औद्योगिक क्षेत्र आफूमातहत ल्याउन पहल गर्दै बागमती प्रदेश

यसअघि डोरमणि पौडेल सरकारले पनि मन्त्रिपरिषद्बाट निर्णय नै गराएर यसको पहल गरे पनि त्यसको ठोस उपलब्धि हासिल भएन। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँगै भेट गरेका छन्।

नेपालभ्युज

औद्योगिक क्षेत्र आफूमातहत ल्याउन पहल गर्दै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका चार वटा औद्योगिक क्षेत्र आफूमातहत ल्याउन पहल गरेको छ।

यसअघि डोरमणि पौडेल सरकारले पनि मन्त्रिपरिषद्बाट निर्णय नै गराएर यसको पहल गरे पनि त्यसको ठोस उपलब्धि हासिल भएन। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँगै भेट गरेका छन्।

प्रदेश भित्र रहेका उद्योग एवम् व्यवसायहरुको संरक्षण एवम् प्रबद्र्धन गर्नका लागि पनि औद्योगिक क्षेत्रको व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवारी पाउनुपर्ने मुख्यमन्त्री पाण्डेको दाबी छ। उनले व्यवस्थित ढंगबाट सञ्चालन हुन नसकेका बागमती प्रदेश भित्रका बालाजु, भक्तपुर, पाटन र हेटौंडा औद्योगिक क्षेत्र प्रदेशलाई हस्तान्तरण गर्न समेत माग गरे।

“यसले प्रदेश सरकारहरुले नजिकबाट त्यस्ता औद्योगिक क्षेत्रहरुहरुको व्यवस्थापन गर्दा विभिन्न विषयहरु एकसाथ सम्बोधन गर्न सकिन्छ,” उनले भने, “ती क्षेत्रमा मौजुदा उद्योगहरुको सञ्चालन र खाली क्षेत्रमा नयाँ उद्योगहरुको स्थापना एवम् सञ्चालन गर्न प्रदेश सरकारले समन्वयकारी भूमिका खेल्ने भएकोले यसतर्फ द्रुत गतिमा निर्णय हुनुपर्छ।”

चारै वटा औद्योगिक क्षेत्रको विकास र संवर्द्धनका लागि प्रदेश सरकार सक्षम रहेको उनले बताए।

“यी चारै वटा औद्योगिक क्षेत्रहरु अहिले वेवारिसे अवस्थामा छन्,” उनले भने, “संघीय सरकारको यतातर्फ ध्यान पुगेको छैन। सिंहदरबारलाई यो औद्योगिक क्षेत्रको विषयमा ज्ञान नै छैन। यसको समस्याको विषयमा थाहा नै छैन। तसर्थ हामीले यी औद्योगिक क्षेत्रको व्यवस्थाप प्रभावकारी रुपमा गर्न सक्छौं।”

उनले प्रदेश सरकार मातहत औद्योगिक क्षेत्र आएमा यसमा देखिएको समस्याको तत्काल सम्बोधन गर्न र नयाँ उद्योगलाई प्रवर्द्धन गर्ने गरी नीति तय गरिने बताए। उनले अहिले प्रदेशमा उद्योग हेर्ने छुट्टै मन्त्रालय नै गठन गरिएको भन्दै यसले उद्योग क्षेत्रको विकासमा प्रभावकारी काम गर्ने दाबी गरे।

‘यस अघि उद्योग, पर्यटन, वन हेर्ने गरी एउटै मन्त्रालय थियो। यसले पर्यटनसँग सम्बन्धित काम मात्रै धेरै गर्थ्यो,” उनले भने, “पर्यटनको पनि भ्युटावर निर्माण गर्ने काममा मात्रै केन्द्रित थियो। औद्योगिक विकासका लागि १० लाख रुपैयाँको कार्यक्रम पनि प्रभावकारी रूपमा हुन सकेको छैन। अहिले उद्योग र वाणिज्य क्षेत्र हेर्ने गरी अलग्गै मन्त्रालय गठन गरिएको छ। यसले प्रभावकारी रुपमा काम गर्न सक्छ।”

गत शुक्रबार आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले चार वटा औद्योगिक क्षेत्र प्रदेशमातहत ल्याउने पहल भएको बताए। यसको ठोस परिणाम केही दिनमा नै देखिने उनको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved