कानूनमन्त्री बडू भन्छन्- अबको संसद् बैठकमा महाभियोगबारे छलफल हुन्छ

प्रतिनिधिसभाको अर्को बैठक यही २२ फागुनमा बोलाइएको छ। सत्तारुढ गठबन्धन दलले १ फागुनमा प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

नेपालभ्युज

कानूनमन्त्री बडू भन्छन्- अबको संसद् बैठकमा महाभियोगबारे छलफल हुन्छ
फाइल तस्वीर।

काठमाडौं। कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडूले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिए। उनले नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिए।

त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानूनी व्यवस्था छ। यसको वस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महीनाको समय पाउने पनि बडूले जानकारी दिए।

बडूले भने, “प्रतिनिधिसभाको आउने बैठकमा महाभियोग प्रस्ताव अगाडि बढ्छ। यसबारे सल्लाह भइरहेको छ। किन भने समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले सबैसँग सल्लाह गर्नका लागि अहिल समय लिइरहेका छौँ, अबको बैठकमा यसबारे छलफल हुन्छ।”

प्रतिनिधिसभाको अर्को बैठक यही २२ फागुनमा बोलाइएको छ। सत्तारुढ गठबन्धन दलले १ फागुनमा प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले महाभियोग प्रस्तावका विषयमा शुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताए। उनले आजको संसद् बैठकपछि पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved