उर्जा क्षेत्रमा सहकार्यका लागि गठित नेपाल–भारत संयुक्त कार्यदलको बैठक

नेपालभ्युज

उर्जा क्षेत्रमा सहकार्यका लागि गठित नेपाल–भारत संयुक्त कार्यदलको बैठक

काठमाडौं। उर्जा क्षेत्रमा सहकार्यका लागि गठित नेपाल–भारत संयुक्त कार्यदलको नवौं बैठक आज काठमाडौंमा बसेको छ। यसक्रममा दुबै पक्षले उर्जा क्षेत्रको बिस्तृत सहकार्यबारे समिक्षा गरेको भारतीय दूतावासले ट्वीटरमार्फत जनाएको छ।

कार्यक्रमअनुसार आज सहसचिवस्तरीय बैठकको आयोजना गरिएको हो। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, विद्युत् विकास विभागका महानिर्देशक सञ्जीव देवलगायत सहभागी थिए। भारतका तर्फबाट विद्युत् मन्त्रालयका सहसचिव घनश्यामप्रसादलगायतको सहभागिता थियो।

आजको बैठकमा साझा एजेण्डा तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक यसपटक भौतिकरूपमा नै हुन लागेको हो। विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठक भारतको बैङ्गलोरमा भएको थियो।

यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको होे। बिहीबारको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालयमातहतका निकायका अधिकारी सहभागी हुनेछन्। यस्तै भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ।

बैठकमा सहभागी विभागका महानिर्देशक देवका अनुसार न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण, हाल सञ्चालनमा रहेका प्रसारण लाइनको क्षमता वृद्धि र विद्युत् व्यापारलगायतका विषयमा सकारात्मक छलफल भएको छ।

ऊर्जा क्षेत्रको विकासका लागि दुवै देश एकापसमा मिलेर काम गर्ने विषयमा सौहार्दपूर्ण तरिकाले महत्वपूर्ण छलफल भएको र बिहीबारको बैठकमा उपयुक्त निर्णय हुनेछ। नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गरिएको थियो। सोही प्रस्तावलाई केन्द्रमा राखेर छलफल भएको हो।

नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ। यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो।

निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ। यस्तै बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल भएको छ।

आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्नेगरी यसपटक प्रयास गरिएको सम्बद्ध अधिकारीले बताएका छन्। सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ।

कूल ४०० केभी क्षमताको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ। विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणबारेमा सहमति जुटाएको थियो।

यस्तै कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिका बारेमा समेत आजको बैठकमा छलफल भएको छ।

बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको प्रगतिका विषयमा विचारविमर्श भएको थियो।

विसं २०७६ मा भारतको बैङ्गलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बङ्गलादेशबीच विद्युत् आदानप्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved