निर्माण शुरु भएको ३८ वर्ष बित्यो, ३५ मजदुर मारिए तर पनि बनेन कोटबाडा विमानस्थल

-विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कुनै लेखाजोखा छैन।
-पञ्चायतकालमा निर्माण थालिएको विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेका लोकतान्त्रिक गणतन्त्र आउँदासम्म पञ्चदेखि हालका राजनीतिक दलहरूले चुनावी एजेण्डा मात्रै बनाउँदै आएका छन्।

निर्माण शुरु भएको ३८ वर्ष बित्यो, ३५ मजदुर मारिए तर पनि बनेन कोटबाडा विमानस्थल

सुर्खेत। कालिकोटको नरहरिनाथ गाउँपालिकामा–१ कोटबाडामा रहेको सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्ष भएको छ। वि.सं. २०४२ सालमा निर्माण गर्न थालिएको विमानस्थल अझै पूरा भएको छैन। विमानस्थल निर्माणको काम थालिएको झण्डै चार दशक लामो समय बितेको मात्रै होइन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन्।

विगत ३८ वर्षदेखि निर्माण थालिएको विमानस्थलमा हालका प्रधानममन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीदेखि कयौं मन्त्रीहरू कोटबाडा विमानस्थलमा पुगेर राजनीतिक भाषण गरेका छन्। चुनावका बेला भोट बैंकका रूपमा कोटबाडालाई प्रयोग गरिए पनि हालसम्म विमानस्थल बन्न सकेको छैन।

उसो त कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्र पनि त्यही हो। नरहरिनाथ गाउँपालिका स्थानीय बासिन्दा रहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनेका खड्कबहादुर विश्वकर्माले पनि विमानस्थल निर्माण गर्ने वाचा गरेका थिए।

विभिन्न राजनीतिक दलका शिर्ष नेताहरू आएर विमानस्थल सञ्चालन गर्ने वाचा गरेको भएपनि हालसम्म पनि विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय विमल विष्टले बताए। ‘‘चुनावका बेला सबैले विमानस्थल बनाउने वाचा गर्छन्,’’ उनले भने,‘‘कसैले पनि बनाउने तयारी गरेको छैन।’’

परीक्षण उडान हेर्न आएका स्थानीय

हाल कर्णाली प्रदेशका मुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुदाँ २०७३ माघ २९ गते परीक्षण उडान भएको गरिएको थियो। त्यसपछि कसैको चासो नजाँदा अहिले कोटबाडा विमानस्थलमा परीक्षण उडानमै सीमित भएको छ।

परीक्षण उडान हेर्न आएका स्थानीय

त्यसको एक वर्षपछि भएको प्रदेश र प्रतिनिधिसभाको चुनावसभा सम्बोधन गर्न त्यही कोटबाडा २०७० साल कार्तिक ७ गते विमानस्थलमा पुगेर नियमित उडान, स्तरोन्नतिको काम गर्ने र विमानस्थल निर्माण क्रममा मारिएका मजदुरको नाममा सालिक बनाउने घोषणा गरेको अहिलेसम्म पनि त्यसको कुनै काम हुन नसकेको पूर्व जिल्ला विकास समितिका सदस्य कटबहादुर विष्टले बताए।

निर्माण हुँदा तीन रुपैयाँ ज्याला थियो, अहिले १५ सय पुग्यो

कोटबाडा विमानस्थलको निर्माण कार्य शुरु हुँदा बि.स. २०४२ सालमा मजदुरले काम गरेबापत दैनिक तीन रुपैयाँ ज्याला पाउँथे। तीन रुपैयाँ ज्यालामा काम गर्ने त्यहाँका मजदुरहरूले अहिले काम गर्दा दैनिक १५ सय ज्याला पाउने गरेका छन्।
विमानस्थल निर्माण थालिएको ३८ बर्षपछि विमानस्थलको निर्माण कार्य पुरा भएको छैन। अहिले विमानस्थल कालोपत्रेको काम भइरहेको छ।

विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कुनै लेखाजोखा छैन। कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो कुनै लेखाजोखा नरहेको जिल्ला समन्वय समिति कालिकोटका इन्जिनियर इञ्जिनियर चक्रबहादुर शाही बताए। ‘‘कहिले ठेक्कामार्फत कहिले उपभोक्ता समिति मार्फत काम भयो,’’ उनले भने, ‘‘अहिलेसम्म खर्च कति भयो अत्तोपत्तो छैन।’’

दैनिक तीन रुपैयाँ पाउने मजदुरको ज्याला हजार पुग्यो कोटबाडा विमानस्थल निर्माण कार्य कुन गतिमा अघि बढिरहेको भन्ने कुरा थाहा पाउन त्यहाँ कार्यरत कामदारको ज्यालालाई उदाहरणको रुपमा लिन सकिने पूर्व जिल्ला विकास समितिका सदस्य कटबहादुर बिष्टका बताए। ‘‘वि.सं. २०४२ सालमा निर्माण कार्य शुरु हुँदा त्यहाँ काम गर्ने मजदुरको दैनिक ज्याला थियो रुपैयाँ थियो,’’ उनले भने,‘‘अहिले यो बढेर १५ सय पुगिसकेको छ, तर काम अझै सम्पन्न भएको छैन।’’
चुनावी नारामै सीमित

पञ्चायतकालमा निर्माण थालिएको विमानस्थल बहुदलीय व्यवस्था हुँदै अहिलेका लोकतान्त्रिक गणतन्त्र आउँदासम्म पञ्चदेखि हालका राजनीतिक दलहरूले चुनावी एजेण्डा मात्रै बनाउँदै आएका छन्। यही विमानस्थललाई नारा बनाएर धेरै नेता केन्द्रमा पनि पुगिसके। तर, चुनाव जितिसकेपछि कसैले पनि यसको निर्माणमा इमान्दार प्रयत्न गरेका छैनन्। वि.सं. २०६४ को संविधानसभा चुनावमा कांग्रेस, एमाले, तत्कालीन एमाओवादी र राप्रपासहित सबै प्रमुख दलका उम्मेवारले यो विमानस्थललाई पहिलो प्राथमिकता दिएको बताउँदै भोट मागे। त्यसपछि संविधानसभाको दोस्रो निर्वाचनमा पनि यही एजेण्डाका लागि भोट मागियो। २०६४ सालको निर्वाचनमा त्यही नारा दिएर भोट मागियो।

विमानस्थललाई चुनावी नारामै सीमित बनाएको नरहरिनाथ गाउँपालिका–३ का नगेन्द्रबहादुर बिष्टले बताए। ‘‘विमानस्थल सबैको दलको चुवानी नारामात्र बन्ने गरेको छ। परीक्षण उडानको चर्चा पनि चर्चामै सीमित भयो,’’ उनले भने,‘‘अहिलेसम्म पनि कुनै काम भएको छैन।’’

स्तरोन्नतिको काम हुँदैछ

स्थानीय सरकारले विमानस्थल सञ्चालनका लागि पहल थालेको र अहिले विमानस्थलको धावनमार्गको कालोपत्रे, रिपिटर टावर बनाउने काम भइरहेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन्।

विमानस्थलको घेरबार र धावनमार्ग निर्माण गर्ने काम सकिसकेको विमानस्थलका निर्माण व्यवसायी पदमबहादुर खड्काले बताए। ‘‘कालोपत्रे गर्ने काम शुरु गरेका छौँ, निर्माणमा अवरोध नभएमा आउने वैशाखसम्म विमानस्थलको काम पुरा गरेर हस्तान्त्रण गर्ने तयारी छ,’’ उनले भने,‘‘सरकारसँग १२ करोड ३५ लाखको लागतमा १८ महिना भित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता गरेको थियौं।’’

२०७४ साल कार्तिक ७ गते प्रधानमन्त्री शेरशबहादुर देउवाले चुनावी सभालाई सम्बोधन गर्न कोटबाडा विमानस्थलमा पुगेर निर्माणाधीन विमानस्थलमा मारिएका मजदुरको सम्झनामा शालिक बनाइने बनाउने बताएका थिए। कोटबाडा विमानस्थलमा नै नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै विमानस्थल निर्माण क्रममा मारिएका मजदुरको सम्झनामा शालिक बताए पनि अहिलेसम्म कुनै काम अगाडि बढको छैन।

विमानस्थलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले भनेका थिए ‘‘कोटबाडा विमानस्थल निर्माण गर्न यहाँका धेरै मानिसको बलिदान भएको बताउँदै सरकारकै पहलमा नै मारिएका मजदुर सबैको सम्झना शालिक बनाइने छ।’’

यसरी मारिएका थिए कोटबाडा विमानस्थलमा मजदुर

विसं.२०५८ साल फाल्गुन ४ गते अछामको सदरमुकाम मंगलसेन र साफेबगरमा माओवादीले हमला गरे। माओवादी मंगलसेन र साफेबगरमा हमला गरेपछि माओवादीका जनमुक्ति सेना कालिकोट हुँदै आए। माओवादी कालिकोट पुगेको खबर पाएपछि तत्कालिन शाही नेपाली सेनाका हेलिकप्टर कोटबाडा निमार्णाधिन विमानस्थल फागुन ११ गते बस्न खोजे। तर, माओवादीका सेनाले बस्न लागेका हेलिकोप्टरमा गोली प्रहार गरे। माओवादी लडाकु फागुन १२ गते राती भागेपछि फागुन १३ गते तत्कालिन शाही नेपाली सेनाका हेलिकप्टर बसे।

हेलिकप्टर अवतरण भएपछि त्यहाँ काम गर्ने मजदुरहरू डराएर स्थानीय गंगा बिष्टको घरमा खाना खाइरहेको बेला सेना उनीहरूलाई गोली हानेर मारेको स्थानीय विमल बिष्टले बताए।

को को मारिएका थिए ३५ जना मजदुर ?

२०५८ फागुन १३ गते कालिकोटको कोटबाडामा माओवादी भन्दै तत्कालिन सरकारी सेनाले ३५ जना मजदुरसहित ६ जना स्थानीय मारेका थिए।

स्थानीय ६ महीने नाबालक नवीन बिष्टसहित लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश बिष्ट, टेक बिष्ट, गंगा बिष्ट कोटबाडाकै स्थानीय बिसिन्दा थिए।

त्यस्तै, मारिने मजदुरहरूमा धादिङ्ग जोगीमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बरामलगाएतका रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved