टी–ट्वान्टीको ह्याङ छाडेर ओडीआईमा फर्कँदै

विश्वकप छनोटमा टी-ट्वान्टी खेलमा नेपालको ब्याटिङ एकदिवसीय शैलीको जस्तो भयो भनेर समर्थकको गुनाशो थियो। अब एकदिवसीय खेलमा भने लगातार खेलिरहेको टी-ट्वान्टीको ब्याटिङको ह्याङले नेपाललाई नछोड्ने पो हो कि।

टी–ट्वान्टीको ह्याङ छाडेर ओडीआईमा फर्कँदै

काठमाडौं। ठिक चार वर्षअघि सन् २०१८ को मार्च १५ तारिखमा नेपाली क्रिकेटले आफ्नो इतिहासको दास्रो ठूलो उपलब्धिको रूपमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय (ओडीआई) मान्यता पाएको थियो। त्यही मान्यतालाई जोगाइराख्न र एकदिवसीय विश्वकप खेल्ने आशालाई जीवितै राख्न नेपाल हाल ‘आईसीसी क्रिकेट विश्वकप लिग-२’ अन्तर्गतका सिरिजहरू खेलिरहेको छ।

नेपाली क्रिकेट इतिहासको सबैभन्दा ठूलो उपलब्धिको रूपमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-ट्वान्टी विश्वकप खेलेको थियो। गत महिना टी-ट्वान्टी विश्वकप छनोटको एक निर्णायक खेलमा चुक्दा नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना पुरा हुन सकेन। नेपाली क्रिकेटका समर्थक अझै पनि त्यो पिडाबाट उठ्न सकेका छैनन्।

तर त्यो पीडालाई भुलाएर नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू भने लिग-२’ अन्तर्गतको आयोजक यूएई र पीएनजीसँगको अर्को महत्वपूर्ण त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। मंगलबार देखि सुरु भएको यो सिरिजमा नेपालले (आज) बुधबार पहिलो खेलमा पीएनजीको सामना गर्दैछ।

अभ्यास र विश्वकप छनोटमा गरि लगातार टी-ट्वान्टी खेल (२० ओभरको) खेलेकाले नेपाली टिम अब एकदिवसीय (५० ओभरको) खेलमा फर्कन आवश्यक छ। यसैका लागि नेपाली क्रिकेट टिम यो सिरिज अगाडी श्रीलंका भ्रमणमा गएको थियो।

विश्वकप छनोटमा टी-ट्वान्टी खेलमा नेपालको ब्याटिङ एकदिवसीय शैलीको जस्तो भयो भनेर समर्थकको गुनाशो थियो। अब एकदिवसीय खेलमा भने लगातार खेलिरहेको टी-ट्वान्टीको ब्याटिङको ह्याङले नेपाललाई नछोड्ने पो हो कि।

नेपाली क्रिकेट टिममा कप्तान सन्दीप लामिछाने भन्छन्, “हामीले ओमानमा टी-ट्वान्टी म्याचहरू खेलेर आयौं। अब भने नयाँ फर्म्याट (एकदिवसीय) मा सिफ्ट गर्नुपर्ने हुन्छ। टी-ट्वान्टी टिममा नरहेका खेलाडीहरूले ओडिआईका लागि नेपालमा नै तयारी गरिरहेका थिए।”

उनी थप्छन्,“फरक फर्म्याट भए पनि हाम्रो टिम सन्तुलित छ। करण र सोमपाल टिममा फर्किएका छन्। त्यस्तै ५० ओभरको खेलका लागि हाम्रो मध्यक्रमको ब्याटिङ राम्रो छ।” यो लिग-२ का खेलहरू अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको प्रारम्भिक छनोट हो। हाल लिग-२ मा प्रतिस्पर्धा गरिरहेका नेपालसहितका सात टिम मध्ये शिर्षस्थानमा रहने तीन टिमले विश्वकप छनोट खेल्न पाउनेछन्। पुछारमा रहेका चार टिमले प्लेअफमार्फत विश्वकप छनोटमा प्रवेश पाउन सक्छन्।

यो लिग-२ यसकारण पनि महत्वपूर्ण छ कि यहि प्रतियोगिताको आधारमा नेपालसँग हाल रहेको एकदिवसीय (ओडीआई) मान्यता जोगिने वा नजोगिने निर्धारण हुन्छ। लिग-२ हुँदै विश्वकपको छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सके आईसीसीले नेपालको ओडीआई मान्यतालाई यथावत राख्न सक्छ।

यो लिगको पहिलो स्थानमा रहेको ओमानको २७ खेलमा १७ जितसहित ३६ अंक छ। नेपाल भने आठ खेलमा चार जित पश्चात आठ अंक सहित छैटौ स्थानमा छ। तर नेपालले यो सिरिजसँगै अझ ७ ओटा सिरिज अन्तर्गत २८ खेल खेल्न बाँकी नै छ।

अहिलेदेखि नै राम्रो प्रदर्शन गर्नसके नेपालले लिग-२ मा शिर्ष तीन भित्र रहेर एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने अवसर पाउन सक्छ।

नेपालको एकदिवसीय टिम

नेपाल क्रिकेट संघ (क्यान) ले यो सिरिज अगाडी १६ सदस्यीय एकदिवसीय टिमको घोषणा गर्दै टी-ट्वान्टी टिम कै कप्तान सन्दीप लामिछानेलाई नै कप्तानीमा निरन्तरता दियो। टी-ट्वान्टी विश्वकप छनोट खेलेका केहि खेलाडीलाई हटाएर केहि खेलाडी थप गरेर एकदिवसीय टिम बनाइएको छ। नेपाली टी-ट्वान्टी र एकदिवसीय टिममा करिब ४० प्रतिशत खेलाडी फरक फरक छन्। करिब ६० प्रतिशत खेलाडीले दुबै फर्म्याट खेल्छन्।

बिशेषगरि नेपाली टिमका दुई फाष्ट बलर करण केसी र सोमपाल कामीको पुनरागमनले नेपालको बलिङलाई थप मजबुत बनाएको छ। चोटका कारण यी दुबै खेलाडीले टी-ट्वान्टी विश्वकप छनोट खेल्न पाएका थिएनन्। जसको ठूलो घाटा नेपाललाई लागेको थियो।

त्यस्तै टी-ट्वान्टी टिम नरहेका ब्याटर विनोद भण्डारी र रोहित कुमार पौडेल पनि टिममा फर्किएका छन्।

ब्याटिङमै कमजोरी

गत महिनाको टी-ट्वान्टी विश्वकपको छनोटमा जानुअघि यो पटक नेपालको सुधारिएको ब्याटिङ देख्न पाइने बताइएको थियो। तर पहिले जस्तै ब्याटिङ नै नचल्दा यो पटक पनि नेपालले टी-ट्वान्टी विश्वकपको छनोटमा राम्रो प्रदर्शन गर्न सकेन।

अबको लिग-२ को सिरिजका खेलहरूमा पनि नेपालको ब्याटिङको समस्याले पिरोल्ने देखिन्छ। नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासनायके भन्छन्,“पछिल्लो समय हामीले धेरे टी-ट्वान्टी खेल खेल्यौं। त्यसैले श्रीलंकामा अभ्यास खेल खेल्नुको प्रमुख उद्देश्य ओडीई खेलको तयारीका लागि हो।”

श्रीलंकामा नेपालले खेलको चार एकदिवसीय अभ्यास खेलले पनि बलिङभन्दा नेपालको ब्याटिङमा नै कमजोरी देखायो। जुन नेपाली क्रिकेटको सधैंको टाउको दुखाइको विषय हो। श्रीलंकाको चार अभ्यास खेलमा नेपालले स्थानीय श्रीलंकन नेभी र पुलिससँगको तीन खेल त जित्यो तर राम्रो ब्याटिङ एक खेलमा मात्र गर्न सक्यो। श्रीलंकन पुलिससँगको खेलमा नेपालले ५० ओभर पूरै खेल्दै ३३१ रनको योगफल बनाएको थियो। यो खेलमा नेपालका चार ब्याटरले अर्धशतक प्रहार गरेका थिए।

अन्य दुई खेलमा २०० आसपासमा नेपाल अलआउट भएको थियो। श्रीलंकाका पूर्वराष्ट्रिय खेलाडीहरू समेत सम्मिलित अन्तिम खेलमा त नेपालले १५० रन पनि बनाउन सकेको थिएन। यो अभ्यास भ्रमणमा पनि नेपालको बलिङ भने राम्रै लयमा देखिन्थ्यो।

नेपालका संकटमोचक दीपेन्द्र सिंह ऐरी ब्याट र बलमा पूरै फर्ममा थिए। ओपनिङमा कुशल भुर्तेलको प्रदर्शन पनि राम्रो छ तर अर्का ओपनर आसिफ शेखको खेल भने विश्वकप छनोटदेखि नै चल्न सकेका छैनन्। चोटपछि टिममा फर्किएका करणले बलिङसँगै ब्याटिङमा पनि राम्रो छाप छाडेका छन्। नेपालको बलिङ हतियार स्पिन बलिङले यो सिरिजमा पनि नेपाललाई प्रमुख फाइदा पुग्ने देखिन्छ।

सिरिजका दुई प्रतिद्वन्द्वी टिम

यो सिरिजमा नेपालले यूएई र पीएनजीसँगका दुई-दुई खेल खेल्नेछ। हाल सान्दार फर्ममा रहेको यूएई लिग-२ को अंक तालिकामा १४ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ। उता लिगमा खेलेका १२ खेलमा एक खेल पनि जित्न नसकेको पीएनजी अन्तिम स्थानमा छ।

त्यसैले खराब फर्ममा रहेको पीएनजीसँगको दुबै खेल नेपाललाई जित्न त्यति कठिन नपर्ने देखिन्छ। तर आयोजकसमेत रहेको यूएईसँगको खेल भने नेपालका लागि निकै प्रतिस्पर्धात्मक हुनेछ। टी-ट्वान्टी विश्वकप छनोटको निर्णयक सेमिफाइनल खेलमा यूएईसँग नै पराजित भएपछि नेपाल विश्वकपमा पुग्नबाट यो पटक पनि बञ्चित भएको थियो। यूएईले नेपाललाई पराजित गरेर विश्वकपको ढोका मात्र खोलेन कि फाइनलमा आयरल्याण्डलाई नै हराएर छनोट प्रतियोयताको उपाधि नै जित्यो।

यसपछि यसै महिना खेलेका लिग-२ अन्तर्गतकै अर्को सिरिजमा यूएई ओमनसँग दुई खेलमा परजित भएको थियो भने नामिबियालाई दुबै खेलमा हराएको थियो। हेड टू हेड रेकर्ड हेर्ने हो भने नेपालले यूएईसँग हालसम्म खेलेका चार एकदिवसीय खेलमा दुईमा जित र दुईमा हार भोगेको छ। त्यस्तै पीएनजीसँगको भने दुबै खेल जितेको छ।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता हालसम्म खेलेका १६ ओडीआई खेलमा नेपालले नौ खेल जितेको रेकर्ड छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved