरिला पाइला चाल्ने गोरेटो भेट्टाएकी थिइन्।

आधा शताब्दी लामो आफ्नो सांगीतिक यात्रातिर फर्केर हेर्न मन लाग्छ अचेल उनलाई। बितेका अवधिमा धेरै रेखा कोरिए परिवर्तनका। कति आफ्नै जीवनका, कति नेपाली संगीत क्षेत्रका।

सात–आठ वर्षअघि गायन यात्राको स्वर्ण–वर्ष मनाउने अपेक्षा भने मारिसकेकी थिइन् उनले। २०७१ साल उनको जीवनमा त्रासदीको रुपमा भित्रियो। उनलाई देखियो– ब्लड क्यान्सर। भन्छिन्, ‘मलाई स्वर्ण जयन्ती मनाउन पाउँछु भन्ने लागेको थिएन। किनभने मैले ठुलो बिमारी झेल्नुपर्‍यो। म मृत्युको ढोकाबाट फर्किएकी हुँ।’

प्रारम्भिक चरणमै भएको हुँदा औषधोपचारले ठेगान लाग्दै आएको छ, आजपर्यन्त। भन्छिन्, ‘अहिले ठीक छु। औषधि सेवन गरिरहेकी छु र फलोअपमा गइरहेकी छु।’ चिकित्सकले ‘दश वर्ष औषधि सेवन गर्नुपर्छ’ भनेका छन्। आठ वर्ष त बितिसक्यो।

बिमारीले च्याप्नुअघि उनले निकालेकी थिइन्, ‘तारा’। उक्त गीति–एलबममा उनको स्वरमा सजिएका सात वटा गीत थिए। बिमारीले सताएपछि भने गायनप्रतिको लगावमा केही शिथिलता आयो।

शिथिलतालाई चिर्दै पछिल्लो समय उनले एउटा पूर्वेली मौलिक लोकगीत गाइन्। राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले संकलन गरेको त्यो लोकगीत गाएलगत्तै कोरोनाको कहर शुरु भइहाल्यो। भन्छिन्, ‘बुढाबुढीले गाएको त्यो गीत व्याकुल भाइले संकलन गरेर ल्याएका रहेछन्, गाउन निकै कठिन थियो।’

देहरादुनदेखि नै गायनमा आकर्षित

गएको माघको दोस्रो साताबाट ६७ वर्ष टेकेकी उनी जन्मिएकी थिइन्, भारतको राँचीमा। राँचीमा भारतीय सेनामा कार्यरत थिए– बुबा। त्यो बेला भारतीय सेनामा कार्यरत नेपालीहरूका परिवार भने देहरादुनमा बस्थे। तर उनका बज्यै राँचीमा भएकीले आमा पनि गइन्, त्यतै। उनी जन्मिइन्, त्यहीँ नै।

देहरादुनमा बस्ने नेपालीहरू आधा हिन्दी र आधा नेपाली भाषा बोल्थे। भन्छन्, ‘म नेपालीहरूमाझ हुर्किएँ र नेपाली भाषामा मेरो पकड रह्यो।’

देहरादुनमा छँदाखेरि नै उनको गायनसँग सम्बन्ध जोडिइसकेको थियो। भन्छिन्, ‘सानो छँदादेखि नै ममा गाउने बानी रह्यो। म त्यतिबेला धेरैजसो हिन्दी फिल्मका गीतहरू गाउँथेँ। त्यसमा पनि लता मंगेशकर, आशा भोसले र मोहमद रफीका गीतहरू गाउँथेँ।’

बुबाको भारतीय सेनाबाट अवकाश भएपछि सपरिवार नेपाल फर्किए। यो २०२३ सालको कुरा थियो। देहरादुनमा ६ कक्षासम्म पढेकी उनले अरू पढाइ भने कन्या मावि, लैनचौरबाट थालनी गरिन् र त्यहीबाट गरिन्, एसएलसी उत्तीर्ण।

२०३० सालमा एसएलसी उत्तीर्ण हुनुअगावै उनको लगाव गीत–संगीततिर सोझिइसकेको थियो। अर्थात् त्यसको दुई वर्ष पहिले नै उनको गीत रेकर्ड भइसकेको थियो।

स्वर परीक्षणमा असफल

पछिल्लो समय हरेक विद्यालयमा सिकाइन थालियो– संगीत। विद्यालयहरूले संगीत–शिक्षक राखेरै संगीत सिकाइन्छ अचेल। उनको बेलामा भने धेरै फरक थियो।

काठमाडौं आगमनपछि घर र स्कुल दुवै स्थल उनको गायन–कलालाई प्रस्फुटित तुल्याउने साधनालय बने। भन्छन्, ‘स्कुलमा त घन्टी बज्ने बित्तिकै मलाई साथीहरूले गीत गाउन प्रेरित गरिहाल्थे। कहिलेकाहीं गाइरहेकै बेला सरहरू आउनु हुन्थ्यो र कान निमोठ्नु हुन्थ्यो।’

साथीभाइ मिलेर कुनै समय जान्थे, पिकनिक मनाउन। पिकनिकमा त उनले नगाई सुखै थिएन।

एउटा घटना स्मृति–रेखामा अंकित छ अझै। स्कुलमा मिल्ने साथी थिए– सीता गुरुङ। राष्ट्रिय नाचघरमा आयोजित एउटा सांगीतिक कार्यक्रममा उनले गाउने अवसर पाइन्। भन्छिन्, ‘म गीत गाउँदै थिएँ। आधा मात्रै गाएकी थिएँ तर मेरो त हात–खुट्टा लगलग काम्न थाल्यो र म स्टेज छाडेर भागेँ।’

तात्कालिक समय गीत गाउन रेडियो नेपालबाट स्वर परीक्षणमा उत्तीर्ण हुनुपर्थ्यो। अरू विकल्प थिएन। सहपाठी सीताकी दाइ तीरबहादुर गुरुङले एक दिन उक्साइन् उनलाई, ‘तिम्ले रेडियो नेपालमा गाउनुपर्छ अब।’ उनले नै एउटा निवेदन लेखिदिए।

पहिलो पटक स्वर परीक्षणमा सहभागी हुँदा उनले असफलता बेहोर्नुपर्‍यो। त्यो बेला उनले तारादेवी र निर्मला श्रेष्ठको गीत ‘उषाको चोखो लालीले नेपाली आँगन लिपुँला…।’ गाएकी थिइन् र स्वर परीक्षामा सफल हुने अपेक्षा पनि राखेकी थिइन्।

त्यो बेला संगीत क्षेत्रका विख्यात हस्तीहरू नातिकाजी, शिवशंकर, ज्ञानबहादुरलगायतले मूल्यांकन गरेका थिए। उनीहरूका मूल्यांकनमा उनी जँचेनन्।

मूल्यांकनकर्तामध्येकै एक ज्ञानबहादुरको घर थियो, क्षेत्रपाटीमा। उनैले भने, ‘म तिमीलाई संगीतको आधारभूत ज्ञान सिकाइदिन्छु, घरमा आऊ।’ संगीतप्रतिको बढ्दो अभिरुचिलाई थेग्न नसकेपछि उनले ज्ञानबहादुरकहाँ गएर सिकिन्– सारेगमपधनिसा…। भन्छिन्, ‘म बिहान ज्ञानबहादुर दाइकहाँ गएर एकाध घन्टा अभ्यास गर्थेँ र घरमा आएर बेलुकी पनि अभ्यास गर्थेँ।’

पछि भने ज्ञानबहादुरको संगीत र छिन्नलताको शब्दमा गाएको गीतबाटै उनले रेडियो नेपालमा स्वर परीक्षण उत्तीर्ण गरिन्। पछि त उनले ज्ञानबहादुरकै संगीतमा थुप्रै गीत गाइन्। कुनै आधुनिक, कुनै राष्ट्रिय, कुनै भजन र कुनै बालगीत।

शुभचिन्तक भएर निस्किइन्, कोइलीदेवी। उनले सुझाव दिइन्, ‘संगीत सिक्ने भए तिम्लाई एउटा हारमोनियम चाहिन्छ। हारमोनियमबाट गाउन सजिलो पनि हुन्छ।’ कोइलीदेवीले नै उनलाई तानपुरा दिइन्। त्यतिबेला २–३ सय रुपियाँमा किनेको त्यो हार्मोनियम अझै छ, उनीसँग।

उनले गाउन थाल्दा नेपाली सांगीतिक आकाशमा महिला–स्वर प्रशस्तै गुन्जिन थालिसकेका थिए। मेलवादेवीको परम्परालाई पछ्याउँदै तारादेवी, अरूणा लामा, कोइलीदेवी, नूपुर भट्टाचार्य, उर्मिला–निर्मला श्रेष्ठ, गंगा राणालगायतको स्वरलहरी चम्किन थालिसकेको थियो।
त्यही बेला नै मीरा राणा र उनी पनि संगीतमा जम्न थालिसकेकी थिइन्।

२०३१ सालतिर उम्दा संगीत–सर्जक अम्बर गुरुङले एउटा सांगीतिक कार्यक्रम लिएर पोखरा गएका थिए। त्यतिबेला उनको गीत ‘मायालुको छेउमा जाँदा ए हावा…’ चर्चाको चुलीमा थियो। पपशैलीको त्यो गीत उनले पोखराको कार्यक्रममा गाइन्। भन्छिन्, ‘त्यो गीत गाउँदा यति धेरै वान्समोर भने कि, मैले फेरि पनि गाउनुपर्‍यो। लगातार वान्समोर भनेपछि हलको पछि सर्दैसर्दै तल झरेकी थिएँ।’

युगलमा अग्रणी

उनी युगल गायनकी अग्रणी हुन्भन्दा अतिशयोक्ति नहोला। हुन पनि, प्रकाश श्रेष्ठ, राम थापा, रामकृष्ण ढकाल, पूर्णसिंह नेपाली, भुवन केसी, क्षेत्र गुरुङ, कल्याण शेरचन, सूर्य थुलुङसँग उनले थुप्रै गीतमा युगल स्वर दिएकी छन्।

पछिल्लो समय नेपाली चलचित्रमा जमेका भुवन चलचित्र जगतमा पाइला टेक्नुअघि गायन क्षेत्रमा थिए। २०३३ सालतिर थापासँगै भुवनले केही गीत गाए। जसमध्ये ‘म रूप हुँ, तिमी दर्पण…’ त सुपरहिट नै भयो। भन्छिन्, ‘अल इन्डिया रेडियोबाट त यो गीत बारम्बार बजिरहन्थ्यो।’

पछि भने भुवनले चटक्कै गाउन छाडिदिए। उनले भने युगल गायनमा बाजी मार्दै गइन्। प्रकाश श्रेष्ठसँग ‘बोली बोले भाकामा…’ होस् वा पूर्ण नेपालीसँग ‘वर हैन पीपलु छायाले…’ होस्, सदावहारको पंक्तिमा उभिएका छन्।

धेरै जोडी त उनको जम्यो, राम थापासँग। तत्कालीन समय नृत्यनिर्देशक भैरवबहादुर थापाको लालदरबारमा थियो– भैरव नृत्य दल। धेरै पुरानो त्यो संस्थाले विदेशीहरूलाई नेपाली मौलिक लोकनृत्य देखाउने गर्थ्यो।

त्यहीं अर्थात् भैरव नृत्य दलको कार्यालयमै भेट भएथ्यो, रामसँग। उनी त्यहाँ गीत गाउन जान्थिन्। सम्झिन्छन्, ‘राम भाइ हाफपाइन्ट र चप्पल लगाएर आउँथे, त्यहाँ। एकदिन उनले मसँग गीत गाउने रुचि देखाए। त्यसपछि हामीले थुप्रै युगल गीत गायौं।’

लोक–स्वादमा उनी र रामले थुप्रै गीत गाए र भए सबैजसो नै चर्चित पनि। ‘कटर कटरमा, तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा’, ‘सिन्की अचार, भन फूलमाया के छ विचार’, ‘वनदेवी माईलाई अक्षेता भेटी’, ‘हाइहाई वनकाली माई…’ जस्ता धेरै नै लोकप्रिय गीत गाए, दुवैले। त्यही ठाउँमा उनले जयनन्द लामालाई पनि भेटिन्। लामा पनि गीत गाउन आउँथे।

गायन सहकार्य

पचास वर्ष लामो सांगीतिक यात्रामा उनले थुप्रै गायकसँग स्वर–सहकार्य गरिन्। जसमा अग्रपंक्तिमा आउँछन्– प्रकाश श्रेष्ठ, दीपक खरेल, रामकृष्ण ढकाल, राम थापा, पूर्णसिंह नेपाली, पेमा लामा, सूर्य थुलुङ, जयनन्द लामा, भुवन केसी आदि।

सहयात्रीमध्ये केहीलाई गुमाइसकेकी छन् उनले। राम थापा गए, पूर्ण नेपाली गए, गए जयनन्द लामा पनि। भन्छिन्, ‘हाम्रा कलाकारहरू मदिराप्रेमी छन्, मदिराले नै धेरैलाई लग्यो।’

कुनै एकल, कुनै युगल गरी उनले अहिलेसम्म ६ सयको हाराहारीका गीतमा स्वर अर्पिसकेकी छिन्। भन्छिन्, ‘कुनै बेला म निकै गाउँथेँ। एकै दिनमा सात वटासम्म गीत रेकर्ड गरेकी थिएँ।’

देश–विदेशका विभिन्न कार्यक्रममा पनि उनले गाएकी छन्। कुनै बेला नारायणगोपाल, ओमविक्रम विष्ट, मीरा राणासँगै उनले काठमाडौंबाट गाडी रिजर्भ गरेर वीरगञ्ज, विराटनगर र धरान पुगेर पनि गीत गाइन्। विदेशमा जापान, फ्रान्स, स्पेन, इटाली, जर्मनी, बेलायत, हङकङ, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायत देशमा गएर गाएकी छन्। उनले आफूले गाएका गीतको रेकर्डिङ मिति टिपेर राख्थिन् तर जापानमा सांगीतिक प्रस्तुति दिन जाँदा त्यो डायरी उतै छुट्यो। भन्छिन्, ‘त्यो डायरीमा सबै विवरण थियो, हराउँदा पछुतो लागिरहेको छ।’

नातिकाजीको गीत अस्वीकार

त्यतिबेला चलचित्र ‘पच्चीस वसन्त’ निर्माण हुँदै थियो। संगीत–सिर्जनाको जिम्मा पाएका थिए, नातिकाजीले। एकदिन नातिकाजीले उनलाई प्रस्ताव राखे, ‘तिम्ले एउटा गीत गाउनुपर्‍यो।’

उनले सिधै भनिदिइन्, ‘पाए त्यो फिल्मको सबै गीत गाउँछु, एउटा मात्र त गाउँदिनँ।’ उनले अस्वीकार गरेको त्यो गीत पछि तारादेवी र मीरा राणाले गाइन्।

२०३५ सालमा बन्यो– ‘बदलिदो आकाश’।

त्यसअघि नेपाली चलचित्रका गीतहरू मुम्बईमा हुन्थे, रेकर्डिङ। तर त्यही चलचित्र निर्माणको बेलादेखि भने नेपालमै गीत रेकर्ड हुन थाल्यो। बालाजुस्थित चलचित्र विकास कम्पनीमा गीत रेकर्ड हुँदा उनले प्रकाश श्रेष्ठसँग मिलेर गाइन्, ‘यो सुन्तले ओठ’। अर्को गीत पनि गाइन्, ‘भागेर जाने कहाँ हो त ?’

बदलिँदो आकाशपछि उनले गाइन्– ‘अर्को जन्म’, ‘के घर के डेरा’, ‘आदर्श नारी’, ‘सान्नानी’ र ‘अँगालो–अँगालोमा’ लगायत चलचित्रमा पनि। एउटा भिडियो–चलचित्रमा गाएको गीत भने सदावहार बन्यो। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य निर्मित ‘१५ गते’ मा उनले गाइन्, ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै ताल…।’

दुर्गालाल श्रेष्ठको शब्द र न्हूँ बज्राचार्यको संगीतमा सजिएको यो गीतबारे उनी भन्छिन्, ‘तराईकी एउटी थारु केटी र काठमाडौंको बाहुनबीच बिहे भएको प्रसंग यो गीतमा उल्लेख छ। यसले राष्ट्रिय एकता र भावनालाई जोड्ने प्रयत्न गरेको छ।’ हुन पनि यो गीत यति चल्यो कि, भिडियो–चलचित्रमा आउँदा उनी चकित नै परिन्।

उनको एकल स्वरका ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘कुन बेला टेक्यौ मनको सँघार’, ‘तारी नदेऊ ए माझी दाइ’, ‘मायालुको छेउमा जाँदा’ जस्ता लोकप्रिय गीत अझैसम्म पनि लोकप्रिय नै छन्। हुन पनि यी गीतहरू यति लोकप्रिय रहे कि, भन्छिन्, ‘कुनै कार्यक्रममा जाँदा यी गीतहरू नगाई हुँदै हुँदैन।’

गोपाल योञ्जन, अम्बर गुरुङजस्ता संगीतसाधकको सान्निध्य पाएका उनले २०३५ सालमा योञ्जनको संगीतमा गाएकी थिइन्, ‘तारी नदेऊ ए माझी दाइ, माइतीको पाप लाग्ला है…।’

भन्छिन्, ‘मलाई गोपाल दाइका सबै संगीत मन पर्छन्। उहाँका सबै संगीत उच्च कोटीका छन्।’

अम्बर गुरुङको भद्रताप्रति परिचित उनी गायक प्रेमध्वज प्रधान र दीपक खरेलको भद्रपनलाई पनि उत्तिकै सम्झिन्छन्। नारायणगोपालको पियक्कड स्वभावदेखि पनि परिचित रहिन् उनी। भन्छिन्, ‘बिहानैदेखि पिएर गीत गाउन जाँदा पनि उहाँलाई पिएजस्तो देखिँदैनथ्यो।’

वैवाहिक प्रसंग

उनी वैवाहिक सम्बन्धमा बाँधिए, २०४० सालमा। खगेन्द्र संगमसँग। दुवैको भेट भएथ्यो, बागबजारमा। प्रसिद्ध नाट्यकर्मी हरिहर शर्मासँग एउटै डेरामा बस्थे, खगेन्द्र। भन्छिन्, ‘एकदिन शकुन्तला शर्माले मसामु प्रस्ताव ल्याउनुभयो र त्यसपछि हामी वैवाहिक सम्बन्धमा बाँधियौं।’

कलाकर्मीको विवाहमा कलाकर्मीहरूलाई ननिम्त्याउने त कुरै भएन। नेपाल प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय नाचघर, रेडियो नेपालका थुप्रै कलाकारहरू आएका थिए। सम्झिन्छन्, ‘नारायणगोपाल दाइ र पेमला भाउजू पनि आउनुभएको थियो। कलाकारहरूको राम्रो जमघट भएको थियो।’

०००
पछिल्लो अवधि नेपाली संगीतले मारेको फड्को देख्दा उनलाई सपनाजस्तै लाग्छ। भन्छिन्, ‘पहिला र अहिलेको तुलना हुनै सक्दैन। अहिलेको अवस्था हेर्दा सपनाजस्तै लाग्छ। धेरै गीत गाउनु पनि पर्दैन अचेल। एउटै गीत चल्यो भने पुग्छ।’

तर अचेलका संगीत–सर्जकहरूप्रति केही गुनासा पनि छन् उनका। भन्छिन्, ‘पूर्ववर्ती समयमा हामीले अग्रजहरूलाई जति सम्मान गर्थ्यौं, अहिलेको पुस्तामा भने अग्रजहरूप्रति त्यस्तो सम्मानभाव देखिँदैन।’

काठमाडौंको पश्चिमी भूभाग नागार्जुन डाँडामुनिको रमणीय ठाउँमा स्वास्थ्य–लाभ गरिरहेकी तारा निःसन्देह नै नेपाली संगीत जगतमा आधा शताब्दीको साक्षी हुन्। आधा शताब्दीको आरोह–अवरोहलाई नियाल्ने द्रष्टा–स्रष्टा हुन्। संगीतको आधा शताब्दीको भोक्ता हुन्। हुन् उनी– नेपाली सांगीतिक नभमा अर्धशतकयता चम्किएकी ताराजस्तै नक्षत्र।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved