विश्वकप छनोटअघि नेपालको शानदार प्रदर्शन

विश्वकप छनोटअघि नेपालको शानदार प्रदर्शन

काठमाडौं। टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगिताको तयारीका रुपमा हेरिएको चार देशीय क्रिकेट सिरिजमा नेपालले ओमानलाई उसैको घरेलु मैदानमा ६ विकेटले हराएको छ। यो सिरिजमा अब नेपालले (भोलि) युएई र सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा खेलिएको पहिलो अन्तराष्ट्रिय खेल भएकाले पनि ओमानविरूद्धको भिडन्तको विशेष महत्व रह्यो। २१ वर्षीय सन्दीप यो खेलबाट अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा कप्तानी गर्ने आठौं कान्छा खेलाडी समेत बनेका छन्। दुई महीना अघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी दिएको थियो।

विश्वकप छनोटमा बलियो आँकिएका चार टिम नै अहिले सिरिजमा सहभागी छन्। त्यसैकारण, पनि यो सिरिजलाई महत्वपूर्ण मानिएको छ। र, ओमानलाई पराजित गरेर नेपालले विश्वकपको दौडमा आफु पनि कमजोर नरहेको स्पष्ट सन्देश दिएको छ। यो सिरिजअघि नेपालको ब्याटिङ पक्ष सुधारिएको र बलिङ पक्ष खस्किएको अनुमान लगाइएको थियो, जो गलत देखियो।

ओमानविरुद्ध बलिङमा नेपाल हाबी भयो भने ब्याटिङमा अझै सुधारको खाँचो रहेको देखियो। नेपालका प्रशिक्षक पुबुुदु दासनायकेले टिममा रहेका सबै १७ जनालाई सिरिजमा मौका दिने मनस्थिती बनाएका छन्। र, यही सिरिजमा गरेको प्रदर्शनकै आधारमा विश्वकप छनोटका लागि १४ सदस्यीय टिम घोषणा गर्ने उनको योजना छ।

उनले पहिलो खेलमा प्रमुख ओपनर कुशल भुर्तेल, बिष्फोटक ब्याट्सम्यान लोकेश बम र अलराउण्डर करण केसीलाई बेञ्चमा राख्दाको असर नेपालको ब्याटिङमा देखिएको छ। मध्यक्रमका दीपेन्द्र सिंह ऐरीबाहेक आजको खेलमा अन्य नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्नुले पनि यी तीन खेलाडीको अभाव पुष्टि गरेको छ।

१३६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनरद्धय आसिफ शेखले १४ र र प्रदिप ऐरीले ४ रनमात्रै बनाए। चौथो ओभरमा २२ रन जोड्ने क्रममा नेपालले दुई विकेट गुमाइसकेको थियो। सुरुआतबाटै लगातार आक्रामक लामो सट खेल्न खोज्दा आसिफ आउट भएका थिए। दुबै ओपनर सस्तैमा समेटिएपछि इनिङ जोगाउने जिम्मा ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीको काँधमा आयो।

चाँडै विकेट खस्दा दबाबमा परेको नेपालको ब्याटिङ पनि ओमानको जस्तै सुस्त भयो। जहाँ ६ ओभरको पावर प्लेमा नेपालले केवल ३३ रन जोड्न सक्यो। तर, स्लो खेल खेलेपनि धरापमा पर्न लागेको नेपालको इनिङलाई ज्ञानेन्द्रसँग मिलेर दिपेन्द्रले बचाए। यी दुईले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरेका थिए। तर, ११ औ ओभरमा ज्ञानेन्द्र मल्ल १३ रन बनाएर रनआउट भएपछि नेपाल फेरि कठिन अवस्थामा पुग्यो।

यसपछि दिपेन्द्रले टिमलाई तान्न एंकर रोल खेले, उनलाई आरिफ शेखले साथ दिए। यी दुईले चौथो विकेटको लागि ४५ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए।

दीपेन्द्रले समालिएर ब्याटिङ गर्दै बेला बेलामा बाउण्ड्री पनि प्रहार गरिरहेका थिए। उनले १८ औं ओभरको पाँचौ बलमा रिभर्स स्विपमार्फत चौका प्रहार गर्दै अर्धशतक पूरा गरे, यतिबेलासम्म उनले ४६ बल सामना गरेका थिए। यसपछि लगतै अर्को बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि ओमान दबाबमा परेको थियो।

उनले नै ५३ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित ७३ रन योगदान गरेपछि नेपालले अन्तिम तीन बल बाँकी छँदा चार विकेटको क्षतिमा जीत हासिल ग¥यो। दीपेन्द्रलाई साथ दिएका आरिफले २० बलमा २५ रन जोडेका थिए।

नेपालको उत्कृष्ट बलिङ

कप्तान सन्दीप लामिछानेले ओमानको मस्कटस्थित अल एमरेट स्टेडियममा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए। नेपालको उत्कृष्ट बलिङको कारण घरेलु टिम ओमान पहिलो इनिङमा २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १३५ रनमा रोकिन पुग्यो।

सुरुआती दुई ओभारमा १८ रन खाएको नेपाललाई तेस्रो ओभरको अन्तिम बलमा फास्ट बलर अभिनास बोहोराले ‘ब्रेक थु्र’ दिलाए। उनले ओमानका ओपनर कश्यप प्रजापतिलाई बोल्ड आउट गरेका थिए।

लगत्तै, चौथो ओभरको पहिलो बलमा नै आरिफ सेखले अर्का ओपनर जतिन्दर सिंहलाई पनि पोभेलियनको बाटो देखाए, यसरी २४ रनमा दुबै ओपनर गुमाएपछि दबाबमा परेको ओमानले ६ ओभरको पावर प्लेमा ४३ रनमा तीन विकेट गुमायो।

त्यसपछि नेपालको कसिलो बलिङसामु ओमानले विकेट जोगाएर निकै सुस्त खेल्न थाल्यो। जसकारण आयोजक ओमान पूरै २० ओभर खेलेपनि १३५ रनमा समेटिन पुगेको थियो। नेपालबाट अभिनास बोहोराले चार ओभरमा मात्र २६ रन खर्चेर तीन विकेट लिए। त्यसैगरी, कप्तान सन्दिप, कमल ऐरी र अरिफ शेखले एक–एक विकेट लिए।

नेपाली बलरले विशेषगरी डेथ ओभरमा कसिलो बलिङ गरेका थिए। ओमानबाट कप्तान जिसान मक्सुदले सवार्धिक ४३ र महोमद नदिमले ३१ रन जोडेका थिए।

यहि खेलबाट दुई युवा खेलाडी विवेक यादव र सागर ढकालले नेपाली राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्। तर स्पिनर सागरको डेब्यू सुखद् भएन। उनले बलिङ गरेको तीन ओभरमा ३६ रन खाए। अलराउण्डर विवेकले भने एक ओभर बलिङ गरेर मात्र पाँच रन खर्चिए, तर ब्याटिङमा उनको पालो आएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved