आईपीएलको मेगा अक्सनमा यो पटक बिक्लान् त सन्दीप?

जुनसुकै टिमले लेग स्पिनर सन्दीपलाई किन्न सक्छन्। फेरि उनले आफ्नो मूल्य धेरै राखेका पनि छैनन्। ४० लाख भारुमा ब्याकअप खेलाडी किन्न कुनै पनि टिमलाई गाह्रो पनि पर्दैन।

आईपीएलको मेगा अक्सनमा यो पटक बिक्लान् त सन्दीप?

काठमाडौं। आउँदो शनिबार नेपाली क्रिकेट टिम ओमानमा टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगिता खेल्नु अघिको अभ्यास खेलमा यूएईसँग भिडिरहेको हुनेछ। पहिलो पटक नेपाली टिमको कप्तान बनेका सन्दीप उक्त दिन दोहोरो दबाबमा हुनेछन्।

हाल राम्रो फर्ममा रहेको यूएईसँगको खेलमा टिमको नेतृत्व गरिरहेका सन्दीप दबाबमा रहनु स्वाभाविक हो। तर उनीमाथि अर्को तनाव आईपीएलमा कुनै टिमले आफूलाई किन्ला कि नकिन्ला भनेर पनि हुनेछ।

सोहि शनिवार र आइतबार विश्व क्रिकेट कै सर्वाधिक सफल र प्रख्यात ‘फ्रेन्चाइज क्रिकेट लिग’ आईपीएल (इण्डियन प्रिमियर लिग) क्रिकेटको मेगा अक्सन हुँदैछ।
यसअघि सन् २०१८ देखि २०२० सम्म तिन वर्ष डेल्ली क्यापिटलस्बाट आईपीएल खेलेका उनलाई गत वर्षको अक्सनमा भने कुनैपनि टिमले खरिद गरेन।

यो पटक पनि नेपालबाट अक्सनका लागि १५ खेलाडीको नाम दर्ता गराइ एपनि सर्ट लिष्टमा सन्दिप मात्र छानिए। गत वर्ष जस्तै यो वर्ष पनि उनले आफ्नो आधार मूल्य ४० लाख भारु तोकेका छन्।

सन्दीप किन बिक्न सक्लान्?

गत वर्षको अक्सन सानो अक्सन थियो। जसमा धेरै टिमले आफूलाई नचाहिने केही खेलाडी मात्र छाडेर केही नयाँ खेलाडी किनेका थिए। त्यसैले डेल्लीले छाडेको सन्दीपलाई कसैले किन्न चाहेन।

तर यो पटक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मेगा अक्सन गर्दैछ। जसमा हरेक टिमले अक्सन अघि बढीमा चार खेलाडी मात्र रिटेन गर्न पाउँछन्। बाँकी सबै विश्वभरिका खेलाडी अक्सनको टेबलमा हुनेछन्।

त्यसमाथि यो पटक देखि आयोजक बीसीसीआईले आईपीएलमा दुई नयाँ टिम थपेको छ, लखनउ सुपर जाइन्टस् र अहेमदाबाद टाइटान्स्। कूल १० टिम भएपछि खेलाडीको माग पनि धेरै हुँनेछ। त्यसैले कुनै न कुनै टिमको आँखा सन्दीपमाथि पर्न सक्छ।

भर्खरै अर्को ठूलो ‘फ्रेन्चाइज लिग’ अष्ट्रेलियाको बिग ब्यास खेलेको ताजा अनुभवको आधारमा पनि सन्दीप बिक्न सक्ने देखिन्छ। उनी लगातार चौथो वर्ष बिग ब्यास लिग खेलेर नेपाल फर्किएका हुन्।

कोभिड अघिका एक समयमा उनी विश्वका सबै भन्दा बढी ‘फ्रेन्चाइज लिग’ खेल्ने खेलाडीमा पर्थे। त्यसैले विश्व प्रसिद्ध खेलाडीहरूसँग ‘ड्र«ेसिङ रुम सेयर’ गर्ने अवसर उनले पाएका छन्।

हालका विश्वका अधिकांस स्टार खेलाडीहरूसँग वा विरुद्धमा खेल खेलेको अनुभव पनि उनीसँग छ। बिग म्याच र स्टार खेलाडीसँग खेलेको त्यहि अनुभवको आधारमा पनि अक्सनमा आईपीएल टिमले उनलाई विश्वास गर्न सक्छ।

सन्दीपलाई अक्सनमा मुम्बाई इण्डियन्स्, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंगस्ले खरिद गर्न सक्ने संभावना बढी छ। किनकि यी टिमले कुनै पनि स्पिन बलरलाई रिटेन गरेका छैनन्।

त्यस्तै सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सले पनि पार्टटाइम स्पनिरलाई मात्र रिटेन गरेकाले सन्दीप यी टिममा जानसक्ने संभावना पनि छ।

यीबाहेक अन्य टिमले पनि एक भन्दा बढी स्पिनर रिटेन गरेका छैनन्। स्पिन बलिङमा पनि भेराइटीका लागि र प्रमुख स्पिनरको ब्याकअपको रूपमा पनि जुनसुकै टिमले लेग स्पिनर सन्दीपलाई किन्न सक्छन्। फेरि उनले आफ्नो मूल्य धेरै राखेका पनि छैनन्। ४० लाख भारुमा ब्याकअप खेलाडी किन्न कुनै पनि टिमलाई गाह्रो पनि पर्दैन।

यसपछि अब मेगा अक्सन चाडै नहुने संकेत बीसीसीआईले गरेको छ। त्यसैले धेरै टिमको आँखा युवा खेलाडीमा हुनेछ। जसकारण पनि सन्दीप पुनः आईपीएलमा फर्कने यो सुनौलो मौका हो।

म्याचमा प्रदर्शनका लागि मात्र होइन सन्दीपलाई टिममा भित्र्याएपछि क्लबको ‘फ्यान फलोइङ’ पनि ह्वात्तै बढ्ने गर्छ। सन्दीप जुन टिममा गयो उनका नेपाली समर्थकहरू स्वतः त्यो टिमको पनि समर्थक भैहाल्छन्।

डेल्लीले पनि उनलाई खेलाडीसँगै सोसियल मिडियामा क्लबको लोकप्रियता बढाउने माध्यमको रूपमा पनि प्रयोग गरेको थियो। यता बिग ब्यासमा खेल्दा पनि सन्दीपकै मात्र खेल हेर्न पनि अष्ट्रेलियामा रहेका धेरै नेपाली मैदानमा पुग्ने गर्थे। ‘फ्यान फेबरेट’ क्रिकेटर भएका कारण टिमको प्रचारका लागि पनि विशेषगरी दुई नयाँ टिमले उनलाई किन्न सक्छन्।

सन्दीप किन नबिक्लान ?

सन्दीपलाई आईपीएलमा कुनैपनि टिमले किन्न नचाहनुको मुख्य कारण हो, उनलाई किनेमा खेलमा बिदेशी कोटामा खेलाउन पर्छ। आईपीएलमा हरेक खेलमा एक टिमले बढीमा चार जना मात्र विदेशी खेलाडी खेलाउन पाउने नियम छ।

जसकारण महंगो पैसामा किनेका स्टार विदेशी खेलाडीलाई पनि बेन्चमा नै राख्नुपर्ने बाध्यता टिममा छ। त्यसैले आईपीएल टिमले सन्दीप खेल्ने कोटामा टेष्ट प्लेइइङ राष्ट्र कै अन्य स्टार खेलाडी खेलाउन पाउँछन्। जसको तुलनामा सन्दीप औसत खेलाडीमा पर्छन्।

यदि आईपीएलमा एक एशोसियट खेलाडी खेलाउनै पर्ने कोटा भैदिएको भए सन्दीपलाई किन्नमा टिमको झगडा पर्थ्यो।

सन्दीपको लेभलको स्पिनर भारतको जुनियर टिममा र क्षेत्रिय तहमा पनि धेरै छन्। त्यसैले टिमहरू पनि औसत विदेशी खेलाडी किन्नुभन्दा भारतीय खेलाडी किनेर विदेशी खेलाडी कोटमा भने स्टार र अत्यावश्यक खेलाडी मात्र किन्न चाहन्छन्।

गत वर्ष पनि अष्ट्रेलियाका एडम जम्पा, अफगानिस्तानका मुजिबुर रहेमान जस्ता स्टार स्पिनरले पनि आईपीएलमा अधिकांश खेलमा बेन्च मात्र तताएर बसेका थिए।
त्यसैले यो पटक पनि उनीमाथि कुनैपनि टिमले बोली नलागाउन पनि सक्छन्।

यता यो पटकको बिग ब्यास लिगमा पनि उनको प्रदर्शन औसत मात्र भयो। उनले लिगमा कूल १४ खेल खेलेकोमा ७.७९ औसतमा रन दिएर १४ विकेट लिएका थिए।
न त उनले कुनै पनि खेलमा गेमचेन्जर पारी खेल्न सके न त म्यान अफ दी म्याच अवार्ड नै पाए।

सन्दीपको ‘फ्रेन्चाइज लिग’ यात्रा

सन् २०१६ को आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा कूल १४ विकेट लिएपछि उनको स्पिन बलिङ कला अष्ट्रेलियाका पूर्वस्टार क्रिकेटर माइकल क्लार्कको नजरमा परेको थियो।

यसपछि सन् २०१६–१७ मा अष्ट्रेलियाको न्यू साउथ वेल्स् प्रिमियर क्रिकेट प्रतियोगितका लागि माइकल क्लार्कले आफ्नो क्लब वेष्टर्न सबर्बबाट खेल्ने अबसर उनलाई दिए।

माइकल क्लार्क कै सहयोगमा सन् २०१८ को आईपीएल अक्सनमा डेल्लीका प्रशिक्षक रिकी पोन्टिङले किनेपछि उनले करियरमा पछाडी फर्केर हेर्नु परेन।

आईपीएलसँगै सोहि वर्ष उनले क्यानडाको ग्लोबल टी–ट्वान्टी लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास, बंगलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग पनि खेले। अर्को वर्ष उनले वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिगमा पनि सहभागिता जनाएका थिए।

आईपीएलको तिन सिजन डेल्लीले उनलाई टिममा राखेर सन् २०२० पछि फुकुवा गरेको थियो। २०१८ मा डेल्लीबाट खेलेको ३ खेलमा उनले ५ विकेट लिँदा २०१९ मा ६ खेलमा ८ विकेट झारेका थिए। तर सन् २०२० मा भने देल्ली टिमले उनलाई एक खेलमा पनि मौका दिएन।

कोभिडका कारण गत डेढ वर्षमा उनले नेपाल कै एभरेष्ट प्रिमियर लिगबाहेक अन्य विदेशी लिग खेलेको भनेको एउटा बिग ब्यास मात्र हो। कोभिडका कारण समयमा भीसा पाउन नसकेकोले उनले इंल्याण्डमा पहिलो पटक आयोजना भएको १०० बलको क्लब क्रिकेट प्रतियोगिता ‘दी हण्ड्रेड’ सँगै इंल्याण्ड कै टी–ट्वान्टी लिग ‘भाइटिलिटी ब्लाष्ट’ पनि खेल्न पाएका थिएनन्।

त्यसैगरि वेष्ट इण्डिजको २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा पनि ‘ट्रिनिड्याड नाइट राइडर्स’ ले उनलाई टिममा आबद्ध गरेको थियो। तर कोभिडका कारण उनले यो प्रतियोगिता पनि गुमाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved