गुलाफलाई महामारी र चिसोको मार, खेती ब्यूताउँने प्रयासमा कृषक

गुलाफलाई महामारी र चिसोको मार, खेती ब्यूताउँने प्रयासमा कृषक

काठमाडौं । कोभिड १९ को महामारीले निम्त्याएको लकडाउनले व्यापार–व्यवसायमा ठूलो असर पुर्‍यायो। तिमध्ये एक हो फूल खेति।


लकडाउनले नागार्जुन नगरपालिका वडा नं ८ घट्टेखोलामा ३२ वर्षिया अञ्जना आचार्यको ए एस कट्फ्लावर नर्सरी फार्ममा पनि असर गर्यो। तर पछिल्लो समय फूल खेतिको बजार ब्युँझाउने कोशिसमा छन् उनीहरु ।
यो भ्यालेनटाइनका लागि उनले फूलहरू बजार पठाउन थालेकी छन्।

“ फूल खेतिको मुख्य सिजन नै बैशाखबाट सुरु हुने हो। तर कोभिडको कारण भएको लकडाउनले दुई वर्ष असर पुर्‍यायो,” उनी भन्छिन्, “फूलको खेति अन्य तरकारी फलफूल खेतिजस्तो, खानेकुराजस्तो होइन, सजावटको लागि प्रयोग गर्ने भयो। भएकोले मानिसले प्रयोग नगरेको भएर धेरै असर प¥यो। लकडाउनले गर्दा बजार पठाउनु पर्ने फूलहरु नष्ट गर्नुपर्यो।”

जे भएपनि फूल खेति नछोड्ने अठोटकै कारण बिस्तारै बजारअनुसार उत्पादन गर्न थालेको उनले बताइन् । “लकडाउन लागे पनि, भुकम्प आएपनि, फूल नबिके पनि आफू सन्तुष्ट छु,” उनी भन्छिन्, “फूल फुलेको देख्दै रमाइलो लाग्छ। टिकिरह्यो भने यही व्यवसाय राम्रो छ। तर छोडेर हिँड्न सक्दिनँ।”


भ्यालेन्टाइनको बेलामा भने फूल र विशेषगरी गुलाफको व्यापार आकाशिने गरेको उनले बताइन्। ‘‘भ्यालेन्टाइनमा नेपालको उत्पादनले मात्रै गुलाफ फूलको माग धान्न सक्दैन,’’ उनले भनिन्।
१० वर्षअघि अञ्जनाले भिनाजुसँग मिलेर सुरु गरेको फूल खेतिलाई अहिले ३० रोपनीमा बिस्तार गरिसकेकी छिन्। पहिले, बाँसको टनेलले घेरेर फूल खेति गर्ने अन्जनाले अहिले आफ्नो फूलबारीलाई प्राकृतिक भेन्टिलेटर ग्रिन हाउसमा सारेकी छन्। जहाँ, २० रोपनीमा फूल खेति गरिएको छ।


उक्त क्षेत्रबाट उत्पादन भएको फूलले वैशाखदेखि मंसीरसम्म बजार धान्छ। तर, जाडो महीनामा काठमाडौं वरपरका क्षेत्रमा गुलाफको उत्पादन पर्याप्त मात्रामा हुँदैन।

“चिसोको कारणले उत्पादन कम भएको हो। त्यसैले भ्यालेनटाइनको लागि गुलाफ भारतबाटै ल्याउनुपर्ने अवस्थ छ,” उनी भन्छिन्, “जाडोमा हिटिङ प्रणाली राख्नुपर्यो। हिटिङ प्रणाली राख्यो भने उत्पादन बढ्छ। तर त्यसरी गुलाफ उत्पादन गर्दा लागत बढ्न जान्छ। बजारमा धेरै लागतमा फूल निकाल्यो तर बिक्री भएन भने त्यो राम्रो भएन।”


भ्यालेन्टाइनको लागि गुलाफको कमी नहोस् भनेर हेटौडा, नौबिसेमा गुलाफ उत्पादनको ट्रायल गर्न सुरु गरेको उनले बताइन्। सफल भएको खण्डमा अर्काे वर्षदेखि भ्यालेनटाइनका बेलामा पनि मागको अनुपातमा फूल उत्पादन हुने उनका दाबी छ।

“बैशाखमा गुलाफको उत्पादन धेरै हुन्छ । त्यो बेला एउटा स्टिकको १५ रुपैयाँमा बेच्नुपर्छ । अहिले भ्यालेन्टाइन डे लाई ४० रुपैयाँ प्रति स्टिक परिरहेको हुन्छ,” उनी भन्छन्, “अहिले गुलाफ निकाल्न सक्यो भने हामीले धेरै पैसा कमाउथ्यौ। भ्यालेनटाइनको लागि कसरी फूल निकाल्ने भनेर कोशिस गरिरहेका छौँ । हेरौँ । जिल्ला बाहिर गर्मी ठाउँमा सफल भयो भने यो साल नभए पनि अर्काे साल यहीँको फूल प्रयोग गर्न पाइएला।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved