तयार भयो ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, छिट्टै कार्यान्वयन हुने

निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने विषय, शब्दावली, उखानटुक्का, ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण, अधिकार संरक्षण, सामाजिक संस्कार आदिका बारेमा उल्लेख गरिएको छ।

नेपालभ्युज

तयार भयो ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, छिट्टै कार्यान्वयन हुने

काठमाडौं। प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ। तयार भएको निर्देशिका हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सोमबार उक्त जानकारी दिए।

निर्देशिका हस्तान्तरण गर्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष एवं सदस्य गोपाल बुढाथोकीले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६)को दफा १५ लाई टेकेर सो निर्देशिका तयार पारिएको बताए। उनले समाजका हरेक पक्ष र क्षेत्रप्रति पत्रकारिता जगत् जिम्मेवार हुनुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक र सम्मानपूर्ण बनाउन भूमिका खेल्न ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तयार गरिएको प्रष्ट पारे।

गत ८ मंसीरमा बसेको काउन्सिलको बोर्ड बैठकले ज्येष्ठ नागरिकका सम्बन्धमा नेपाली मिडियामा सम्मानजनक भाषाका लागि यससम्बन्धी निर्देशिका तयार गर्न सदस्यद्वय बुढाथोकी र ठाकुरप्रसाद बेलबासे तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललाई जिम्मेवारी दिएको थियो।

निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने विषय, शब्दावली, उखानटुक्का, ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण, अधिकार संरक्षण, सामाजिक संस्कार आदिका बारेमा उल्लेख गरिएको छ।

सञ्चार माध्यमले ज्येष्ठ नागरिकसम्बन्धी समाचार वा सामग्री प्रकाशन/प्रसारण गर्दा समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक भाव जगाउने, ज्येष्ठ नागरिकका अधिकारको संरक्षण, सम्वद्र्धन र सुविधाबारे सुसूचित गर्नेगरी गर्नुपर्ने विषय निर्देशिकामा प्रष्ट पारिएको संयोजक बुढाथोकीले जानकारी दिए। सञ्चार माध्यमहरू ज्येष्ठ नागरिकको मर्यादा, समाज र राष्ट्रका लागि ज्येष्ठ नागरिकको योगदानलगायतका विषयमा गम्भीर बन्नुपर्नेमा निर्देशिकाले प्रेरित गर्ने उनको भनाइ छ।

काउन्सिलको कार्यभार, कार्यक्षेत्र र दायर बढ्दै गएको भन्दै अध्यक्ष बालकृष्ण बस्नेतले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तयार पार्ने टोलीलाई धन्यवाद दिए। उनले प्रविधिको बृहत्तर विकास, नयाँ मिडियाको व्यापकता र सामाजिक सञ्जालको प्रयोगले काउन्सिलको दायरा बढाउँदै लगेकाले तयार भएको ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

अध्यक्ष बस्नेतले सञ्चार माध्यमले ज्येष्ठ नागरिकबारे सम्प्रेषण गर्ने सामग्री, व्यवहार र उनीहरूको सम्मान र अधिकार रक्षाका लागि तथा देशको संस्कृति सभ्यताको संरक्षणमा समेत यस निर्देशिकाले सघाउ पुर्‍याउने बताए।

निर्देशिका तयार पार्दा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, एजिङ नेपाल, सूचना तथा प्रसारण विभागलगायत सरोकारवाला संघ/संस्थाको सुझाव सङ्कलन गरिएको थियो।

यसअघि, काउन्सिलले बालमैत्री सञ्चार निर्देशिका–२०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३ र महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६ जारी गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved